PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डाक्टर गोविन्द केसीको शरीरमा एकसाथ संक्रमणको जोखिम, ज्यानै जान सक्ने डर



पहिलोपोस्ट

डाक्टर गोविन्द केसीको शरीरमा एकसाथ संक्रमणको जोखिम, ज्यानै जान सक्ने डर

जुम्ला : विगत दुई दिनदेखि प्राध्यापक डाक्टर गोविन्द केसीको उपचारमा संलग्न चिकित्सहरुलाई बारम्बार एउटै कुराले चिन्तित बनाइरहेको छ - सत्याग्रही डाक्टरलाइ कतै सेप्सिस त हुने होइन?

चिकित्सकहरुलाई राम्रोसँग थाह छ- अनशनरत डा.केसीलाई एकपटक सेप्सिस भइहाले स्वास्थ्य  स्थिति काबुभन्दा बाहिर जानेछ। अझ एन्टिबायोटिक्स लगायत कुनै पनि किसिमका दबाइ नलिने केसीको अडानका बीच सेप्सिसको उपचार गर्ने कुनै उपाय बाँकी रहने छैन।
 

के हो सेप्सिस?

सेप्सिस अर्थात् सम्पूर्ण शरीरको एकसाथ संक्रमण। शरीरको एउटा भागबाट सुरु भएको संक्रमण जब रगतबाट शरीरमा सबैतिर फैलन्छ, त्यस्तो अवस्थालाइ मेडिकल भाषामा सेप्सिस भनिन्छ। 

अनशनको प्रारम्भदेखि नै केसीको रगतमा सेतो रक्त कोशिका क्रमश: घट्दै गइरहेको छ। अझ दुई दिनअघि जाँच गरिएको रगतमा सोको संख्या ४००० भन्दा कम भइसकेको थियो। सेतो रक्त कोशिका कम हुनुको सिधा अर्थ हो- शरीरको किटाणुसँग लड्न सक्ने क्षमता कम हुनु। तसर्थ, सानोभन्दा सानो संक्रमण पनि चाँडै फैलने र सेप्सिस हुने जोखिम रहन्छ।

आम जनताका बीच गएर गरिएको आन्दोलन भएका कारण भेट्न आउने शुभेच्छुकहरुलाई रोक लगाइएको छैन। यसका कारण उनीहरुसँगै आउने अनेकखाले संक्रमणको उच्च जोखिममा पनि केसी रहँदै आएका छन्। भेट्न आउने धेरैजसोलाई मास्क दिइए पनि त्यस्ता खाले मास्कले भाइरल संक्रमणबाट भने नजोगाउने चिकित्सकहरु बताउँछन्। केही दिन अघिबाट प्रारम्भ भएको घाँटीको संक्रमण पनि आगन्तुकबाटै सरेको भाइरसका कारण हुनसक्ने चिकित्सकको ठम्याइ छ।

यसका अलावा यसपटक देखिएको सबै सबैभन्दा महत्वपूर्ण संक्रमण भने नसाको हो। सत्याग्रहको पाँचौ दिनबाट स्लाइन पानी दिन खोलिएको नसामा संक्रमण देखिएको हो। उक्त संक्रमणका कारण केसीका हात सुन्निएका छन्। दुखाइ कम गर्न हातमा पट्टी बानिएको भएता पनि त्यसले खास भिन्नता भने ल्याएको छैन।

यसरी नसा नै प्रभावित  भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलिन्छ। अझ सेतो रक्त कोशिकाको मात्रा कम भएका 'इम्युनोकम्प्रमाइज्ड' बिरामीको हकमा त झन शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च रहन्छ।
 

सेप्सिसको सुरुको लक्षण देखिन थाल्यो!

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार केसीलाई सेप्सिसका प्रारम्भीक लक्षण देखिन थालेको छ।

मुटुको चाल बढेको (१००), श्वासप्रश्वासको गतिमा वृद्धि(२४) भएको, रक्तचाप कम (१००/६०) भएको, पिसाबको मात्रामा कमी आएको आदि घटनाले चिकित्सकहरुको अनुमान झन्दै मिल्दै गएको देखाउँछ। दुई दिनदेखि केसीले वार्ता टोली नबनेसम्मका लागि भद्र अवज्ञा स्वरुप रगत जाँच गर्न नमानेका कारण सेतो रक्त कोशिकामा भएका परिवर्तनहरु भने थाहा पाउन सकिएको छैन।

यसरी रगतबाट फैलिएको सेप्सिसका कारण मृगौला, कलेजो, फोक्सो लगायतका अङ्गले बिस्तारै काम गर्न छाड्छ र केही दिन भित्रै बिरामीको मृत्यु हुनसक्छ। अस्पताल भर्ना भएका बिरामी मध्ये सेप्सिसका कारण हरेक १०० जनामा १० जनाको मृत्यु हुने एक अनुसन्धानले देखाएको छ। त्यस्तै 'सेप्टिक सक' नै भएको खन्डमा त्यसको मृत्युदर ४६ प्रतिशत रहेको चिकित्सकहरु बताउँछन्।

तसर्थ, सेप्सिसमा गएका बिरामीहरुलाइ विशेष हेरचाहका साथ आइसियुमा राखेर नसाबाट एन्टिबायोटिक्स दिइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell