PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजपाको संसदीय दलको निर्वाचनबाट यसकारण महतो भए ब्याक 



बीपी साह

राजपाको संसदीय दलको निर्वाचनबाट यसकारण महतो भए ब्याक 

काठमाडौं : पार्टीभित्र आन्तरिक विवादका कारण निर्वाचन सम्पन्न भएको सात महिना बित्दासमेत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेता पाउन सकेको थिएन। तर अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदीय दलको नेता हुने दाबी छोडेपछि संयोजक महन्थ ठाकुर सर्वसम्मतिले शनिबार संसदीय दलको नेता चुनिएका छन्।

प्रतिनिधि सभाको निर्वाचन भएलगत्तै राजपामा संसदीय दलको नेताका लागि तीन जनाको दाबेदारी थियो। पार्टी संयोजकको हिसाबले ठाकुरको र आफ्नो पक्षका अधिक उम्मेदवारले चुनाव जितेकोले महतोको। तर राजपा गठन हुँदा ६ वटै अध्यक्ष मध्ये महेन्द्रराय यादव मात्रै निर्वाचित सांसद भएकाले संसदीय दलको नेता यादवलाई नै बनाउने सहमति भएको थियो।

राजपाले निर्वाचन अघिसम्म यादवलाई संसदीय दलको नेतामा चयन नगरेपछि निर्वाचनपछि पनि उनको दाबी रहेको थियो।

महन्थ ठाकुरसँग पार्टी टुक्रा गरेर गएका यादव र ठाकुरबीच दूरी रहेकोले उनी महतोको पक्षमा थिए। तर केही दिन यता यादव पुनः ठाकुरकै पक्षमा फर्केपछि ठाकुरलाई संसदीय दलको नेता बनाउनु पर्ने लविङ गर्दै आएका थिए।

महतोको पक्षमा रहेका राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव पनि पछिल्लो समय ठाकुर क्याम्पमा गएका छन्। त्यसैगरी महतो नेतृत्वको पार्टी टुक्र्याउँदै सरकारमा सहभागी भएका अनिल कुमार झा पनि ठाकुरकै पक्षमा छन्।
 
अहिले राजपामा ठाकुरको सबभन्दा निकट झा नै मानिएका छन्।

राजपाको अध्यक्ष मण्डलमा महतो र शरतसिंह भण्डारी एक समूहमा देखिएका छन्। 

संसदीय दलको नेता ठाकुरलाई बनाउनु पर्ने भन्दै महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झाले लबिङ गर्दै आएका थिए भने महतोलाई संसदीय दलको नेता बनाउनु पर्ने भन्दै भण्डारीको लबिङ रहेको थियो।

यसकारण ब्याक भए महतो

प्रतिनिधि सभामा आफू पक्षका बढी सांसद रहेकोले संसदीय दलको नेता आफू हुनुपर्ने दाबी गर्दै आएका महतोले शनिबार संयोजक ठाकुरलाई प्रस्ताव गरी संसदीय दलको नेतामा सर्वसम्मत बनाएका छन्।

चुनाव गरेर संसदीय दलको नेता चयन हुनु पर्ने पक्षमा रहेका महतो अन्तिम समयमा पछि हटे। आफनै पक्षका सांसदहरुले मतदानमा सहभागी नहुने देखिएपछि महतो ब्याक भएका हुन्।

महतो पक्षमा लविङ गर्दै आएका भण्डारी र उनी निकट निर्जला राउतले संसदीय दलको नेताका लागि चुनाव भए आफूहरुले मतदान नगर्ने चेतावनी दिएका थिए। 

भण्डारी र राउतले मतदान नगरे आफू निर्वाचन हार्न सक्ने देखेपछि महतो ब्याक भएको राजपा स्रोतले जनाएको छ।

यहाँसम्म कि अध्यक्ष मण्डलको शुक्रबारको बैठकमा तीन दिनपछि संसदीय दलको निर्वाचन गर्ने सहमति भएको थियो। महतो पक्षका अन्य सांसदहरुले पनि सहमति मै संसदीय दलको नेता चयन गर्न दबाब दिएका थिए।

शनिबार संसदीय दलको बैठकमा संसदमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्ने तयारी थियो। तर महतोले एकाएक ठाकुरलाई प्रस्ताव गरेपछि शनिबार नै संसदीय दलको नेता चुनिएको हो।

राजपा स्रोतका अनुसार महतोले ठाकुरलाई संसदीय दलको नेतामा सघाएकोले पार्टीको आगामी महाधिवेशनमा ठाकुरले महतोलाई सघाउने छ। ठाकुरमाथि नैतिक दबाब दिन महतोले ठाकुरलाई प्रस्ताव गरेको हो।

पार्टी एकता बलियो बनाउन प्रतिस्पर्धा भएन : महतो

ठाकुरलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका महतोले अहिले पार्टीलाई बलियो बनाउन आवश्यक रहेकोले प्रतिस्पर्धा नभएको बताए। राजपा अहिले निर्माणको क्रममा रहेको र अहिले नै गुट उपगुट देखिँदा जनतामा नराम्रो प्रभाव पर्ने भएकाले सहमति मै संसदीय दलको नेता चयन गरिएको महतोले बताए।

शनिबारको संसदीय दलको बैठकमा महतोले आफू प्रतिस्पर्धा मै नभएको दाबी गरेका थिए। मिडिया र केही कार्यकर्ताहरुले आफूलाई संसदीय दलको नेताको उम्मेदबार बनाएको दाबी महतोले गरेका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell