PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फुटबलमा सुपरस्टार फ्लप, नयाँ हिट : रसिया विश्वकपबाट को उदाए, को बने निराश? 



फुटबलमा सुपरस्टार फ्लप, नयाँ हिट : रसिया विश्वकपबाट को उदाए, को बने निराश? 

विश्वकप २०१८ उपाधि फ्रान्सको नाममा रह्यो तर धेरै चर्चा भने साना र अन्डरडग टोलीहरुको भयो। रसिया विश्वकपअघि धेरैको नजर नाम चलेका खेलाडीहरु माथि नै थियो। तर, उत्कृष्ट भनिएका खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन्। लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेमार जस्ता खेलाडीलार्इ छायाँमा पार्दै विश्व फुटबलले नयाँ फुटबल स्टारहरु पायो। 

किलियन एम्बाप्पे

 
फ्रान्सले १९९८ मा विश्वकप जितेकै वर्षमा किलियन एम्बाप्पेको जन्म भएको थियो। २० वर्ष पश्चात फ्रान्सलार्इ दोस्रो पटक विश्वकप विजेता बनाउनका लागि एम्बाप्पेले महत्वपूर्ण भूमिका खेले। रसिया विश्वकपमा ४ गोल गरेका एम्बाप्पेले फिफा उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए। ब्राजिलका पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बन्न पनि उनी सफल रहे। क्रोएसियासँगको विश्वकप फाइनलमा उनले आफ्नो टोलीलार्इ अग्रता दिलाउने क्रममा उनले २५ यार्डबाट गोल गरेका थिए। प्रि क्वाटर फाइनलमा फ्रान्सले अर्जेन्टिनालार्इ ४-३ ले पराजित गर्दा एम्बाप्पेले दुर्इ गोल गरेका थिए। त्यसपश्चात उनलार्इ विश्व फुटबल कै महान खेलाडी पेलेसँग तुलना गरिएको थियो। यस्तै लियोनल मेसीको विश्वकप यात्रालार्इ पूर्णविराम लगाएका एम्बाप्पेलार्इ उनै मेसीको उत्तराधिकारीका रुपमा प्रस्तुत गरिएको थियो। पेरिस सेन्ट जर्मनबाट फुटबल खेल्दै आएका एम्बाप्पेले फ्रान्सका लागि २२ खेलमा ८ गोल गरिसकेका छन्। 

लुका मोडरिच


क्रोएसियालार्इ पहिलो पटक विश्वकप फाइनलमा पुर्‍याउन सबैभन्दा मुख्य भूमिका लुका मोडरिचले निभाए। उनै मोडरिचलार्इ रसियामा उत्कृष्ट फुटबलरलार्इ प्रदान गरिने गोल्डेन बलबाट सम्मानित गरियो। मोडरिच उत्कृष्ट मिडफिल्डर हुन्। उनले नेतृत्व गरेको क्रोएसियाली टोलीले विश्वकपमा आफ्ना प्रतिस्पर्धीहरुलार्इ मिड्फिल्डमा रोक्न सफल भएका थिए।
 
समूह चरणमा अर्जेन्टिनालार्इ पराजित गर्ने क्रममा उनले दुर्इ गोल गरेका थिए। १९९८ मा सेमिफाइनल पुगेको क्रोएसियाको स्वर्णिम टोलीभन्दा नयाँ उचाइ पाउन सफल भएका छन् लुका मोडरिचले कप्तानी गरेको टोली। फाइनलमा फ्रान्ससँग पराजित भएपनि लुका मोडरिच र क्रोएसियाले फुटबल समर्थकलार्इ नयाँ आशा देखाएका छन्।

ह्यारी केन


विश्वकपमा इंग्ल्यान्ड टोलीको कप्तानी गरेका ह्यारी केनले रसियामा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट हासिल गरे। समूह चरणमा पानामा विरुद्ध ह्याट्रिक गरेका केनले ट्युनिसिया विरुद्ध दुर्इ गोल गरेका थिए। यस्तै प्रिक्वाटर फाइनल खेलमा कोलम्बिया विरुद्ध उनले एक गोल गरेका थिए।  गयारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्यान्डलार्इ सेमिफाइनलसम्म पुर्‍याउदै केन विश्वकपमा इंग्ल्यान्डका लागि धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका छन्।

टोटनह्याम हटस्परबाट फुटबल खेल्ने २४ वर्षीय केनले क्वाटर फाइनल खेल पश्चात राम्रो प्रदर्शन गर्न सकेनन्। ५२ वर्षपछि विश्वकप फाइनलमा पुग्ने लक्ष्यसाथ विश्वकप भर उत्कृष्ट फर्ममा रहेको इंग्ल्यान्डको कप्तानी सम्हालिरहेका ह्यारी केनको त्यसपछि निकै आलोचना भयो। केनले क्रोएसिया र बेल्जियम विरुद्ध गोल गर्ने धेरै अवसर खेर फालेका थिए। तर इंग्ल्यान्डका प्रशिक्षक ग्रयारेथ साउथगेटले ह्यारीले टोलीका धेरै मिहिनेत गरेको र उनीसँग त्योभन्दा बढी माग्न नसक्ने भन्दै ह्यारीको बचाउ गरेका थिए। 

एडेन हाजार्ड


हाजार्डको कप्तानीमा बेल्जियमले अहिलेसम्मकै उत्कृष्ट नतिजा हात पार्‍यो। इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियमले तेस्रो स्थान हात पारेको हो। हाजार्डको नेतृत्वमा रहेको बेल्जियमले रसियामा उत्कृष्ट फर्ममा रहदै प्रदर्शन गर्‍यो। तर प्रतियोगिता भर सबै खेल जित्दै सेमिफाइनल पुगेको बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो।
 
हाजार्डले रसियामा उत्कृष्ट फुटबल खेल्दै सिल्भर बल हात पारे। साथै उनले २०१८ विश्वकपका सर्वाधिक एसिस्ट पनि गरेका थिए। हाजार्डको एसिस्टले गर्दा बेल्जियमले धेरै खेलहरुमा सफलता हासिल गरेको छ। मैदानमा हाजार्डको गति र टेक्निकल खुबीहको धेरै प्रशंसा हुने गर्छ। उनलार्इ सुपर्ब पासरका रुपमा सम्बोधन गर्ने गरिन्छ। रसियामा उनले कुल ३ गोल गरे। ट्युनिसियाका विरुद्ध दुर्इ गोल गरेका हाजार्डले तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमका लागि निर्णायक गोल गरेका थिए।

एन्टोइन ग्रीजम्यान

फ्रान्स दोस्रो पटक च्याम्पियन हुँदा फरवार्ड ग्रीजम्यानले सिल्भर बुट र ब्रोन्ज बल पाए। राम्रो प्रदर्शन गरेकै कारण उनी डबल अवार्डको हकदार बने। फाइनलमा क्रोएसिया विरुद्ध ग्रीजम्यानले एक गोल गरे भने उनकै फ्रिकिकमा क्रोएसियामा मान्डुकिचले आत्मघाती गोल गरेका थिए।

रसियामा ह्यारी केनपछि ग्रीजम्यानले ४ गोल गरे। धेरै असिस्ट गरेका कारण उनले शिल्भर बुट जित्न बेल्जियमका रोमेलु लुकाकु लगायतलाई पछि पारे।
यस्तै क्रोएसियाका लुका मोडरिच र बेल्जियमका कप्तान हाजार्ड भन्दा पछि रहेर उनले ब्रोन्ज बल जिते।

यी खेलाडीहरुले रसियामा आफ्नो प्रभाव देखाउँदा वर्तमान समयका सुपरस्टार खेलाडीहरुले भने यसपटक अनुमान गरिएको झै खेल्न असफल रहे।

लियोनल मेसी


लियोनल मेसीका लागि रसिया विश्वकप सफल हुन सकेन। विश्वकै उत्कृष्ट फुटबलर लियोनल मेसीले अर्जेन्टिनालार्इ २०१८ विश्वकप जिताउने धेरैले अनुमान गरेका थिए। तर समूह चरणमै नवप्रवेशी आइसल्यान्डसँग बराबरीमा रोकिँदा मेसीले पेनाल्टीलार्इ गोलमा परिणत गर्न सकेनन्। त्यसपछि मेसीको धेरै आलोचना भयो। यस्तै क्रोएसियासँगको खेलमा पनि अर्जेन्टिना ३-० ले पराजित हुन पुग्यो। मेसीलार्इ क्रोएसियाली डिफेन्सले गोल गर्ने अवसर दिएन। अन्तिम १६ मा प्रवेश गर्नका लागि समूह चरणको अन्तिम खेलमा नाइजेरियालार्इ जसरी पनि पराजित गर्नु पर्ने खेलमा मेसीले एक गोल गरे। सो खेलमा अर्जेन्टिना २-१ ले विजयी भयो। तर प्रिक्वाटरफाइनल खेलमा फ्रान्ससँग अर्जेन्टिना ४-३ ले पराजित हुन पुग्यो। अर्जेन्टिना र मेसीको विश्वकप जित्ने आशामा पूर्णविराम लाग्यो। मेसीका लागि यो विश्वकप अन्तिम हुने अनुमान गरिए पनि उनले आफ्नो जन्मदिनमा अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्नयास नलिने बताएका थिए। यसैले पनि उनी माथि अर्जेन्टिनाका समर्थकहरुको अझै आशा रहेको छ।

क्रिस्टियानो रोनाल्डो


समूह चरणको पहिलो खेलमा स्पेनसँग ३-३ को बराबरी खेल्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। यस्तै मोरोक्कोसँगको खेलमा पनि उनले एक गोल गरेका थिए। इरानसँगको खेलमा रोनाल्डोले प्रहार गरेको पेनाल्टी असफल हुँदा खेल १-१ को बराबरीमा टुंगिएको थियो। प्रिक्वाटर फाइनल खेलमा उरुग्वेसँगको खेलमा रोनाल्डोले अपेक्षा अनुसार खेल्न सकेनन्। उरुग्वेका एडिसन काभानीको दुर्इ गोल सामु पेपेले गरेको गोल पोर्चुगलका लागि पर्याप्त हुन सकेन। यसैसँग फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उपाधी जित्ने सपना पनि अधुरै रह्यो। 

पोर्चुगल टोली रोनाल्डोमा धेरै निर्भर रह्यो। धेरै अपेक्षा र आशाबीच रसिया विश्वकप २०१८ रोनाल्डोका लागि बिर्सनलायक बन्यो। रियल मड्रिडबाट फुटबल खेल्ने रोनाल्डो विश्वकप पश्चात युभेन्टस पुगेका छन्। 

नेमार 

पेरिस सेन्ट जर्मनबाट व्यवसाहिक फुटबल खेल्ने नेमार विश्वकै सर्वाधिक महँगा खेलाडी हुन्। तर रसियामा उनले आफूले नै आफ्नो खेललार्इ छाँयामा पार्दै हिडे। ब्राजिललार्इ क्वाटरफाइनलसम्म पुर्‍याउन उनले महत्वपूर्ण दुर्इ गोल गरेका थिए। तर रसियामा नेमारको खेलले भन्दा उनले गरेको अभिनय चर्चाको विषय रह्यो। 
समूह चरणमा उनले खेलका दौरान विपक्षीको हरेक जसो ट्याकलविरुद्ध अनावश्यक रुपमा मैदानमै पल्टिए। यस्ता दृश्यका कारण ब्राजिलियन फुटबल स्टार नेमारलार्इ फुटबल दर्शकले राम्रो एक्टरको उपनाम समेत दिए। अन्तिम १६ को खेलमा मेक्सिकोका मिगुल लायुनले नेमारको खुट्टामा हल्का मात्र के छोएका थिए नेमारले मैदानमा अनौठो व्यवहार दिखाए। उनलार्इ गहिरो चोट नै परेको जसरी मैदानमै पल्टिदै बसे। तर भिडियो रिप्लेबाट सिधै देखिन्थो कि उनले नाटक गरेका हुन्। क्वाटर फाइनल खेलमा बेल्जियमविरुद्धको खेलमा उनी सुध्रिएनन्। लगातार सबै खेलमा नेमारले देखाएको व्यवहारमाथि धेरै व्यङ्ग हुन थाल्यो। नेमार संसारभर ट्रोलको सिकार बने। 

थोमस मुलर


२८ वर्षे मुलर जर्मनीका भर्सटाइल खेलाडी हुन्। २०१४ विश्वकपमा सिल्भर बल जितेका मुलरले २०१६ युरोमा आफ्नो टोलीमा लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। रसिया विश्वकपमा पनि उनीबाट त्यस्तै प्रदर्शनको आशा गरिएको थियो। तर रसियामा उनको प्रदर्शन राम्रो हुन सकेन। समूह चरणका सबै खेल खेलेका मुलरले कुनै गोल गर्न सकेनन्। २०१४ विश्वविजेता जर्मनी रसिया विश्वकपको समूह चरणबाटै बाहिरियो। विश्वकप उपाधी जित्दै रसियामा विजय यात्रालार्इ कायम राख्ने बताएका मुलरको सपना अधुरै रह्यो। 

डेभिड डी गिआ


२७ वर्षे डेभिड डी गिआ प्रिमियर क्ल्ब म्यान्चेस्टर युनाइटेड र स्पेनका गोल किपर हुन्। स्पेनका लागि पनि रसिया विश्वकप सफल हुन सकेन। समूह चरणको पहिलो खेलमा गिआले रोनाल्डाका धेरै प्रहार रोक्न सकेनन्। रोनाल्डो सो खेलमा ३ गोल हान्दा पहिलो गोल डेभिडको गल्तिले भएको थियो। समूह चरणका बांकी खेलहरुमा पनि उनको प्रदशर्न त्यति राम्रो हुन सकेन र धेरैले उनको आलोचना गरेका थिए। अन्तिम १६ को खेलमा उनले रसियाले प्रहार गरेका कुनै पेनाल्टी रोक्न सकेनन्। अन्ततः स्पेन अन्तिम १६ बाटै बाहिरियो। उनले रसियामा १० गोल खाए (पेनाल्टीमा ४) र जम्मा एउटा प्रहार रोक्न सफल भए।  डेभिड डी गिआका लागि रसिया विश्वकप उनको करियर कै बिर्सिनलायक प्रदर्शन रहन पुग्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell