PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रसिया विश्वकप २०१८ : यस्तो छ फ्रान्स र क्रोएसियाको फाइनल यात्रा



पहिलोपोस्ट

रसिया विश्वकप २०१८ : यस्तो छ फ्रान्स र क्रोएसियाको फाइनल यात्रा

विश्वकप खेल्न थालेयता दुई दशकपछि क्रोएसिया पहिलो पटक फाइनलमा पुग्दा रसिया विश्वकप २०१८ को फाइनल समिकरण पूरा भएको छ।

२१औँ संस्करणका विश्वकप ट्रफी उचाल्नका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र क्रोएसिया आगामी आइतवार लुजनिकी स्टेडियममा भिड्नेछन्।

८ वर्षपछि विश्वकपमा नयाँ टिम फाइनल प्रवेश गरेको हो। सन् २०१० मा स्पेन पहिलो पटक फाइनल पुग्दै विश्वकप जित्न सफल भएको थियो।

फ्रान्स र क्रोएसिया दुवै अपराजित रहँदै विश्वकपको फाइनल पुगेका हुन्। फाइनल यात्रामा दुवैले दुई-दुई पूर्व च्याम्पियनलाई पराजित गरिसकेका छन्। फ्रान्सले प्रिक्वाटरफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना तथा क्वाटरफाइनलमा पनि दुई पटककै च्याम्पियन उरुग्वेलाई हराएको थियो।

यस्तै क्रोएसियाले समूह चरणमै अर्जेन्टिनालाई पराजित गरेको थियो भने सेमिफाइनलमा सन् १९६६ को विजेता इंग्ल्याण्डलाई पराजित गर्‍यो। क्रोएसियाले पहिलो पटक फाइनल पुग्ने क्रममा नकआउट चरणको दुई खेल पेनाल्टीसुटआउटमा जितेको थियो। सन् १९९८ मा पहिलो सहभागितामै सेमिफाइनल पुगेको क्रोएसियाले २० वर्षपछि उक्त सफलता भन्दा अझ राम्रो प्रदर्शन गर्‍यो। क्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको क्रोएसिया सेमिफाइनलमा घरेलु टोली फ्रान्सँगै अग्रता लिएर पनि पराजित भएको थियो र अन्त्यमा फ्रान्स नै च्याम्पियन बन्यो।

२० वर्षपछि क्रोएसियाको लागि फ्रान्स विरुद्ध बदला लिने अवसर समेत मिलेको छ।

३२ वर्षीय मिडफिल्डर लुका मोडरिचको प्रेरणादायी प्रदर्शनमा क्रोएसियाले यसपटक फुटबल पण्डितहरुलाई नै गलत सावित गर्दै फाइनल यात्रा तय गरेको छ। फ्रान्स भने स्वभाविक उपाधि दाबेदारको रुपमा रहेको थियो। अब उपाधि जित्नबाट दुवै टोली एक जित टाढा छन् तर एक टिमले मात्र जुलाई १५ मा लुजनिकी स्टेडियममा विश्वकपको सुनौलो ट्रफी उचाल्ने मौका पाउनेछ।

फाइनलसम्म पुग्दा क्रोएसियाका ८ फरक खेलाडीले गोल गरिसकेका छन्। कप्तान मोडरिचसहित इभान पेरिसिक र मारियो मान्डुकिचले २-२ तथा मिलान बाडेज, इभान राकिटिच, आन्द्रे क्रमारिक, एन्टे रेबिच र डोमागोज भिदाले समान १ गोल गरेका छन्।

उता फ्रान्सका लागि ५ खेलाडीले मात्र गोल गरेका छन्र एन्टोनी ग्रीजमन र किलिएन एम्बाप्पेले ३-३ तथा सामुएल उम्टीटी, बेन्जामिन पाभार्ड र राफेल भरानले समान १ गोल गरेका छन्।

फ्रान्सले सेमिफाइनलसम्म १० गोल गर्दा क्रोएसियाले १२ गोल गरेको छ।

 

यस्तो छ दुवै टोलीको फाइनल यात्रा

 

फ्रान्स

समूह चरण

फ्रान्स २-१ अष्ट्रेलिया

फ्रान्स १-० पेरु

फ्रान्स ०-० डेनमार्क

 

प्रिक्वाटरफाइनल

फ्रान्स ४-३ अर्जेन्टिना

क्वाटरफाइनल

फ्रान्स २-० उरुग्वे

सेमिफाइनल

फ्रान्स १-० बेल्जियम

 

 

क्रोएसिया

समूह चरण

क्रोएसिया २-० नाइजेरिया

क्रोएसिया ३-० अर्जेन्टिना

क्रोएसिया २-१ आइसल्याण्ड

 

प्रिक्वाटरफाइनल

क्रोएसिया ३-२ डेनमार्क (पेनाल्टीसुटआउट) निर्धारित समय १-१

क्वाटरफाइनल

क्रोएसिया ४-३ रसिया (पेनाल्टीसुटआउट) निर्धारित समय २-२

सेमिफाइनल

क्रोएसिया २-१ इंग्ल्याण्ड

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell