PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बनारसी सारी : कालिगढ भन्छन् 'मारी साडी वर्ल्ड वाइड फ्यामस'



स्वेच्छा राउत

बनारसी सारी : कालिगढ भन्छन् 'मारी साडी वर्ल्ड वाइड फ्यामस'

बनारससँग जोडिएको एउटा ब्रान्ड हो ‘सारी’। काशी विश्वनाथको यात्रा होस् या गंगा दर्शन, यहाँ पुग्ने नेपाली तीर्थयात्रापछि सपिङ गर्ने सोचमा छन् भने बनारसी सारी विना उनीहरूको किनमेल पूरा हुँदैन। त्यसैले पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ तीर्थ यात्रासँगै लाग्छन् किनमेलतिर। जसरी उनीहरू सारीको खोजीमा हुन्छन्, यहाँका सारी बिक्रेता र तिनका एजेन्ट त्यसरी नै ग्राहकको खोजीमा भेटिन्छन्।  चर्को कोलाहलसहितको बनारसका साँघुरा गल्लीमा गुञ्जिन्छ -

'आइए बनारसी साडी, कुर्ता, सल, सेरवानी क्या चाहिए देख लिजिए...

इतनी खुब सुरत ‍और आकर्षक साडीयो की भेराइटी कभी देखी नही होगी'

हरेक पसलको ढोकामात्र होइन, सडकबीचमै ग्राहकलाई तान्न आउनेको होडले बनारसी सारीको व्यापारलाई जीवन्त बनाउँछ। 'दुकानदार'ले सजिलै चिन्छन् ग्राहक, पहिलोपटक आएको हो या, आइरहने मानिस।

नयाँ ग्राहक हो भने बनारसी सारीको कथा हाल्न सुरु भइहाल्छ -

'अठारौँ शताब्दीअघि बनारसमा मुगल शासकहरूले राज गर्थे। उनीहरूले अर्थतन्त्रको प्रमुख आधार सिल्कको सारीलाई माने। र, व्यावसायिक बनाए। सिल्कको सारीमा आकर्षक र महङ्गा जरीहरूको प्रयोग, परम्परागत डिजाइन हुन थाल्यो। त्यसैले सारीको चर्चा बनारसमामात्र सीमित रहेन। पहिले महाराज तथा धनी वर्गले मात्र किन्ने सारीको बजार बिस्तार भयो। बनारसी सारी बनाउने र बेच्नेहरु पनि बढे।'

त्यसपछि सुरु हुन्छ ब्रान्डको प्रवर्द्धनका फुलबुट्टा, सारीमा जरी उने झैँ। 'मारी ये साडी वर्ल्ड वाइड फ्यामस है,' सबैजसो 'दुकानदार'को लवजमा यो वाक्य टुट्दैन। वाक्यमा जोडिएको ‘वर्ल्ड वाइड फ्यामस’ बलिउड फिल्मका डायलग झैँ सुनिन्छ। नसुनियोस् पनि किन, बलिउड र बनारस सारीले नै त जोडिएका छन्।

गत डिसेम्बर २१ मा बिराट कोहली र अनुष्का शर्माको विवाहको रिसेप्सन पार्टी थियो, दिल्लीमा। बलिउड मिडिया र सामाजिक सञ्जालमा पार्टीभन्दा चर्को बहसको विषय थियो – अनुष्काले लगाएको सारी। मेड इन बनारस।

रातो रङको सारीमा सक्कली सुनौलो जरीको चमकदार बुट्टा। 'द क्विन्ट'का अनुसार उनको सारीको डिजाइन, रङ र बुट्टा तयार गर्न ६ महिना लागेको थियो। ६ महिनाको 'सेक्रेट प्लानिङ'पछि सारी बुनाइको काम सुरु भयो। हातको काम सक्काउन २ महिना लाग्यो एउटा सारीका लागि। एउटा सारीका लागि ८ महिना। तीन जनाको अनवरत मेहनत। सारीको तस्बिर मिडियामा फैलिएपछि त्यसलाई बुन्नेहरु पनि चर्चामा आए। हेडलाइन बन्यो 'अनुष्का के रिसेप्शन की बनारसी साडी मे इनकी कारीगरी का है कमाल'।

रोचक त के रह्यो भने जसले यो सारी बनाए उनीहरूलाई थाहा थिएन कसले लगाउनेछ। उनीहरूले पनि अनुष्काको सारीवाला फोटो देखेपछि थाहा पाएका रहेछन्। त्यसपछि फेसबुकबाट आफ्नो डिजाइनको दाबी गर्दै स्टेटस लेखे। सारीसँग ब्रान्डको पनि गतिलै प्रचार भयो। यिनै कालिगढहरुको शिल्पीबाट बलिउडमात्र होइन मिसेल ओबासम्मले आङ ढाकेका छन्।  

बनारसमा सारी बनाउने यस्ता धेरै कालीगढ छन् जो महिनौँ लगाएर काम गर्छन्। तर, चाल पाउँदैनन् कसका लागि बनाइरहेका छन्। सारी लगाउने मान्छे चिन्नु त टाढाको कुरा, महँगो सारी बनाउनेले भने साह्रै न्यून ज्याला पाउँदा रहेछन्।

१२ वर्षदेखि बनारसी सारीमा औँला खियाउँदै आएका मोहोम्मद मुनिर भन्छन्, 'पैसा त धेरै कमाइँदैन। रोजीरोटीका लागि पनि पुग्दैन। तर, यो काम हाम्रो परम्पराजस्तै हो। हामीले छोडे नयाँ पुस्ताले कसरी सिक्छ?'

मुनिरले मासिक ६ हजारमा सारी बनाउने काम गर्दै आएका छन्। उनका अनुसार कालीगढहरुले ४ हजारदेखि बढीमा १० हजारसम्म तलब पाउँछन्। ज्यालामा काम गर्नेहरुले भने दैनिक २ सयमात्र।

ज्यालामा काम गर्ने मोहोम्मद अली भन्छन्, 'हामीले कमाएको पैसाले पुग्दैन र त 'घरका औरत' पनि काम गर्न जान्छन्। खान लगाउन पाए हुन्छ। जगेर्नाको लागि भए पनि सारी बनाउन छोड्दैनौँ।'  उनी १० वर्ष अघिदेखि आर्टिस्ट हुन् सारीका।

पहिले पहिले बनारसका अन्सारी (मुस्लिम) समुदायका प्रायले घरमै बुनेर व्यापार गर्थे। सक्नेले पसल खोलेर र नसक्नेले बाटो छेउ तौलियामा ओच्छ्याएर। तर, जब व्यापार घट्यो व्यक्तिगत व्यापार शून्य हुन थाल्यो।

'हातको काम हो। हामी त महिनौँ लगाएर एउटा रङको सारी तयार गर्थ्यौँ। रातो रङको सारी बनाए पहेँलो खोज्ने, पहेँलो बनाए हरियो खोज्ने,’ सिल्क खजानाका व्यवस्थापक जुवैर अन्सारीले भने, ‘त्यसरी चलेन।‘

र, सबै सारी बनाउनेहरुले सामूहिक रूपमा साझेदारी व्यवसायलाई अघि बढाए।

त्यसकै परिणाम हो सिल्क खजाना, ग्रामीण बुनकर सोसाइटी, बनारस ह्यान्डलुम को-ओपरेटिभ, डायमन्ड सिल्क को-ओपरेटिभ आदि आदि। बनारसी सारी बनाउने चर्चित सहकारीहरू।

'तयार पारेको सारी, कुर्ता, सल, सेरवानी एकै ठाउँमा ल्याएर बेच्न थालियो। कुनै पनि सामाग्रीबाट भएको नाफा सबैको नाममा जम्मा हुन थाल्यो,' तिनै सहकारीमध्येका एक सिल्क खजानाका अन्सारीले भने, 'हाम्रो यहाँ कोही मालिक र कोही नोकर छैन। सबै एक भएर काम गर्छौ। फाइदा छ भने सबैलाई छ। समस्या छ भने पनि सबैको छ।'

***

मुसलमान समुदायले पेसाको रूपमा विकास गरेको सिल्क सारी व्यवसाय अहिले अन्य समुदायमा पनि फैलिएको छ। ५ वर्षदेखि सारी बनाउँदै आएका राज दुवे भन्छन्, 'मेरो बुबाले हिन्दु भएर पनि यो पेसा अपनाउनु भयो। समाजले के भन्छ भन्ने कुराको मतलब गर्नुभएन। यसैले हाम्रो परिवार चल्यो म किन नसिक्नु? भनेर सिकेँ।' अहिले बनारसमा भएका सारी व्यवसायका सहकारीहरूमा हरेक जात र धर्मका कामदारहरू छन्। जहाँ बिना भेदभाव काम हुने उनीहरूको दाबी छ। भन्छन्, 'बेरोजगारीले हामी हिन्दु र मुस्लिमलाई एक बनायो।'

हामीसँग उनले यसरी गफ गरिरहँदा मोहोम्मद मुनिरले पानी ल्याइदिए। उनले पिए।

ग्रामीण बुनकर सोसाइटीमा लालजी राय एकमात्र हिन्दु हुन् जो कम्पनीबाट सोरुमसम्म सामान ओसारपसार गर्छन्। सोसाइटीबाट मासिक २५,०० लिएर काम गरिराखेका उनी फुर्सदको समयमा नजिकको सारनाथमा लोकल गाइड बन्न पनि भ्याउँछन्। 'सारी व्यवसायले काम त दिएको छ तर कमाइ राम्रो छैन,' राय समस्या सुनाइहाल्छन्।

यही सोसाइटीमा काम गरिरहेका अर्जुन कुमार आफूहरूलाई कसरी सामान राम्रो बनाउनेमा ध्यान भएको सुनाउँछन्। 'जात भातको मतलब हुन्थ्यो भने डरैले पनि मुस्लिमहरूले गर्ने काममा हात हालिन्न थियो होला,' ८ वर्षअघि पेसा सुरु गरेका अर्जुन कुमारले बताए।

बनारस शहरबाट ८ किलोमिटर टाढा ठाउँबाट व्यापार गर्न आउने मुकेश श्रीवास्तवले बनारसी सारीको व्यवसाय गर्दै आएका छन्। उनको पसलमा कामदारहरु भने प्राय मुस्लिम हुन्। भन्छन्, 'मलाई मेरो लागि काम गर्ने सबै आफ्ना जस्तै लाग्छन्।'

***

'पाँचवटै औँला सलामत रहेसम्म न हो यो काम गर्ने,' सारी बनाउने कालिगढहरु भन्छन्।  

दक्षिण भारतबाट आयात हुने शिल्कमा हातले कुदिने बुट्टा बनारसी सारीको विशेषता हो। तर, दुःखद् पक्ष बनारसको चर्चित 'ह्यान्डलुम' सारीलाई मेसिनले भर्ने बुट्टाले विस्थापित गर्दैछ। राज दुवे दु:ख व्यक्त गर्छन्, 'हरेक सोसाइटीमा मुस्किलले ५ जना हातले बुट्टा भर्ने कालिगढ छन्। नयाँ पुस्ता सिक्न खोज्दैन। बुढा भएकाहरु नरहेपछि बनारसी सारीको कस्तो दुर्दशा हुन्छ भन्न सकिन्न।'

उनलाई लाग्छ सजिलै नपाइने वस्तु विशेष बन्छन् - कुनै दिन ह्यान्डलुम बनारसी सारी लगाउनेसँग मान्छे सेल्फी खिच्न झुम्मेलान्। अथवा कुनै दिन बनारसको हातले बुनेको सारी म्युजियममा मात्र रहला। भन्छन्, 'यसलाई व्यवसाय त बनायौँ तर योसँग जोडिएको इतिहास र परम्परालाई जोगाउन सकेनौँ भने यो विशेष रहँदैन।'

हातले बुनेको तुलनामा मेसिनले बनाएको सारी सस्तो हुन्छ। व्यवसायी श्रीवास्तवले दिएको जानकारीका अनुसार ह्यान्डलुम सारीको रेट ६ हजारबाट सुरु हुन्छ।

'महङ्गो त खर्च अनुसार हुन्छ। ऐश्वर्य रायले ७५ लाखको सारी लगाएकी थिइन्। हामी कहाँ १५ सयको खोज्ने कस्ट्युमर पनि आउँछन्,' व्यङ्ग्यात्मक हाँसो फ्याँक्दै भन्छन्, 'सस्तो खोज्नेले बनारसमा सारी त किन्लान् तर बनारसी सारी किन्दैनन्।'

***

मुगल बादशाहले भित्र्याएको भनिने बनारसी शिल्क सारी खड्डी र जमावार दुई फरक प्रकारका हुन्छन्। खड्डीमा विभिन्न रङ्गका जरी र धागोहरूको प्रयोग हुन्छन् भने जमावार एकमात्र रङ्गको हुन्छ। जमावारमा बुनिएका लुगाहरू उल्टो सुल्टो छुट्ट्याउन सकिँदैन। सिल्कको कपडामा सारी मात्र नभएर कुर्ता, सेरवानी, लेहेङ्गा, सल, तन्ना आदि बन्छ। आर्टिस्ट जुबेरका अनुसार ६ प्रकारका मोटिफ (बुट्टा)हरू बनाइन्छ। ती बेल, कोनिया, बुटी, बुटा, जाल, झालर हुन्।

'यी बुट्टाहरु कुन फरक देशको परम्पराबाट प्रभावित छन्। विशेषगरी इरान, इराक लगायत देशहरुबाट भित्रिएका डिजाइनहरु हुन्,' उनले जानकारी दिए।

ग्राहक कुन ठाउँबाट आएको सोधेर देश अनुसार भाषा र व्यवहार गर्न खोज्ने उनीहरु सुरुमा हिन्दी लवजमा अङ्ग्रेजी बोल्न खोज्छन्। नेपालबाट आएका हुन् भन्ने थाहा पाउँदा मुकेश श्रीवास्तव भन्छन्,'तपाईंहरुको देशमा बनारसी भनेर बेचिने ७० प्रतिशतभन्दा बढी सारी बनारसी होइनन् है। सामान नलगे पनि यतैबाट चिनेर जानुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell