PahiloPost

Sep 26, 2018 | १० असोज २०७५


छविलाल पौडेल बचाउन राजधानीमा फुजेलबासी, भन्छन् : कृष्णप्रसाद अधिकारी हत्यामा छैनन् संलग्न


पहिलोपोस्ट

छविलाल पौडेल बचाउन राजधानीमा फुजेलबासी, भन्छन् : कृष्णप्रसाद अधिकारी हत्यामा छैनन् संलग्न

काठमाडौं : कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको परिवार तथा फुजेलबासीले बताएका छन्। बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो दाबी गरेका हुन्। 

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा छविलाल निर्दोष भएको, न्याय सम्पादनका लागि सहयोग पुर्‍याउन अदालतमा उपस्थित भएको बताइएको छ। 

‘समाजसेवी छविलाल पौडेलको भर्खरै आँखाको अप्रेसन भएको छ। उच्च रक्तचाप र पिसाव समस्याले ग्रस्त हुनुहुन्छ। उहाँ निर्दोष हुँदाहुँदै घरमै बसिरहेको अवस्थामा पनि पत्रपत्रिका फरार भनेर आइरह्यो,’ फुजेलबासीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँलाई फरार भन्ने शब्द मन नपरेको र गंगामाया पनि सुतेको सुत्यै भएकाले शान्ति प्रक्रियामै अवरोध हुने हो कि भनेर सर्वोच्चको आदेशलाई शिरोधार्य गर्दै उहाँले सर्वोच्चमा उपस्थितिका लागि निवेदन दिनुभयो।’ 

पौडेल सर्वोच्चको आदेश अनुसार डिल्लीबजार कारागार चलान भएका छन्। घटनालाई एकतर्फी रुपमा मात्रै प्रचार गरी फुजेलबासीको सार्वजनिक जीवन, चरित्रहत्या गर्ने प्रयासको अन्त्य होस् भन्ने हामी चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘कारागारमा रहेका निर्दोष छविलाल पौडेलको विना शर्त रिहाईको माग गर्दछौं।’  

कार्यक्रममा बोल्दै फुजेल काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मोहन श्रेष्ठले फुजेलमा अधिकारी परिवारलाई कसैले नलखेटेको भन्दै ‘उनीहरु आफै त्यहाँबाट भागेको’ बताए। 

‘फुजेलमा जति मान्छे शिक्षित छन्, त्यो शिक्षाको पहिलो उज्यालो छर्ने व्यक्ति छविलाल पौडेल हो,’ उनले भने, ‘सडक नपुगेको गाँउमा सडक पुर्‍याउने व्यक्ति पनि उहाँ नै हो। राज्यले दोषी हो भने कारवाही गरेर देखाओस् तर गुमराहमा पारेर नराखोस्।’ 

उनले कृष्णप्रसाद आफूसँगै पढेको साथी भएको र छिविलाल पौडेलले आफूहरुलाई पढाएको समेत बताए। 

‘केही मानवअधिकारवादीले हामीलाई निर्दयी फुजेलबासी भनेर बताएको सुनेको छु। म चुनौती दिन चाहन्छु ती मानवअधिकारवादीलाई, डलरको खेती गर्नेलाई, प्रमाणित गरेर देखाउनुहोस्,’ उनले भने। 

छविलाल पौडेल निर्दोष भन्दै फुजेल बासीले दिएका ९ कारण: 

१ कृष्ण प्रसाद अधिकारीको हत्या लगत्तै तत्कालिन नेकपा माओवादीले हत्याको जिम्मा लिएको छ। 

२ घटनाको १८ महिना पछि मात्र किटानी जाहेरी दिइएको छ। कृष्णप्रसाद अधिकारीको हत्या २०६१ साल जेठमा भएको थियो। उनका दाजु नुरप्रसादले २०६२ साल मंसिरमा किटानी जाहेरी दिएका थिए। 

नन्दप्रसाद अधिकारीले आफ्नी एकाघरकी माइली बुहारी एकल महिला र टुहुरा तीन छोरीहरुलाई अंश नदिइ चर्को आर्थिक अभावमा पारेपछि स्थानीयले अंश दिलाइदिन पहल गरेका थिए। अधिकारी परिवार अंश दिन बाध्य भएपछि गाउँलेप्रति रुष्ट बनेरे अंश दिलाउन पहल गर्ने गाउँले भद्र भलाद्मीलाई रिसिइवी साँध्न त्यही घटनालाई जोडेर नुरप्रसाद अधिकारीले चितवन प्रहरीमा किटानी जाहेरी दिएका थिए। 

नन्दप्रसाद अधिकारीले छोराको हत्या भएको भन्दै २०६१ सालमै पहिलो पटक प्रहरीमा उजुरी दिएका थिए। त्यतिबेला कसैको पनि नाम किटानी गरिएको थिएन। अधिकारी परिवार २०६४ सालसम्म गाँउमै बस्दै आएका थियो।
 
३ गाँउमा विद्युत विस्तार गर्ने क्रममा अधिकारी परिवारको जग्गामाथि विद्युतको तार पर्न गयो। त्यसैमा गाउँलेहरुसँग विवाद गरी गाउँलेहरुलाई उजुरी दिने बाहनामा आफै गाउँ छाडेर गएका हुन्। अधिकारी परिवार गाउँ छाडेर गएपछि निजको सालोले केही समय घरको रेखदेख गरेर घर फेर्केको र अधिकारी दम्पती त्यसपछि गाँउमा फर्केका छैनन्। 

४ उनीहरुको घरमा १३ वटा गाई भैँसी बाख्रा थिए। गाउँले बस्तुभाउलाई घासपात दिँदा अधिकारी परिवारले गाउँलेलाई उल्टै धम्क्याए। जसले घाँसपात गर्छ उसलाई पनि कृष्णप्रसाद अधिकारीको हत्याकाण्डमा आरोप लगाइदिने जस्ता धम्की दिएपछि गाउँलेले बतासे प्रहरी चौकीलाई जानकारी गराई घाँसपात गर्न बन्द गरेका थिए। केही समय प्रहरी चौकीले घाँसपात गरेको र उनीहरुले पनि केही समय पछि घाँसपात गर्न बन्द गरेपछि उनका घरमा भएका गाई भैँसीलगायतका जनावरहरुको मृत्यु भएको हो। यसको सबै प्रमाण बतासे प्रहरी चौकीमा सुरक्षित रहेको छ। 

५ ससुराली बस्दै आएका नुरप्रसादले गोरखा सदरमुकाम गई गाउँलेलाई कृष्णप्रसाद अधिकारीको हत्यारा भएको भन्दै प्रहरीलाई धरपकड गर्न लगाएको र त्यसपछि सबै गाउँले सदरमुकाम गई प्रहरीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका थिए। छलफलमा कृष्णप्रसादको हत्यामा गाउँलेको कुनै संलग्नता नभएको र घटना द्वन्द्वकालमा भएको भन्दै गाउँलेविरुद्ध मुद्धा नचल्ने भनी २०६४ सालमा निर्णय गरेको थियो। साथै अधिकारी परिवारलाई द्वन्द्वपीडितको नाममा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो। 

६ छोरा मरेको शोकमा चार वर्षसम्म गोरखा फुजेलमा खेतीपाती गरी बसेका बाआमालाई उक्साएर विभिन्न प्रलोभन दिइ सामाजिक काममा अवरोध गराई निश्चित स्वार्थपूर्ति गर्ने सोचाईले जेठा छोरा नुरप्रसादले बाब आमालाई अनशनमा बस्न बाध्य पारेका हुन्। निरन्तर तीन वर्षदेखि उनीहरु विभिन्न स्थान र समयमा अनशनमा  बस्दै आएका छन्। 

७ नुरप्रसादले कानुनलाई हातमा लिइ हामीलाई सार्वजनिक बेइज्जत गर्ने, सार्वजनिक मुद्धा दिने, अपहरणको प्रयास गर्ने, एसएमएसमार्फत् अर्बौँको फिरौती माग्ने, हत्या गर्ने ठाडो धम्की दिने, नांगो छुरी लिएर खोज्दै हिँड्ने र झुट्टा कागज बनाएर अन्तर्राष्ट्रियकरणको प्रयास गरिरहेका छन्। 

८. यसको पर्दापछाडि विभिन्न मानवअधिकारवादीको नामधारी संस्थाहरुले आफ्नो स्वार्थपूर्तिका लागि नुरप्रसादलाई उक्साइरहेको र द्वन्द्वकालीन घटनालाई उक्साएर पुनः द्वन्द्वमा धकेल्न उद्दत रहेका छन्। 

९ नुरप्रसादले भाइ कृष्णप्रसादको मृत्युको दुःखभन्दा पनि कमाउ धन्दा चलाउन घटनालाई उचालेर आफू खानदानी परिवारको सदस्य जस्तै तारे होटेलमा सुखसयलको जीवन बिताएको बाआमालाई कारुणिक रुपमा आमरण अनसनमा राखेर दुनियाँका आँखामा छारो हाल्ने काम गरिरहेका छन्। तर, आफ्नै नाबालक छोराको जन्मदर्ताको सिफारिस समेत गरेका छैनन्। उनकी श्रीमती अहिले विचल्ली अवस्थामा छिन्।        
 

अर्का आरोपित परशुराम पौडेल यसो भन्छन् 

चितवनको बकुलरमा कृष्ण प्रसाद अधिकारीको हत्या भएको हो। गोरखाको फुजेलबाट आफन्तहरुसँगै गएर नन्दप्रसाद अधिकारीले त्यहाँको प्रहरी चौकीमा ‘तीन जनाले हत्या गरेको म चिन्दिन’ भनेर बयान दिएपछि लास जलाइएको हो। नन्दप्रसाद अधिकारीको माइलो भाइको घास काट्ने क्रममा मृत्यु भयो। उनकी ‘विधवा’ श्रीमती सीता अधिकारी र नाबालक तीन छोरीलाई अंश दिने विषयमा मतान्तर भयो। गाउँ समाज बसेर सीतालाई अंश दिनुपर्छ भनेर निर्णय गर्यो। जसजसले अंश दिनुपर्छ भनेर आवाज उठाए, उनीहरुलाई प्रतिशोधको भावनाले नुरप्रसाद अधिकारी (नन्दप्रसादका जेठा छोरा, कृष्णप्रसादका दाइ)ले चितवन जिल्ला अदालतमा उजुरी दिए। 

जुन उजुरी छविलाल पौडेललगायत १३ जनाको नाममा थियो। सो उजुरीका आधारमा अहिलेसम्म दुःख दिने काम भएको छ। छविलाल पौडेल निर्दोष हुनुहुन्छ। नुरप्रसाद अधिकारीले चितवन प्रहरीमा दिएको किटानीका आधारमा प्रहरीले पक्राउ गर्यो। उहाँलाई जिल्ला अदालत चितवन धरौटीमा रिहा गर्यो। उहाँहरु पुनरावेदन अदालत हेटौँडा अदालतमा जानुभयो। त्यहाँ पनि सोही आदेशलाई सदर गर्यो। त्यसपछि उहाँहरु सार्वोच्च जानुभयो। सर्वोच्चले किटानी जाहेरी दिइएका १३ जना मध्ये छविलाल पौडेललाई थुनछेकको आदेश दियो। त्यसलाई सम्मान गर्दै उहाँ आफै अदालत जानुभएको हो। आफूलाई हाजिरी गराउनु भएको हो। उहाँले आत्मसमर्पण गर्नुभएको होइन। 

अदालतको आदेशपछि उहाँको पोस्टेडको अप्रेशन भयो। उहाँकी श्रीमतीको आगोमा जलेर अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भयो। त्यसपछि उहाँको आँखाको अप्रेसन भयो। उहाँले अदालतमा उपस्थित हुनुभन्दा अगाडि भन्नुभएको थियो- ‘म न्यायलाई सम्मान गर्ने मान्छे। मलाई अदालत जान देउ कि त म आत्महत्या गर्छु।‘ ‘छेक्छौँ भने आत्मदाह गर्छु’ भन्नुहुन्थ्यो। 

फुजेलमा आज पनि ठूलो संख्यामा कांग्रेसका मित्रहरु हुनुहुन्छ। कम्युनिष्टका मित्रहरु हुनुहुन्छ। उहाँलाई कसैले लखेटेको होइन। हामी उहाँलाई सम्मानका साथ घर फर्काउन चाहन्छौं। दुवै वडामा नेपाली कांग्रेसले जितेको छ। कम्युनिस्ट कांग्रेस मिलेर बसेको गाविस हो फुजेल। (नुरप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरीमा परशुराम पौडेलको समेत नाम छ।)
 



छविलाल पौडेल बचाउन राजधानीमा फुजेलबासी, भन्छन् : कृष्णप्रसाद अधिकारी हत्यामा छैनन् संलग्न को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट