PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिफाको छानबिनमा इंग्ल्याण्डका समर्थक, विभेदकारी नारा लगाएको आरोप



पहिलोपोस्ट

फिफाको छानबिनमा इंग्ल्याण्डका समर्थक, विभेदकारी नारा लगाएको आरोप

इंग्ल्याण्ड र क्रोएसियाबीचको विश्वकप सेमिफाइनल खेलमा इंग्ल्याण्डका समर्थकहरूको व्यवहारमाथि विश्व फुटबल महासंघ फिफाले छानबिन गर्ने भएको छ। मस्कोको लुजनिकी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका समर्थकहरूले विभेदकारी नारा लगाएको आरोपमाथि फिफाले छानबिन गर्ने भएको हो।

अहिलेसम्म कस्ता गतिविधिमाथि छानबिन गर्ने वा तिनीहरू के सँग सम्बन्धित छन् भन्ने खुलेको छैन। तर, बेलायती समर्थकहरूको विभेदकारी नाराबाजीमाथि छानबिन गर्ने र इंग्ल्याण्ड फुटबल एसोसिएशनविरुद्ध अनुशासन कारबाही गर्ने फिफाले जनाएको छ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'हामी पुष्टि गर्न सक्छौँ कि इंग्ल्याण्डका समर्थकहरूद्वारा सम्भावित विभेदकारी प्रकृतिको नाराबाजीहरूका सम्बन्धमा एन्टी डिस्क्रिमिनेटोरी मोनिटोरिङ सिस्टम (भेदभावविरुद्धको निगरानी प्रणाली) को माध्यमबाट एक रिपोर्ट दायर गरिएको छ।'

फिफाले कस्ता प्रकृतिका नाराबाजी रहेको खुलासा नगरे पनि बुधबार राति भएको सेमिफाइनल खेलमा 'नो सररेन्डर' (आत्मसमर्पण गर्दैनौँ) भन्ने नाराबाजी मैदानबाट स्पष्ट सुनिएको थियो। विश्वकपमा इंग्ल्याण्ड खेलेको हरेक खेलमा सो नारा प्रदर्शन भएको थियो। क्रोएसियासँगको खेलमा धेरै समर्थकहरूले सो नाराबाजी गरेका बताइएको छ।

यस्तै लुजनिकी स्टेडियमकै सोही खण्डबाटै केही इस्लाम विरोधी नाराबाजी र नाजी सल्युटहरु प्रदर्शन भएको जनाइएको छ।

बुधबार भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डलार्इ २-१ गोल अन्तरले पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell