PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कसले जित्ला विश्वकप २०१८ को गोल्डेन बुट?



पहिलोपोस्ट

कसले जित्ला विश्वकप २०१८ को गोल्डेन बुट?

फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलार्इ गोल्डेन बुट प्रदान गरिन्छ। यदि खेलाडीहरु बीच गोलहरु बराबरी भएमा त्यसको छिनोफानो उनीहरुले गरेको एसिस्ट र त्यसपछि उनीहरुले मैदानका खेलेको समयका आधारमा गरिन्छ।

गोल्डेन बुटलार्इ सन् २००६ सम्म गोल्डेन सु भनिन्थ्यो। स्पेनमा सन् १९८२ मा भएको विश्वकपबाट मात्रै गोल्डेन सु दिन थालिएको हो। इटालीका पाउलो रोसी गोल्डेन सु जित्ने पहिलो खेलाडी हुन्। उनले सो प्रतियोगितामा ६ गोल गरेका थिए। यस्तै प्रतियोगितामा दोस्रो र तेस्रो सर्वाधिक गोल गर्ने खेलाडीलार्इ सिल्भर र ब्रोन्ज बुट दिने गरिन्छ।

विश्वकपको एउटै प्रतियोगितामा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी हुन् फ्रान्सका जस्ट फन्टेन। स्विडेनमा सन् १९५८ मा भएको विश्वकपमा उनले १३ गोल गरेका थिए। तर त्यो बेला गोल्डेन बुट दिने चलन थिएन।

सन् १९८२ बाट गोल्डेन सु दिन थालिए देखि हालसम्म १० जना खेलाडीले सो उपाधी जितिसकेको छ। १९९४ मा अमेरिका भएको विश्वकपमा भने दुर्इ खेलाडीलार्इ गोल्डेन सु दिइएको थियो। सोभियत रसियाका ओलेग सलोन्को र बुलगेरियाका ह्रिस्टो स्टोइचकोभले समान ६ गोल गरी गोल्डेन सु पाएका थिए।

यो उपाधी दिन थालिएदेखि ब्राजिलका रोनाल्डोले मात्र सन् २००२ मा सर्वाधिक ८ गोल गरेका छन्। बाँकी खेलाडीहरुले ६ गोल भन्दा माथि हान्न सकेका छैनन्। ६ गोल गरी गोल्डेन सु पाउनेहरुमा १९८६ मा इंग्ल्याण्डका ग्यारी लिनेकर, १९९० मा इटलीका साल्भाटोर सिलाची, १९९८ मा क्रोएसियाका डेभोर सुकोर रहेका छन्। २००६ मा जर्मनीका मिरोस्लाभ क्लोजले ५ गोल मात्र गरेपनि गोल्डेन सु पाएका थिए।

२०१० को गोल्डेन बुट भने जर्मनीका थोमस मुलरले पाएका थिए। उनले प्रतियोगितामा सर्वाधिक ५ गोल गरेका थिए। स्पेनका डेभिड भिया, उरुग्वेका डिएगो फोर्लान र नेदरल्याण्ड्सका वेस्ले इस्नाइडरले पनि समान ५ गोल गरेका थिए तर मुलरले धेरै (३) असिस्ट गरेका कारण गोल्डेन बुट पाएका हुन्। यस्तै २०१४ विश्वकपमा ६ गोल गरेका कोलम्बियाबा जेम्स रोड्रिगेजले गोल्डेन बुट पाएका थिए।

रसियामा जारी विश्वकपमा इंग्ल्यान्डका ह्यारी केन ६ गोल गरी गोल्डेन बुटका प्रमुख दाबेदारका रुपमा रहेका छन्। आगामी खेलहरुमा गोल गर्न सके उनले रोनाल्डोको रेकर्ड सम्म पुग्न वा त्यसलार्इ तोड्दै नयाँ इतिहास बनाउन सक्छन्। पानामाविरुद्ध ह्याट्रिक गरेका केनले ट्युनिसिया विरुद्ध दुर्इ र कोलम्बियाविरुद्ध एक गोल गरेका थिए। उनले मैदानमा ३६६ मिनेट खेलेका छन् तर कुनै एसिस्ट गरेका छैनन्।

गोल्डेन बुटको दाबेदारका रुपमा केनलार्इ अझै टक्कर दिन सक्ने खेलाडी हुन् बेल्जियमका रोमलु लुकाकु। पानामा र ट्युनिसियनविरुद्ध दुर्इ-दुर्इ गरेका लुकाकुले मैदानमा ३२९ मिनेट खेलेका छन्। यस्तै विश्वकपबाट बाहिरिसकेका क्रिस्टियानो रोनाल्डो र आयोजक रसियाका मिडफिल्डर डेनिस चेरिसेभले पनि यो विश्वकपमा ४ गोल गरेका छन्। तर पोर्चुगल र रसिया यस विश्वकपबाट बाहिरिसकेको कारण उनीहरु गोल्डेन बुट पाउने रेसबाट भने बाहिरिसकेका छन्। तर सिल्भर र ब्राउन्ज सुका लागि भने उनी दाबेदार रहेका छन्।

३ गोलसहित हाल विश्वकपमा बांकी रहेका फ्रान्स र क्रोएसियाका खेलाडीहरुले आउने खेलहरुमा गोल गरे उनीहरुले केन वा लुकाकुसँग प्रतिस्पर्धा गर्न सक्छन्। फ्रान्सका एन्टोनी ग्रिजम्यानले ३९५ मिनेट खेल्दै ३ गोल र एक एसिस्ट गरेका छन्। यस्तै फ्रान्सकै किलियन एम्बापेले पनि ३५८ मिनेट खेल्दै ३ गोल गरेका छन्।

रसिया विश्वकपमा ६० खेल सकिँदासम्म १५७ गोल भइसकेका छन्। सन् १९९८ र २०१४ विश्वकपमा हालसम्मै कै सर्वाधिक १७२ गोल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell