PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्लेअर्स टु वाच : ग्रीजमन vs लुकाकु, कसले गर्ला आज गोल?



पहिलोपोस्ट

प्लेअर्स टु वाच : ग्रीजमन vs लुकाकु, कसले गर्ला आज गोल?

विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा आज राती ११:४५ बजे फ्रान्स र बेल्जियम भिड्दैछन्। सन् १९९८ को विश्वविजेता फ्रान्स र यसपटक उपाधि जित्ने अन्डरडग टोलीका रुपमा रहेको बेल्जियमबिचको खेल धेरै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

उत्कृष्ट खेलाडी र फर्ममा रहेका यी दुर्इ टोलीका एन्टोनी ग्रिजमन र रोमेलु लुकाकुमाथि फुटबल समर्थकहरुको नजर रहनेछ।

 

एन्टोनी ग्रिजमन, फ्रान्स

२७ वर्षे एन्टोनी ग्रिजमनले रसियामा आफ्नो टोलीलार्इ सेमिफाइनलसम्म पुर्‍याउने क्रममा तीन गोल गरिसकेका छन्। क्वाटरफाइनलमा उरुग्वेविरुद्ध ६१औँ मिनेटमा गोल गर्दै ग्रिजमनले फ्रान्सलार्इ २-० ले विजयो बनाएका थिए। २०२० देखि फ्रान्सको युवा टोलीबाट खेल्न शुरु गरेका ग्रिजमन २०१४ बाट सिनियर टोलीबाट खेल्न थालेका हुन्। उनले फ्रान्सबाट ५९ खेल खेल्दै २३ गोल गरिसकेका छन्। हाल एट्लेटिको मड्रिडबाट फुटबल खेल्दै आएका ग्रिजमनले क्लब करियरमा भने १६४ गोल गरिसकेका छन्।

२०१४ विश्वकपमा क्वाटरफाइनलबाटै बाहिरिएको फ्रान्स यस पटक दोस्रो पटक उपाधी जित्ने होडमा छ। रसियामा उत्कृष्ट प्रदर्शन गर्दै आएका ग्रिजमनप्रति भने धेरै फ्रान्सेली समर्थकहरु आशावादी रहेका छन्। विश्वकै उत्कृष्ट फरवार्ड रहेका ग्रिजमनसामु पहिलोपटक फाइनलमा पुग्ने आशाका साथ रसियामा प्रभावशाली प्रदर्शन गरेको बेल्जियम रहेको छ। अर्जेन्टिना र उरुग्वे जस्तो राष्ट्रलार्इ पराजित गर्दै आएको फ्रान्स उच्च मनोबलका साथ आज बेल्जियमलार्इ पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदा एन्टोनी ग्रिजमनमाथि धेरैको नजर रहनेछ। आजको खेलमा एन्टोनी ग्रिजमनले गोल गरी फाइनलमा पुगेको अवस्थामा उनले गोल्डेन बुटका लागि केन र लुकाकुलार्इ टक्कर दिने सम्भावना रहने छ।

 

रोमेलु लुकाकु, बेल्जियम

रसिया विश्वकपको उपाधी दाबेदार मानिएको बेल्जियमले आज मैदानमा १९९८ विश्वकप उपाधी जितिसकेको फ्रान्सको सामना गर्दैछ। बेल्जियमका रोमेलु लुकाकुले पानामा र ट्युनिसियाविरुद्धको खेलमा दुई-दुई गोल गरि टोलीलाई अन्तिम १६ मा पुर्‍याउन प्रमुख भूमिका निभाएका थिए। यससँगै उनले बेल्जियमबाट ७२ खेल्दै ४० गोल पुरा गरेका थिए। फ्रान्ससँगको खेलमा पनि उनीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। आजको खेलमा फ्रान्सलार्इ पराजित गरेको खण्डमा बेल्जियम पहिलोपटक फाइनल प्रवेश गर्ने होडमा रहेको छ। त्यसैले पनि लुकाकु यो अवसर खेर फाल्न चाहदैनन्।

रसिया विश्वकपमा सर्वाधिक ६ गोल गरेका ह्यारी केनपछि ४ गोल सहित रोमेलु लुकाकु गोल्डेन बुटको प्रतिस्पर्धा पनि रहेका छन्। त्यसैले पनि उनीमाथि आज धेरैको नजर रहनेछ। २३ वर्ष हुनुअघि प्रिमियर लिगमा ५० भन्दा बढी गोल गर्ने उनी ५ खेलाडीमध्ये एक हुन्। २५ वर्षीय लुकाकु म्यानचेस्टर युनाइटेडका प्रभावशाली स्ट्राइकर हुन्। एभर्टन, म्यान युनाइटेड लगायत विभिन्न क्लबहरुमा खेलेर उनले हालसम्म १७२ गोल गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell