PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मुगुकी किशोरीहरुको युरोप यात्रा : समुद्रको पानी त नुनिलो हुने रैछ, बाटोमुनि रेल कुदने रैछ



स्वेच्छा राउत

मुगुकी किशोरीहरुको युरोप यात्रा : समुद्रको पानी त नुनिलो हुने रैछ, बाटोमुनि रेल कुदने रैछ

‘आमा मुकन पनि फूटबल खेल्न जान्या हौ।’ 

मुगु चैनपुरकी पुष्पा शाहले पहिलोपटक आमालाई फूटबल खेल्नका लागि अनुमति मागिन्। जवाफमा आमाले ‘नाईं’ भनिन्। 

जब खेल्नकै लागि विदेश लगिन्छ भन्ने खबर फैलियो तब उनले त खेल्ने अनुमति पाइन् नै साथै आफ्नो छोरीलाई टिममा सेलेक्ट गराउन सोर्सफोर्ससमेत लगाउन खोज्ने आमाबुवा थुप्रै निस्किए। 

बामा गाउँको एउटा चौरमा भएको छनौट खेलमा विभिन्न मुगुको गाउँबाट आएका १० वटा टिम सहभागी जनाए। तीमध्येबाट १७ जना छानिए।
स्पेनको फूटबल मैदानमा ‘टिम रारा’ लेखेको जर्सी लगाएर तिनै १७ किशोरीहरु उभिए। देशको प्रतिनिधि बनेर। विश्वकप फूटबलले नेपालमा पनि राम्रै प्रभाव पारेको जून महिनामा ती किशोरी भने डोनोस्टी कपमा रमाउँदै थिए। तर उनीहरुले खेलेको चारवटै गेम जितेनन्। चार वटै गेममा एउटा पनि गोल हान्न सकेनन्। 

‘ट्रेनिङ पुगेको भए हामी पनि जित्थ्यौं कि? जितिएन त के गर्ने?’, टिमकी स्ट्राइकर राज्यलक्ष्मी बुढाले भनिन्। आफूहरुलाई घर कसरी जाने, हार्यौं कसरी भन्ने? प्रश्नहरुले पिरोलेको बताउँछिन् उनी। 

खेल हारेर आउनुको दु:खभन्दा विदेश हेरेर आउनुको खुशी मुगुका यी किशोरीहरुको मुहारमा देखिन्छ। समूहबाट पुष्पा शाही बोल्छिन्,’ट्रेनिङ नपुगेर हार्यौं नि। आमाबुवाको लागि सबैको लागि सपिङ गर्दिने नि खुशी भैहाल्नुहुन्छ।’ 

सबै एकसाथ गललल हाँस्छन्। 

उनीहरु उत्साहित छन् स्पेन यात्राको कथा घरमा, गाउँमा र स्कूलमा सुनाउन। आफूहरुले ‘सपनामा पनि नदेखेको’ ठाउँ यथार्थमा देखेको भन्छन्। खानादेखि, गाडी अनि बोल्ने शैलीले आफूहरुलाई चकित पारेको कुरा सुनाउँदाको उत्साह उनीहरु कर्णालीको लवजमा सुनाउन पाउँदा दङ पर्छन्। 

मुगु भर्सेस मड्रिड र नारायण गोसाइँको अक्षता 

स्पेन जानु अघि मुगुमा झाँक्री देखाइएको थियो। मुगुमा केही महत्त्वपूर्ण काम गर्नुअघि झाँक्रीलाई साइत देखाउने चलन छ। झाँक्रीले नारायण गोसाइँ (भगवान)लाई सम्झिएर खेलअघि मैदानमा छर्न अक्षता दिएर पठाए। (पढ्नुस्- मैदानमा 'गोसाइँको अक्षता' छरेर जित्लान् मुगुकी किशोरीले फुटबल?)

डोनोस्टी कपमा टिम राराको पहिलो गेम अमारा बेरी केईका किशोरीहरुसँग थियो। मैदानमा जर्सी लगाएर निस्कँदा खेलाडी देखेरै आत्तिए सुरुमा उनीहरु। फरवार्ड सत्यलक्ष्मी बूढा सुनाउँछिन्, ’उनीहरुको सानो खेलाडी नै हामीमध्येको सबैभन्दा ठूलो जस्तो लाग्ने। तर हातमा पूजा गरेको अक्षता लिएकाले जित्छौं भन्ने थियो।’ 

त्यो दिन टिम राराले ३ गोल खायो। ९ वर्षकी अमारा किपरले राराको पक्षमा गोल हुन दिइनन्। एउटा आत्मघाती गोल गरिन् पुष्पाले। ‘अगाडिबाट आएको बल रोकेर पास गर्छु भनेको। छुना साथ आफ्नो पोस्टमा पो छिर्‍यो।’ 

झाँक्रीको अक्षताले त काम गरेन छ नि त? 

प्रश्नमा मुखामुख गर्छन् र भन्छन्, ’काम गर्यो र त ३ गोल मात्र खायौं नि। अरुमा त कति खायौं खायौँ।’ 

एक गोल पनि नगरी हार्दा नराम्रो लागेन? 

रीताले भनिन्,  ’लागेन। बरु हामी त हाँस्थ्यौं। ९ गोल हुँदा एक दर्जन पुग्न ३ बाँकी छ भन्दै गन्थ्यौं।’ 

प्रशस्तै प्रशिक्षण पाएको  राष्ट्रिय खेलाडीहरु रहेको नेपालको राष्ट्रिय फुटबल टोली त सन् २००३ मा दक्षिण कोरियासँग १६-० ले पराजित भएको थियो। धन्न, उनीहरुले एक दर्जन गोल चाहिँ कुनै खेलमा पनि खानु परेन।

चार वटा खेलमा उनीहरु पहिलो खेलमा ३-०, दोस्रो खेलमा ८-०, तेस्रो खेलमा मड्रिडसँग ११-० र चौथो खेलमा ६-० ले पराजित भए।  
विदेशमा मात्र हैन, जिल्लाबाहिर नै पहिलो पटक फुटबल खेलिरहेकी उनीहरुलाई फुटबलका धेरै कुरा थाहै थिएन। 'रेफ्रीले सिठी फुकेपछि मात्र बल लानुपर्ने रहेछ, हामीले त पहिल्यै लग्ने रहेछौँ,' भाग्यलक्ष्मी बूढाले सुनाइन्। 

विपक्षी गोलकिपर पोस्ट छाडेर अगाडि अगाडिसम्म आउँदा उनीहरु दङ परेका रहेछन्। 'हामीले त उनीहरुको पोस्टतिर बल लानै सकेनौँ,' उनी भन्छिन्। 

मेस्सीले खेल्ने मैदानमा पुग्दा

मेस्सीले फुटबल खेल्ने टिम बार्सिलोनाको होमग्राउन्ड क्याम्प नोउ फूटबल स्टेडियम पुग्नुलाई यात्राको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गर्छ टिम रारा। नेपालमा ट्रेनिङ हुँदै गर्दा मेस्सीको बारेमा सुनेका थिए उनीहरुले। मुगुमै अर्जेन्टिनाको विश्वकप समूह चरणको खेल पनि हेरे। ‘टिभीमा हेरेको मेस्सीले सुरुदेखि खेलेको चौर देख्न मात्र होइन, टेक्न पनि पायौं।’ गोल्डेन बुट, बल र जर्सी देखेर छक्क परेको बताउँछन्। भन्छन्, ’त्यहाँ त दुबो पनि सक्कली रैछ। अरुमा त प्लास्टिक थिए।’ 

बार्सिलोनाको ग्राउन्ड घुमेर फर्किएको साँझ विश्वकपमा अर्जेन्टिना फ्रान्ससँग नकआउट चरणमा भिड्दै थियो। टिम राराका सबै स्क्रिन अगाडि थिए। ‘ग्याम हेर्न त मज्जा आयो तर मेस्सीले हारेपछि नराम्रो लाग्यो। रुन आयो।’ 

मुगु जिल्लाको कूल जनसङ्ख्याभन्दा बढी दर्शक अट्ने बार्सिलोना ग्राउन्डमा खेल्न पाउने मेस्सी साँच्चै ‘ठूलो मान्छे हुन्’ भन्ने लागेको बताउने उनीहरु बार्सिलोना ग्राउन्ड हेर्न पाउनु ‘आफ्नो भाग्य’ भन्छन्। क्याम्प नोउमा सन् १९८५-८६ को युरोपियन कपको क्वार्टरफाइनल हुँदा एक लाख २० हजार दर्शक स्टेडियममा आएका थिए। 

खुला चौरमा फुटबल खेलिरहेका उनीहरुलाई स्टेडियमको कुर्सी पनि गजब लाग्यो।

एथलेटिक बिल्बाओको मैदानमा आमाको पुरानो फोनबाट सेल्फी खिच्दै रोशनी कामी। 

बार्सिलोनासँगै उनीहरु एथलेटिक बिल्बाओको मैदानमा पनि पुगे। त्यहाँको मैदानमा उनीहरुले कुद्ने मौका पनि पाए। एक वर्षअघि उनीहरुकै गाउँकी सुनकली बूढा पनि यही मैदानमा पुगेकी थिइन्। सुनकली कै नाममा बनेको डकुमेन्ट्रीकै कारण मुगुकी चेलीहरुलाई युरोपमा खेल्ने अवसर जुरेको थियो।  

मान्छेको बोली र बाटोमुनिको रेल 

एकपटक गाउँको मन्दिर छिर्न लाग्दा छिमेकीले रोकिन् बामाकी १३ वर्षीया रोशनी कामीलाई। पहिलोपटक आफू दलित भएको थाहा पाएकी थिइन्। दलितको अर्थ बुझिनन् तर छिमेकीको अपशब्द र गाली उनको मनमा आजसम्म गढेर बसेको छ। भन्छिन्,’कस्तो नमिठो बोली थियो, तर स्पेनको मान्छेको त कस्तो मिठो बोली। व्यवहार मन पर्नुको कारण बताउँछिन्, ’त्यहाँ त कसैले थोरै पनि छोए भने ‘सोरी सोरी’ भन्थे।’ 

रोशनीलाईजस्तै समूहका सबैलाई स्पेनमा भेटिएका मान्छेको व्यवहार निकै मन पर्यो। ‘नचिनेकाहरु पनि हाँस्दा रछन्,’ रामकलीले सुनाइन्। 
खेल सक्किएपछि प्रतिस्पर्धीले नै उनीहरुलाई साथी बनाए। आफ्नो क्लबको जर्सी र फ्रेन्डसिप ब्यान्ड दिएर। कतिले खाना खान बोलाए। कतिले आइसक्रिम खुवाए। कसैले पनि हारेकोमा गुनासो गरेनन्। बरु हौसला दिए। ‘हामीभन्दा गोरा। हामीभन्दा राम्रो अनि ठूला। भाषा पनि बुझेको भए कति जाति हुन्थ्यो होलाझैँ लाग्यो,’  रोशनीले भनिन्। अङ्ग्रेजी त उनीहरुले स्कूलमा पढेकोले धेरथोर बुझ्थे, तर स्पेनिस उनीहरु फिटिक्कै बुझ्दैन थिए। 

मान्छेजस्तै रोचक लागेको हो बाटोमुनि कुद्ने रेल र गाडीहरु। ‘कसरी बनाए होलान् त्यो बाटो?’ विदेश हेरेर फर्किएकी मुगुकी किशोरीको जिज्ञासा। हुनत उनले प्लेन र ट्याक्सी पनि पहिलोपटक फूटबलकै कारण दुई महिना अघि चढेकी हुन् तर त्यति बेला यो सबै सोचेकी थिइनन्। 

सोचपुरा महतारा भन्छिन्,’कस्तो अनौठो हुँदो रहेछ। त्यस्तो ठाउँमा पुग्नकै लागि होला प्लेनमा पनि सिरक सिरानी दिएको। त्यत्रा समुद्र कट्नु परेको।’ 

बाटोमुनिको रेल आफूहरु पनि चढ्न पाएकोमा भने दङ्ग छन्। तीनपटक चढ्दा फरक फरक अनुभव बटुले। पहिलोपटक चक्कर लाग्यो, दोस्रो पटक नेपालको प्लेन चढेको जस्तो लाग्यो र तेस्रोपटक अझै चढ्न पाए हुन्थ्यो जस्तो रमाइलो भयो। 

समुद्रभन्दा सुन्दर हाम्रै रारा 

नेपालबाट आएकोभन्दा छक्क पर्ने र खुशी हुने साथीहरु भेटे मुगुका टोलीले। धेरैलाई ‘राराको जिल्ला’ मुगुबाट आएको बताए। ‘कतिले त त्यहाँ स्विमिङ गर्न मिल्छ भनी सोधे। 'रारामा त मिल्दैन यहाँको समुद्रजस्तो होइन नि’, विपना मल्लले भनिन्। 

उनलाई समुद्र फोहोर लाग्यो। रारा तालनै सुन्दर लाग्यो। राराको वरिपरी हरियो जङ्गल समुद्रको वरिपरी मान्छेहरु। राराको पानी मिठो, समुद्रको पानी नमिठो। 

विपनाजस्तै धेरैले समुद्रको पानी चाखे। उनीहरु छक्क परे।

 ‘खानामा चाहिँ बिल्कुल नून नाईं। समुद्रको पानी चाहिं नुनिलो’, उनीहरु हाँस्छन्। र, भन्छन्,’विदेशको खानेकुरा बाहेक सबै चिज राम्रो।’ 
अर्कोपटक पनि डोनेस्टी कपका लागि जाने सपना देखेका छन् विकट मुगुका यी खेलाडीहरुले। उनीहरु धेरैको सपना नर्स, अनमी बन्ने थियो तर अब खेलाडी बन्ने अठोट लिएका छन्। 

यो पटक हार्नुले सिकाएको बताउँछन्। चैनगाउँकी यमुना चौंलागाईं भन्छिन्,’यो साल हारे पनि यिनको सबै गोल फिर्ता गर्ने गरी आउँछौं भन्ने वाचा गरियाछ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell