PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पानीजहाज कहिले चल्ला नेपालमा? नेपाल र भारतका अधिकारीहरु छलफलमा



विधुर ढकाल

पानीजहाज कहिले चल्ला नेपालमा? नेपाल र भारतका अधिकारीहरु छलफलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएको नेपालको आफ्नै ‘पानीजहाज’ सञ्चालनका लागि नेपाल र भारतका अधिकारीहरु छलफलमा जुटेका छन्। 

काठमाडौंमा दुई देशका अधिकारीहरु आइतबारदेखि पानीजहाज (जल यातायात) सञ्चालनका लागि कार्य योजना तयार पार्नका लागि छलफलमा जुटेका हुन्। आइतबारबाट काठमाडौंमा दुई देशका सहसचिव स्तरका अधिकारीहरुको छलफल सुरु भएको छ। 

नेपालको कोशी, गण्डक वा नारायणीमध्ये एक नदीमा तत्काल जल यातायात संचालन गर्ने गरी योजना तयार गरिने बताइएको छ। ‘तत्काल कुनै एक नदीमा जल यातायात सञ्चालन गर्न द्विपक्षीय छलफलमा जुटेका छौँ,’ जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलबासेले भने, ‘दुई दिनसम्म चल्ने बैठकमा एउटा ठोस योजना बनाई सरकारलाई सुझाव दिइने छ।’ 

छलफलका क्रममा भारतीय पक्षले नेपालमा जल यातायात संचालनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए। 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पानीजहाज पुसको १६ गते हनुमाननगरबाट छुट्ने भन्दै जहाज चढ्न निम्तो दिइसकेका छन्। 

चैत २३–२५ सम्म प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा ‘इनल्याण्ड वाटरवे’ सञ्चालन सम्बन्धी दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। 

समझदारीपत्रमा दुई देशबीचको आर्थिक विकासका लागि यसअघि प्रयोगमा नभएको ‘इनल्याण्ड वाटरवे’को पहिचान गरी दुबै देशका प्रधानमन्त्रीले व्यापार तथा पारवाहन सन्धी अन्तर्गत कार्गो सेवा सञ्चालन गर्न इनल्याण्ड वाटरवे सञ्चालन गर्ने सहमति भएको थियो। 
पानीजहाज सञ्चालनका लागि दुबै देशका प्रधानमन्त्रीले आफ्ना सरोकारवाला अधिकारीलाई योजना निर्माण तथा साझा सहमति जुटाउन निर्देशन दिएका थिए। साथै उनीहरुले आवश्यक प्रक्रिया, मोडालिटी तयार गर्न समेत निर्देशन दिएका थिए। 

सोही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो।

सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात संचालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको छ। जल यातायात सञ्चालनका लागि दुवै देशको सम्भावित नदीहरुमा स्थलगत अवलोकन छिट्टै गर्ने सहमति भएको सहसचिव वेलवासेले जानकारी दिए। 

यसैबीच छलफलका क्रममा नेपाल पक्षले भारतीय बाँधका कारण नेपालका तराई क्षेत्रमा भएको डुबान समस्याको विषयमा समेत कुरा उठाएका छन्। 

बैठकमा भारतीय पक्षले डुबान समस्या समाधान गर्न भारत सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गरेको उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell