PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

महाधिवेशनको संघारमा नेविसंघमा विज्ञप्ति जुहारी, अध्यक्ष नै महाधिवेशन भाँड्न लागेको आरोप



महाधिवेशनको संघारमा नेविसंघमा विज्ञप्ति जुहारी, अध्यक्ष नै महाधिवेशन भाँड्न लागेको आरोप

काठमाडौं: नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औँ महाधिवेशनको मिति आगामी साउन २३ का लागि तोकिएको छ। महाधिवेशनको मुखैमा अध्यक्ष नैनसिंह महरले नीलकण्ठ रिजाल र कृष्णकुमारी बस्नेतलाई उपाध्यक्षमा मनोनीत गरेपछि असन्तुष्ट पक्षले यसको विरोध गरेको छ।

वैशाख २७ मा दुबैलाई उपाध्यक्षमा मनोनित गरेको पत्रमा उल्लेख गरिए पनि हालैमात्र सामाजिक सञ्जालबाट यसबारे जानकारी दिइएको असन्तुष्ट पक्षको आरोप छ। यसैको विरोधमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै उपाध्यक्ष प्रकाश रानाले अध्यक्ष महरको विरोध गर्दै आएको छ। रानाको समूहमा महामन्त्री कुन्दनराज काफ्लेलगायत रहेका छन्।  

यसैगरी अध्यक्षको कदमको विरोधमा ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बनेका मनोजमणि आचार्य, महामन्त्रीका प्रत्यासीद्वय दीपक भट्टराई र हिमालदत्त श्रेष्ठले सोमबारमात्र विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा संगठन व्यक्तिले नभई विधिले चल्नुपर्ने जिकिर गरिएको छ। तीनैजना पौडेल पक्षबाट महाधिवेशनमा उत्रिएका थिए।

सोही दिन नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले विज्ञप्ति जारी गर्दै आवश्यक व्यक्ति विधानअनुसार आमन्त्रित सदस्यका रुपमा बोलाउन सक्ने जनाएको छ। विज्ञप्तिमा महाधिवेशनका लागि आवश्यक कार्ययोजना यथाशिघ्र बढाइने बताइएको छ।

त्यसको ठीक एकदिन अघि आइतबार चार उपाध्यक्षहरु खड्ग डाँगी, उर्मिला थपलिया, सागर परियार नीलकण्ठ रिजालले विज्ञप्ति जारी गर्दै नेतृत्वको शैलीको विरोध गरेको थियो। 

नेविसंघले महाधिवेशनसम्बन्धी मिति गत असोज ३१ गते आयोजित रणनीतिक प्रशिक्षण राष्ट्रिय भेलाको बन्द सत्रले नै तय गरिसकेको उल्लेख गर्दै नेविसंघ कार्यालयका मुख्य सचिव डिल्लीराज हमालले परिपत्र जारी गरेको थियो। 

परिपत्रमा वैशाख २५ भित्र महाधिवेशन तयारीका लागि सबै क्याम्पस र जिल्ला समितिहरूलाई अधिवेशन सम्पन्न गराउनसमेत निर्देशन दिएको थियो। तर, अहिलेसम्म तयारीको सुरसार छैन क्याम्पस र जिल्ला समितिहरुमा।

उपाध्यक्ष राना र महामन्त्री काफ्लेसहितको टोलीले तोकिएकै समयमा हुनुपर्ने अडान राख्दै आएका छन्। असन्तुष्ट पक्षले भने विधानले तोकिएको समयमा अध्यक्षले अहिलेसम्म विधान विपरीत गरेका मनोनीत खारेज गर्नुपर्ने माग राखेको छ।

वैशाख २० गते वाल्मिकी क्याम्पसमा उपाध्यक्ष रानाको अध्यक्षतामा बसेको बैठकले अध्यक्षको विधान विपरीत निर्णय फिर्ता नगरेसम्म कुनै किसिमको सहमति नगर्ने अडान राखेको केन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।

महाधिवेशन नजिकै आइरहेको बेला भाँड्ने कार्यमा अध्यक्ष नै उत्तेजित भएर लागेको नेविसंघका अर्का केन्द्रीय सदस्य तेज बाँनियाले आरोप लगाए। बाँनियाले भने, 'गत भदौ २७ गते केन्द्रीय सदस्यहरुको बैठक बसेर ११ ‌औं महाधिवेशनको निर्देशन समितिको निर्देशनबमोजिम हिँड्नुपर्ने सुझाव दिएको थियो। तर, नेतृत्व निर्देशन विपरीत हिँडेको नेतृत्व छ। अध्यक्ष नै महाधिवेशन भाँड्न उत्तेजित भएर लागेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell