PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्राइडे रिलिजमा 'बोबी', 'बाबु कान्छा', 'वीरङ्गना' र 'यो पागल मन'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'बोबी', 'बाबु कान्छा', 'वीरङ्गना' र 'यो पागल मन'

काठमाडौं:  यो साता शुक्रबार प्रदर्शन अन्तरगत चार नेपाली फिल्म छन्। 'बोबी', 'बाबु कान्छा', 'वीरङ्गना' र 'यो पागल मन' प्रदर्शनमा आएका चार नेपाली फिल्म हुन्।

मिलन चाम्स निर्देशित 'बोबी' वास्तविक प्रेम कथामा आधारित फिल्म हो। फिल्ममा नर्वे बस्दै आएका (एनआरएन) कविता गुरुङ र उमेश थापाको अभिनय रहेको छ। उमेश पेसाले इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन्। कथालाई जीवन्त बनाउन फिल्ममा उनी दुइले नै अभिनय गरेको कविताले बताइन्।

फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा लगायतको अभिनय छ। चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ।

'बाबु कान्छा'लाई भने सोभित बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा सोभित कै छोरा सलोन बस्नेतको मुख्य भुमिका छ। फिल्ममा सलोनसँगै करिष्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल लगायतको अभिनय छ।

शोभितको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्मातामा रबि अधिकारी हुन्। फिल्ममा अस्ट महर्जनको एक्सन, गौतम राज खड्काको सम्पादन तथा टंक बुढाथोकी संगीत रहेको छ।

यो साता प्रदर्शनमा आएको अर्को फिल्म 'वीरङ्गना' हो। फिल्ममा अनुप विक्रम शाही, शिल्पा पोख्रेल, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्र्व कोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय छ। एक्सन विधामा बनेको यस फिल्ममा राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको छ। फोर्थ आई मुभिजको ब्यानरमा बनेको फिल्मका निर्मातामा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार,देव तामाङ र बिमला भट्ट रहेका छन्।

फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ।

फिल्म 'यो पागल मन' लभ स्टोरीमा आधारित फिल्म हो। अभिनेता विनोद न्यौपाने र ऋचा सिंह ठकुरी अभिनित फिल्मलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन्। फिल्ममा अन्य कलाकार गौरी मल्ल, राजेश ढुङ्गानाको अभिनय रहेको छ।

बलिउड फिल्म नेपाल प्रदर्शनमा आएन। हलिउड फिल्म 'होटेल ट्रान्सिलभेनिया' नेपाल प्रदर्शनमा आएका छन्। जेन्डी निर्देशित फिल्ममा सेलेना गोमेज, एडम, एन्डीको अभिनय रहेको छ। अर्को हलिउड फिल्म 'एन्ट म्याज एण्ड दि वाप्स' प्रदर्शनमा छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell