PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यसरी एकीकरण हुँदैछन् ने क पाका तल्ला कमिटी



यसरी एकीकरण हुँदैछन् ने क पाका तल्ला कमिटी

काठमाडौं : नेपाल कम्युस्टि पार्टी (ने क पा)ले पार्टीका तल्ला कमिटीलाई एकीकरण गर्न आधार तयार पारेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टीको विधान अन्तर्गत रहेर पारित गरेको नियमावलीले तल्लो तहका कमिटीहरुको एकताको आधार तयार पारेको हो। 

तल्लो तहका कमिटीको एकता भागबन्डाका आधारमा अगाडि बढाउने तयारी भएको छ। तल्लो तहका कमिटी गठन गर्दा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पदाधिकारीको भागबण्डा हुने गरी सहमति जुटेको छ। 

तल्ला तहमा अध्यक्ष र सचिव रहने गरी एकता हुने छ। जस अन्तर्गत तत्कालीन एमालेले अध्यक्ष पाउने कमिटीमा सचिव तत्कालीन माओवादी केन्द्रले पाउने छन्। तत्कालीन माओवादीका तर्फबाट अध्यक्ष रहने कमिटिमा सचिव तत्कालीन एमालेको भागमा पर्ने छ। 

त्यस्तै जनवर्गीय संगठनहरुको एकतासमेत यही आधारमा हुने तय भएको छ। ने क पाले जनसंगठन तथा प्रदेश कमिटिको गठनका लागि छुट्टाछुट्टै कार्यदल बनाएर छलफल अगाडि बढाइरहेको छ। ती कार्यदललाई यस नियमावलीले सहज बनाउने छ।
 
संगठन तथा तल्ला कमिटीको एकीकरणका लागि नियमावलीमा यसरी गठन भएका कार्यदलको सुझावलाई समेत आधार बनाइने उल्लेख छ। 

ने क पाको प्रदेश कमिटीमा संयोजक र सचिवको व्यवस्था गरिएको छ। जसअन्तर्गत यसमा समेत भागबन्डा हुने छ।
 
प्रदेश, जिल्लाका अध्यक्ष, सचिव र सदस्यहरू तथा कुल कमिटीको एक तिहाइ सचिवालय गठन हुने छन्। 

एक व्यक्ति एक कार्यकारी पद


यसैबीच ने क पाले तल्ला तहका कमिटीमा एक व्यक्ति एक कार्यकारी पदको व्यवस्था समेत गरेको छ। कुनै एक कार्यकारी पदमा रहेका नेताले अर्को किमिटीको कार्यकारी पदमा बस्न पाउने छैनन्। त्यस्तै मन्त्री तथा अन्य राजकीय तथा सरकारी पदमा रहेको नेताहरुसमेत पार्टी कमिटिको कार्यकारी पदमा बस्न पाउने छैनन्। 

ने क पाको प्रदेश कमिटी १ सय ५१ सदस्यीय, जिल्ला कमिटी ७५ देखि १ सय २५ सदस्यीय हुने छन्। तर एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा निर्वाचन क्षेत्र अनुसार सदस्य थपिँदै जाने उल्लेख छ। 

त्यस्तै ७५ सदस्यीय महानगर कमिटी, ६१ सदस्यीय उपमहानगर कमिटी ५१ सदस्यी नगरकमिटी तथा ५१ सदस्यीय गाँउपालिका कमिटी गठन हुने छन्। ने क पाको वडा कमिटी २५ सदस्यीय हुने छ। त्यस्तै १५ सदस्यीय प्रारम्भिक कमिटी समेत बन्नेछ। प्रारम्भिक कमिटी ने क पाको सबै भन्दा तल्लो इकाइ हुनेछ। 

सदस्य थप गर्न दबाब


यसैबीच ने क पाले तल्ला कमिटी गठनका लागि बनाइएका कार्यदलमा सदस्यको संख्या थप गर्न दबाब परिरहेको छ। तल्ला कमिटी गठन गर्न सदस्यहरुको व्यवस्थापनका लागि कार्यदलमा तल्ला तहका नेता कार्यकर्ताहरुले सदस्यको संख्या बढाउन दबाब दिइरहेका छन्। यही दबाबका कारण तल्ला कमिटीको एकताले गति लिन सकेको छैन। 

तल्ला कमिटीको एकताका लागि कार्ययोजना बन्दै


बुधबार बसेको ने क पाको सचिवालयको बैठकले पार्टीका तल्ला कमिटी र जनसंगठनको एकताका लागि कार्ययोजना बनाउने निर्णय गरेको छ। पार्टीको विधान र नियमावलीमा आधारित भइ सांगठनिक एकीकरणका लागि कार्ययोजना तयार गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। 

‘तल्ला कमिटी तथा जनसंगठनको एकतालाई तिब्रता दिने निर्णय भएको छ,’ उनले भने, ‘त्यसका लागि आवधिक कार्ययोजना तयार हुनेछ। कार्ययोजना बनाउनका लागि अर्को सचिवालय बैठक बोलाउने निर्णय भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell