PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डा.केसीको समर्थनमा कांग्रेसद्वारा सदन अवरुद्ध, सहमतिको प्रयास जारी



डा.केसीको समर्थनमा कांग्रेसद्वारा सदन अवरुद्ध, सहमतिको प्रयास जारी

काठमाडौं : अनसनरत डा.गोविन्द केसीको समर्थनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। डा.केसीसँग भएको सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा ल्याइएको भन्दै कांग्रेसले विरोध जनाएको हो।

आजको प्रतिनिधि सभामा चिकित्सा विधेयक उपर छलफलको कार्यसूची रहेको छ। बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले सिटबाट उभेर विरोध जनाएका थिए। 

कांग्रेसका तर्फबाट मिनबहादुर विश्वकर्माले सहमति बिना विधेयक पुनः संसदमा ल्याएको भन्दै विरोध गरेका थिए।

‘डा.केसीप्रति सरकारले ध्यान दिइरहेको छैन,’ विश्वकर्माले भने,‘सरकार उखान टुक्कामा लागेको छ। एक दुई जना उभिँदैमा केही हुँदैन भनेर प्रधानमन्त्रीले भन्दैछन्। सरकारले संसदलाई ठट्टाको विषय बनाएको छ।’

डा.केसीको माग सम्बोधन नभएसम्म संसदको कामकारवाही अगाडि बढ्न नदिने अडान उनले दोहोर्‍याए।

सभामुख कृष्णबहादुर महराले कांग्रेसको तर्फबाट गगन थापाले विरोधको सूचना दर्ता गराएकोले कांग्रेसले प्रक्रिया स्वीकार गरेको दाबी गरेका थिए। विधेयकको विषयपस्तुमा छलफल गर्न आवश्यक रहेकोले आजै विधेयकको विषय लिएर विरोध गर्नु उचित नभएको भन्दै सभामुखले सम्झाएका थिए।

कांग्रेसका सांसदहरु उभिराख्दा सत्ता पक्षका सांसदले प्रतिपक्षीको आलोचना गरे। सत्तापक्षका सांसद कृष्णभक्त पोखरेलले कोही उभिँदैमा संसद अवरुद्ध भएको नमानिने दावी गरेका थिए। केही व्यक्तिले उभेर संसदलाई बन्दी बनाउन नहुने तर्क गरेका थिए।

प्रमुख प्रतिपक्षीको विरोध पछि आधा घण्टाका लागि संसद स्थगित भएको छ। चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसले तेस्रो पटक संसद अवरुद्ध गरेको हो। 

यसबीच सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग सभामुखले छलफल गर्दैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell