PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

२० वर्षपछि फ्रान्ससँग बदला लिने दाउमा क्रोएसिया



२० वर्षपछि फ्रान्ससँग बदला लिने दाउमा क्रोएसिया
फोटो: fifanews.us

इंग्ल्यान्डलार्इ पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा थ्री लायन्सलार्इ २-१ ले पराजित गर्ने क्रममा क्रोएसियाका इभान पेरिसिक र मारियो मान्डुकिचले गोल गरेका थिए। रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको अन्डरडग टोलीसँग नयाँ इतिहास रच्ने अवसर रहेको छ। 

क्रोएसियले फुटबलमा आफ्नो छाप १९९८ मै छोडेको थियो। जब क्रोएसिया पहिलो पटक १९९८ विश्वकपमा सहभागी भएको थियो। आफ्नो पहिलो उपस्तिथिमा नै सेमिफाइनल प्रवेश गर्दै क्रोएसियाले सनसनी मच्चाएको थियो। सो विश्वकपमा क्वाटरफाइनलमा जर्मनीलार्इ पराजित गर्दै सेमिफाइनल पुगेको क्रोएसियाले सेमिफाइनलमा फ्रान्सको सामना गरेको थियो। 

पहिलो पटक विश्वकपमा सहभागी जनाउँदै फाइनल पुग्ने संघारमा रहेको क्रोएसियलार्इ फ्रान्सले २-१ ले पराजित गरेको थियो। फ्रान्सले १९९८ मै आफ्नै भूमिमा पहिलो पटक विश्वकप उपाधी जितेको थियो।

२० वर्षपछि क्रोएसियाले विश्वकपमा फेरि फ्रान्सको सामना गर्दैछ। १९९८ मा फाइनलमा पुग्न रोकेको फ्रान्स नै रसिया विश्वकपको फाइनलमा क्रोएसियाको प्रतिद्वन्द्वी रहेको छ। रसिया विश्वकपमा राम्रो फर्ममा रहेको क्रोएसिया र फ्रान्स यसपटक विश्वकप जित्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ।
 
यता, क्रोएसियाका प्रशिक्षक जाल्टको ड्यालिकले आफ्नो टोलीलार्इ विश्वकप फाइनलमा फ्रान्सविरुद्ध गोल गरी बदला लिने अवसर रहेको बताएका छन्।

ड्यालिकले भने, 'म १९९८ मा पहिलो तीन खेलका लागि क्रोएसियाली समर्थक बनी फ्रान्समा थिए। हाजदुक स्पिल्ट क्ल्बबाट प्रि सिजन खेल्नका लागि म फिर्ता जानु पर्‍यो। क्रोएसियाली टोलीका सबैजनाले फ्रान्सका लिलियन थुरयाम (सेमिफाइनलमा क्रोएसिया विरुद्ध २ गोल गर्ने खेलाडी)लार्इ समझ्नछन्। २० वर्ष देखि यसबारे चर्चा हुदै आएको छ।'
'सायद यो खेलको एतिहासिक महत्व छ। स्कोर सेटल गर्ने मौका छ। दुवै टोलीले आफ्नो क्षमता देखाएका छन्, फाइनलिस्ट बन्न योग्य छन्। यो फुटबल हो। हामीले के गर्नुपर्छ भने फाइनलमा प्रतियोगिताकै उत्कृष्ट खेलको तयारी गर्न ध्यान दिनुपर्छ।'

क्रोएसिया प्रतियोगितामा लगातार तेस्रो पटक एक्ट्रा टाइममा पुग्दै विजयी हुदै आएको छ। ड्यालिकले लगातार तेस्रो पटक यसरी जित्दै आएकोमा आफ्नो टोलीको प्रशंसा गरे।

'म यी फुटबलरहरुलार्इ फुटबल सिकाउन सक्दिन, उनीहरु पहिले देखि नै राम्रो फुटबल खेल्छन्। म अरु नै कुराको इन-चार्ज हु। यो उनीहरुले स्विकार गरेका छन्।  सुरुमा उनीहरुमा पूर्ण भरोसा र आत्मविश्वास थिएन। तर प्रतियोगिताको अघिल्ला चरण प्रवेश गर्दै जाँदा उनीहरुले विश्वास आर्जन गरेका छन्। उनीहरु मानसिक्ता र आफ्नो शक्तिका आधारमा बलिया छन्।'

आफूहरु कहिल्यै आत्मसमर्पण नगर्ने गौरवशाली राष्ट्रका नागरिक भएको बताउँदै ड्यालिक भन्छन् 'म भन्छु की आफ्नो प्रशिक्षकले भने बमोजिम मैदानमा प्रदर्शन गर्ने खुबी भएको टोलीले यो प्रतियोगिता जित्नेछ। हामी लगातार तीन खेलमा १-० ले पछाडी थियौं। र हामीले त्यसमाथि विजय पायौं। हामीले आज एक्स्ट्रा टाइममा त्यही गर्‍यौं।'

क्रोएसियाले हालसम्म फ्रान्ससँग खेलेको पाँच खेलमा विजय हासिल गर्न सकेको छैन। क्रोएसिया तीन खेलमा फ्रान्ससँग पराजित भएको थियो भने दुर्इ खेल बराबरीमा सकिएको थियो। फिफा विश्वकपमा यी दुर्इ टोली १९९८ पश्चात पहिलो पटक भिड्दैछन्।

रसियामा अन्डरडग टोलीका रुपमा उदाएको क्रोएसियाले आइतबार बेलुकी ८:४५ बजे मस्कोको लुजनिकी स्टेडियममा फ्रान्सको सामना गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell