PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भानु जयन्तीमा बेलायती नागरिकले भने : एक दिन 'माइकल हट' कान्तिपुर पुगी गया त्यहाँको भाषा बुझुँ भनी



विधुर ढकाल

भानु जयन्तीमा बेलायती नागरिकले भने : एक दिन 'माइकल हट' कान्तिपुर पुगी गया त्यहाँको भाषा बुझुँ भनी

काठमाडौं : ‘एक दिन नारद सत्यलोक पुगी गया लोकको हित गरु भनी, एकदिन माइकल हट कान्तिपुर पुगी गया त्यहाँको कला संस्कृति बुझु भनी।’

सेतै कपाल फुलेका बेलायती नागरिक माइकल हट मञ्चमा उभिएर यस्तो भन्दै गर्दा हल गडगडाहड ताली र हुटिङले गुञ्जियो। मञ्चमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली, शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीसहितका मन्त्रीहरु कवि साहित्यकारहरु समेत हाँसे। ३४ वर्ष अगाडि नेपाली कला साहित्य भाषमा विद्यावारिधी गरेका बेलायती नागरिक माइकल हट राष्ट्रिय नाचघरमा आयोजित हिमोवत् खण्ड कला साहित्य सम्मेलनमा उनले नेपाली कला साहित्य र संस्कृतिको चर्चा गरे। 

‘आज ४० वर्षपछि साहित्यकार वैरागी काँइला, शताब्दी पुरुष सत्यमोहन जोशीज्यू लगायतालाई एउटै मञ्चमा पाँउदा यो माइकल हटलाई गौरवको अनुभव भइरहेको छ,’ उनले अगाडि भने, ‘मैले नेपाली भाषा सहित्यमा पीएचडी गरेको ३४ वर्ष भइसकेछ। यात्रा पनि लामो भइसकेछ। बूढो हुने आँटेछु।’
 
उनले नेपाली साहित्यका कृतिहरुको चर्चा समेत गरे। वैरागी काईँलाको ‘मातेको मान्छेको भाषण’ जस्तो शक्तिशाली कविता अरु हुनै नसक्ने बताए। ‘काँईलासँग मेरो भेट उहाँको कवितामा भयो। मातेको मान्छेको भाषण, त्यो भन्दा शक्तिशाली कविता छ की नेपाली साहित्यमा मलाई थाहा छैन।’
 
उनले नेपालको नेपाली अग्रज साहित्यकारहरुसँगको पुरानो भेटको सम्झना गरे। उनले नेपाली राष्ट्रिय गान आशावादी भएको भन्दै राष्ट्रिय गान छनोटको सन्दर्भलाई समेत कोट्याए। ‘शताब्दी पुरुष सत्यमोहन जोशी र मोदनाथ प्रश्रितसँग मेरो भेट राष्ट्रिय गान छनोटका अनुसन्धान गर्न नेपाल आएको बेला भएको थियो। नयाँ राष्ट्रिय गान आशावादी छ। मलाई एकदम मन पर्छ।’
 
उनले भूकम्पपछिको सांस्कृतिक सम्पदामा पुगेको क्षतीको विषयमा अध्ययन गरिरहेको समेत जानकारी दिए। जोशीले आफूलाई ९० सालको भूकम्पको अनुभव सुनाएको बताए।

१५ वर्ष अगाडि आजकै दिन भानुजयन्ती मनाउन चुङ्दी रम्घा पुगेको अनुभव सुनाए। 

‘त्यहाँको स्कुल भवनमा दुई रात सुत्यौँ। पसिना पुछ्दै, लामखुट्टे मार्दै,’ उनले भने, ‘अनी त्यसपछि रातो माटोमा लड्दै पढ्दै पुगेर भानुभक्तको शालिकमा माला अर्पण गर्‍यौँ। साना केटाकेटीले दिनभर कविता वाचन गरे भानुभक्तीय शैलीमा, सैद्धान्तिक रुपमा मलाई थाहा भइसकेको थियो भानुभक्तले नेपाली साहित्यको जग बसालेको कुरा तर त्यो दिन मैले एउटा सत्य, एउटा ज्यूदो यथार्थको रुपमा देख्न पाएँ।’
 
उनले अहिले भएका प्रविधिको विकासले नेपाली साहित्यलाई बाहिर लैजान सहयोग पुराएको बताए। ‘मैले नेपाली भाषको अध्ययन गर्न, नेपाली किताबहरु पाउन र नेपाली लेखकहरुसँग भेट्न नेपाल नै आउनुपर्थ्यो,’ आफूले साहित्य अध्ययन गर्दाका अफ्ठ्यारा सुनाउँदै माइकल हटले भने, ‘किनभने इन्टरनेट थिएन्, इमेल थिएन्, टेलिग्रामहरु लेख्नुपथ्र्यो तीन हप्ता पछि मात्र आउँथ्यो। अर्को कुरा त्यतिखेर युरोपतिर नेपाली साहित्यिक समुदायहरु थिएन्।’ 

अहिले संसारका हेरेक कुनामा नेपाली साहित्य पुगेको भन्दै उनले भने, ‘लण्डनमा हरेक महिना कुनै न कुनै नेपाली साहित्य, संघसंस्थाले निमन्त्रणपत्र मेरो इमेलको इनबक्समा खसिहाल्छ।’ 

नेपाली साहित्यले आफ्नो परिवेशलाई बढाउँदै गएको भन्दै नेपाली लेखकहरुले अंग्रेजी साहित्यसमेत आफ्नो उपस्थिति जमाएको भन्दै खुसीसमेत व्यक्त गरे।
 
माइकल हट पछिल्लो पटक नेपालमा मदन भण्डारी फाउन्डेसनको आयोजना सुरु भएको तीन दिने हिमोवत खण्ड कला साहित्य सम्मेलनमा सहभागी हुन आएका हुन्। उनीसँगै भारत, पाकिस्तान, चीन बंगलादेश, भुटान म्यानमारसहितका १३ देशका ४३ जना विदेशी साहित्यकार तथा लेखकहरुकोसमेत सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell