PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्ड सरकारको निर्णय ओली सरकारबाट खारेज!



पहिलोपोस्ट

प्रचण्ड सरकारको निर्णय ओली सरकारबाट खारेज!

काठमाडौं : सरकारले अमेरिकाको न्यूयोर्कमा रहेको महावाणिज्यदूतावासका लागि सिर्जना गरिएको सहसचिवको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

महावाणिज्यदूतावासमा एक वर्षअघि सिर्जना गरिएको सहसचिवको दरबन्दी खारेज गरिएको हो। यो निर्णयसँगै महावाणिज्यदूतका रूपमा न्यूर्योकमा कार्यरत सहसचिव मधुकुमार मरासिनी फिर्ता हुनेछन्। मरासिनी अर्थ मन्त्रालयको सहसचिवका रूपमा काम गर्दागर्दै न्यूयोर्क गएका थिए। सरकारको यो निर्णयसँगै उपसचिवले कार्यालय प्रमुखको रूपमा काम गर्नेछन्।
 
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले वाणिज्यदूतावासलाई महावाणिज्यदूतावासमा स्तरोन्नति गर्दै सहसचिवको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो। गत साताको मन्त्रिपरिषद बैठकले सहसचिवको दरबन्दी कटाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। ‘अब पूर्ववत् रूपमा कार्यालय सञ्चालन हुनेछ र उपसचिवले नेतृत्व गर्नेछन्,’ मन्त्री ज्ञवालीले भने, 'यसबाट सरकारको खर्च पनि कटौती हुन्छ।‘

मन्त्री ज्ञवालीले अमेरिकाको वासिङटन डिसीमा नेपाली राजदूतावास रहेको र न्यूयोर्कमै राष्ट्र संघीय स्थायी प्रतिनिधिको कार्यालयसमेत रहेकाले महावाणिज्यदूतावासमा सहसचिव सरहको कर्मचारी आवश्यक नपर्ने भएकाले उपसचिव मात्रै कायम राख्ने निर्णय गरिएको जानकारी दिए। 
 
‘सम्पर्कका लागि विभिन्न संयन्त्रहरू पहिल्यै त्यहाँ स्थापना भइसकेको अवस्थामा सहसचिवस्तरीय कार्यालय आवस्यक नपर्ने ठहर गर्दै खारेजीको निर्णय गरिएको हो,’ ज्ञवालीले भने, ‘त्यहाँको कार्यालय पूर्ववत् रूपमा सञ्चालनमा आउनेछ।‘
 
वासिङटन र न्यूयोर्क हवाई यातायातमा धेरै टाढा पनि नरहेको र त्यहाँ सहसचिवको दरबन्दी राखेर खर्च मात्रै धेरै गर्नु उचित नहुने निष्कर्ष परराष्ट्रले निकालेको हो। मरासिनीले आफूले भने महावाणिज्यदूतका रूपमा नेपालमा अमेरिकी लगानी भित्र्याउन पहल गरिरहेको बताएका थिए। केही समयअघि नेपाल आएका उनले सौर्य ऊर्जाको क्षेत्रमा १ खर्ब रूपैयाँ अमेरिकी लगानी भित्र्याउन पहल गरिरहेको जानकारी दिएका थिए।
 
मरासिनीले करिब १५ महिना महावाणिज्यदूतका रूपमा काम गरेका छन्। २०७४ वैशाखमा मन्त्रिपरिषद बैठकले दरबन्दी सिर्जना गर्दै उनलाई अमेरिका पठाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell