PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विश्वकपमा नवौँ पटक 'अल युरोपियन' फाइनल



पहिलोपोस्ट

विश्वकपमा नवौँ पटक 'अल युरोपियन' फाइनल

विश्वकप २०१८ को सेमिफाइनलमै चारवटा युरोपियन टिमहरु पुगेपछि त्यसलाई युरोकप समेत भनियो। अब फाइनलमा पुग्ने दुई टिम युरोपियन भएपछि २१औँ संस्करणको विश्वकपको फाइनल पनि अल युरोपियन हुने भएको छ।

फ्रान्स र क्रोएसिया आगामी आइतबार उपाधिका लागि लुजनिकी स्टेडियममा भिड्दैछन्। सन् १९९८ को च्याम्पियन फ्रान्स समग्रमा तेस्रो पटक फाइनल पुगेको हो। यस्तै १९९८ को पहिलो सहभागितामै सेमिफाइनल पुग्दै तेस्रो भएको क्रोएसिया फाइनल पुगेको यो पहिलो पटक हो।

दुई युरोपियन टिम विश्वकपको फाइनलमा भिड्न लागेको यो पहिलो पटक भने होइन। सन् १९३० मा भएको पहिलो विश्वकपको फाइनलमा दुई दक्षिण अमेरिकी टोली फाइनल पुगेका थिए। त्यसयता ८ पटक दुई युरोपियन टोली विश्वकपको फाइनलमा भिडिसकेका छन्। पछिल्लो पटक सन् २०१० मा युरोपका दुई टोली स्पेन र नेदरल्याण्ड्सले फाइनल खेलेका थिए।

१९३४ को दोस्रो संस्करणमै युरोपका दुई टोली फाइनल पुगे। उक्त फाइनलसहित अहिलेसम्म कूल ८ पटक अल युरोपियन फाइनल भएको छ।

१९३४ मा इटलीले चेकोस्लोभाकियालाई २-१ ले हराउँदै पहिलो पटक विश्वकप जित्यो। त्यसको चार वर्षपछि इटलीले अर्को युरोपियन टोली हंगेरीलाई ४-२ ले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकप जित्ने पहिलो टोली बन्यो।

सन् १९५४ मा पश्चिम जर्मनीले हंगेरीलाई नै ३-२ ले पराजित गर्दै पहिलो पटक विश्वकप उपाधि जितेको थियो।

१९६६ को फाइनलमा इंग्ल्याण्डले घरेलु मैदान वेम्वलीमा पश्चिम जर्मनीलाई पराजित गरेर पहिलो पटक उपाधि जित्यो।

१९७४ मा पश्चिम जर्मनीले नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै च्याम्पियन बन्यो। यस्तै १९८२ मा इटलीले पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्दै विश्वकप उपाधि तेस्रो पटक जित्यो।

सन् २००६ मा भएको अल युरोपियन फाइनलमा इटलीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै उपाधि जितेको थियो।

यस्तै पछिल्लो पटक २०१० मा भएको अल युरोपियन फाइनलमा स्पेनले नेदरल्याण्ड्सलाई १-० ले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell