PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरियामा नेपाली तेक्वान्दो टोलीलाई चार पदक



पहिलोपोस्ट

कोरियामा नेपाली तेक्वान्दो टोलीलाई चार पदक

काठमाडौं : १८औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा ४ पदक प्राप्त गरेका छन्।

२ महिनादेखि कोरियामा विशेष प्रशिक्षणमा रहेका राष्ट्रिय तेक्वान्दो टोलीले कोरियाको पोहाङमा भएको वर्ल्ड युनिभर्सिटी खुला तेक्वान्दो प्रतियोगितामा नेपाली टोलीले फाइटतर्फ २ रजत र २ कास्य पदक प्राप्त गरेको नेपाल तेक्वान्दो संघका प्रवक्ता दीपक बिष्टले जानकारी दिए।

टोलीका प्रशिक्षकसमेत रहेका विष्टले एक्सपोजरका लागि च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको जानकारी दिए।

च्याम्पियनसिपको ८७ केजीमुनि अनुज पुजारीले कडा चुनौती प्रस्तुत गरे पनि रजत पदकमै चित्त बुझाए। फाइनलमा उनी श्रीलंकन खेलाडीसँग ११–१० ले स्तब्ध भएपछि स्वर्णबाट चुके।

महिलातर्फ ४९ केजीमुनि अस्मीता खड्का पनि रजत पदकमै सीमित भइन्। पहिलो खेल बाइ पाएकी अस्मीताले दोस्रो खेलमा कोरियाकी खेलाडीले २०–१८ हराउँदै फाइनलमा स्थान बनाएका थिइन्। तर, फाइनलमा भने उनी इन्डोनेसियाका खेलाडीसँग २२–१० ले स्तब्ध भइन्।

पुरुषको ६३ केजी तौलमा सागर गुभाजु सेमिफाइनलमा मलेसियन खेलाडीसँग २५–११ ले स्तब्ध भएपछि कांस्य पदकमै सीमित भए। पुरुषकै ७४ केजी तौल समूहमुनी ज्ञानेन्द्र हमाल श्रीलंकाका खेलाडीलाई १२–८ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए। यद्यपि, उनी सेमिफाइनलमा कोरियाका खेलाडीसँग २५–१२ ले पराजित भएपछि कांस्य पदकै रोकिए।

नेपालका बाँकी ६ खेलाडीले बिहीवार च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपमा ५ टिम सम्मिलित ग्रुप फाइटमासमेत नेपालले प्रतिस्पर्धा गर्नेछ।

त्यसलगत्तै नेपालले आगामी हप्ता जेजु कोरिया ओपनमा प्रतिस्पर्धा गर्नेछ। नेपाली तेक्वान्दो टोली हाल ओलम्पियनद्वय संगिना बैद्य र दीपक विष्टको प्रशिक्षणमा कोरियामा रहेका छन्। नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell