PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फ्रान्स : पछिल्लो दुई दशकमा विश्व फुटबलको अब्बल टोली



पहिलोपोस्ट

फ्रान्स : पछिल्लो दुई दशकमा विश्व फुटबलको अब्बल टोली

३ विश्वकप फाइनल, दुई पटक च्याम्पियन। २ युरो फाइनल, एक पटक च्याम्‍पियन। एक कन्फेडेरेसन कपको उपाधि।

युरोपियन राष्ट्र फ्रान्सले पछिल्लो दुई दशक अवधिमा विश्व फुटबलमा हासिल गरेको उपलब्धि। रसियामा सम्पन्न २१औँ विश्कवप फुटबल २०१८ को फाइनलमा क्रोएसियालाई ४-२ ले हराउँदै दोस्रो पटक विश्वविजेता बनेपछि फ्रान्स पछिल्लो दुई दशकको सफल फुटबल टोली बनेको छ।

सर्वाधिक पाँच पटक विश्वकप जितेको ब्राजिल र ४-४ पटक च्याम्पियन बनेको इटली र जर्मनीले समेत यो अवधिमा एक पटक मात्र विश्वकप जितेको छ।

२० वर्षभित्र फ्रान्सले युरोपियन च्याम्पियन्सिपमा पनि दुई पटक फाइनल खेल्दै एक पटक उपाधि जितेको छ। दुई वर्षअघि घरेलु मैदानमै भएको युरो २०१६ मा फ्रान्स पोर्चुगलसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भयो। त्यतिबेला फ्रान्स उपाधिको फेभरेट र पोर्चुगल अन्डरडग जस्तो थियो। तर फ्रान्स फाइनलमा अतिरिक्त समयमा १-० ले पराजित भयो।

यस पटक पनि फ्रान्स प्रतियोगिताअघि देखि नै उपाधि दाबेदारमध्ये एक थियो भने क्रोएसिया उत्कृष्ट प्रदर्शन गर्दै अन्डरडग टोलीको रुपमा पहिलो पटक विश्वकप फाइनल पुगेको थियो।

फ्रान्स चाहन्थ्यो दुई वर्ष अगाडिको जस्तो नहोस्। हुन पनि त्यस्तै भयो। नाटकीय फाइनलमा फ्रान्सले क्रोएसियालाई सजिलै ४-२ ले हराइदियो। सुरुको १५ मिनेट फ्रान्सलाई दबाबमा राखेको क्रोएसिया आफ्नै खेलाडीको गोलबाट १८औँ मिनेटमा पछि पर्‍यो। त्यसको १० मिनेटपछि पछि इभान पेरिसिकले गोल गर्दै खेल बराबरी गरे। तर ग्रीजमनले भार रिभ्युबाट पाएको पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पहिलो हाफमै २-१ को अग्रता दिलाए। दोस्रो हाफमा ५ मिनेटको अन्तरमा पउल पोग्बा र किलिएन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई ४-१ को अग्रतासहित उपाधिको निकै नजिक पुर्‍याइसकेका थिए। गोलकिपर लोरिसको सामान्य गल्तीका कारण मान्डुकिचले क्रोएसियाका लागि दोस्रो गोल गरेपनि फ्रान्लाई उपाधि जित्नबाट रोक्न सकेन।

१९९८ मा डिफेण्डिङ च्याम्पियन ब्राजिललाई ३-० ले स्तब्ध पार्दै पहिलो पटक विश्वकप जितेको फ्रान्सले त्यसको ८ वर्षपछि नै विश्वकपको फाइनल खेलेको थियो। तर इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भयो।

विश्वकप जितेपछि जिनेदिन जिदान, थियरी अनरी जस्ता स्टारको उदय फ्रान्सको लागि बरदान सावित भयो। फ्रान्सले २००० मा युरोकप र त्यसको अर्को वर्ष अन्तरमहादेशिय प्रतियोगिता कन्फेडेरेसन कप नै जित्यो। यद्यपी २००२ को विश्कपमा भने फ्रान्स समूह चरणबाट घर फर्किकएो थियो।

यस पटक फ्रान्सलाई च्याम्‍पियन बनाउन एन्टोनी ग्रीजमन, गोलकिपर कप्तान ह्युगो लोरिस अनी युवा स्टार किलिएन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे। ठूला स्टार भन्दा पनि युवा र अनुभवी खेलाडीको मिश्रण रहेको फ्रान्सले रसियामा एक खेल पनि नहारी विश्वकप जित्यो।

सन् १९९८ मा फ्रान्सलाई कप्तानको रुपमा विश्वकप जिताएका डिडिएर डेसच्याम्प्स नै यस पटक फ्रान्सको प्रशिक्षक थिए र उनी दुई फरक भूमिकामा विश्वकप ट्रफी उचाल्ने तेस्रो व्यक्ति बने।

फ्रान्सले पछिल्लो दुई दशकमा अन्य राष्ट्र भन्दा बढी सफलता हासिल गरेको छ। यसबीचमा विश्व फुटबलको पर्यावाची रुपमा रहेको ब्राजिलले पनि एक पटक मात्र विश्वकप जितेको छ। यस्तै इटली, जर्मनी र स्पेनले एक-एक पटक विश्वकप जिते।

ब्राजिलल् १९९८ मा फ्रान्ससँग हारेको पिडा बिर्साउदै २००२ मा जर्मनीलाई हराएर पाँचौ पटक विश्वकप जितेको थियो। त्यसयता भन् ब्राजिल फाइनलसम्म पनि पुग्न सकेन। त्यसपछि ब्राजिलले २००५, २००९ र २०१३ मा कन्फेडेरेसन कप तथा १९९९, २००४, २००७ कोपा अमेरिका को उपाधि जित्यो। विश्वकपमा भने २००२ पछि ब्राजिल नकआउट चरण भन्दा माथि पुग्न सकेको छैन। २००६ र २०१० मा क्वाटरफाइनलबाटै आउट भएको ब्राजिल २०१४ मा घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग पराजित भएर बाहिरियो। यस पटक रसियामा पनि ब्राजिल बेल्जियमसँग क्वाटरफाइनलमा पराजित भयो।

२००६ मा फ्रान्सलाई नै हराएर विश्वकप जितेको इटली २०१० र २०१४ मा समूह चरणबाटै आउट भयो भने २०१८ मा छनोट नै हुन सकेन।

टिकि-टाका शैलीमा फुटबल खेल्ने स्पेनले २००८ देखि आधा दशक विश्वकप फुटबलमा एकछत्र राज गर्दै २ युरोकप र १ पटक विश्वकप जित्यो। २००८ र २०१२ मा युरो जितेको स्पेनले २०१० मा पहिलो पटक विश्वकप उपाधि जित्यो। तर त्यसको चारवर्षपछि स्पेन पनि समूह चरणबाटै बाहिरियो।

यसैगरी विश्व फुटबलकै सर्वाधिक सफल टोली मानिने जर्मनीले यस पटक बिर्सनलायक प्रदर्शन गर्यो। जर्मनीले पछिल्लो दुई दशकमा एक पटक मात्र विश्वकप जितेको छ।

विश्वकपमा सर्वाधिक १३ पटक सेमिफाइनल पुगेको जर्मनीले ८ पटक फाइनल खेल्दा ४ पटक उपाधि जितेको छ। १९९८ यता भने जर्मनीले एक पटक मात्र विश्वकप जित्दा एक पटक युरोकपको उपविजेता बनेको थियो। पूर्व विजेताहरु अर्जेन्टिना र इंग्ल्याण्डले यस बीचमा केही पनि जित्न सकेका छैनन्।

रसियामा विश्वकप जित्ने फ्रान्सेली टोलीमा युवा खेलाडीको वर्चस्व रहेको थियो। प्रतियोगिताअघि यस टिमले कस्तो नतिजा निकाल्ला भनेर बहस समेत चलेको थियो भने केहीले प्रशिक्षक डेसच्याम्प्सले टिम कसरी ह्याण्डल गर्छन् भने आलोचना समेत गरेका थिए। तर उनै डेसच्याम्प्सले सही रणनीतिका साथ खेलाडीलाई खेलाएर फ्रान्सलाई उपाधि जिताए। उनले कुनै गोल गर्न नसकेका फरवार्ड ओलिभर जिरुडमाथि समेत पूर्ण विश्वास राख्दै लगातार पहिलो रोजाईमा खेलाएर आफ्नो रणनीति देखाए।

अहिले फ्रान्सेली टिममा रहेका २३ मध्ये १७ खेलाडी २७ वर्ष भन्दा कमका छन्। यो उमेर भनेको कुनै पनि खेलाडी आफ्नो करियरको उचाईमा रहने उमेर हो। ह्युगो लोरिस, ओलिभर जिरुड ब्लइस मटुइडी, एदिल रामी र स्टिभ मन्डान्डा मात्र ३० वर्ष भन्दा माथिका छन्। सम्भवत यी खेलाडीको लागि यो नै अन्तिम विश्वकप हुन सक्छ।

तर फ्रान्सलाई दोस्रो पटक विश्वकप जिताउन भूमिका खेल्ने २७ वर्षीय एन्टोनी ग्रीजमन र एनगोलो कान्टे, २६ वर्षीय पउल पोग्वा, २५ वर्षीय राफेल भरान, २४ वर्षीय सामुएल उम्टीटी अनी यस विश्वकपबाट फ्रान्सेली टोलीको पहिलो रोजाईमा स्थान पक्का गरेका टिनएजर एमबाप्पे अनी लुकास हर्नानेडेज र बेन्जामिमन पाभार्ड जस्ता खेलाडीले फ्रान्सलाई अझै सफलता दिलाउन सक्छन्।

यसबाहेक बेन्चमा बस्ने ओसमान डेम्बेले, थोमस लेमार, बेन्जामिन मेन्डी, कोरिन्टन टोलिसो गोलकिपर अल्फोन्से अरेओला जस्ता खेलाडी फ्रान्सेली टिममा छन्।

क्लब फुटबलमा उत्कृष्ट खेलेका एन्टोनी मार्सिएल, एलेक्जान्डर लाकाजाटे, किंग्सले कोमन, एड्रिएल र्‍याबिओट जस्ता खेलाडी अझै फ्रान्सको विश्वकप टिममा समेत परेनन्। यसले फ्रान्समा उत्कृष्ट फुटबलरको कुनै कमि नभएको संकेत गर्छ। यी युवा खेलाडीलाई सही रुपमा सदुपयोग गर्दै अगाडि बढे फ्रान्सले अझै विश्व फुटबलमा राज गर्नेमा कुनै शंका छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell