PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाँचौँ पटक विश्वकपमा हुँदैछ ‘अल युरोपियन’ सेमिफाइनल



पहिलोपोस्ट

पाँचौँ पटक विश्वकपमा हुँदैछ ‘अल युरोपियन’ सेमिफाइनल

फिफा विश्वकप २०१८ को सेमिफाइनलमा पुगेका चारवटै टोली युरोपका छन्। रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप युरोपियन राष्ट्रले जित्ने पक्का छ। लगातार चौथो पटक विश्वकपले युरोपबाट च्याम्पियन पाउने पक्का छ

सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा इंग्ल्याण्ड र क्रोएसियाबीच खेल हुनेछ। यसअघि नै एक-एक पटक च्याम्पियन भएका फ्रान्स र इंग्ल्याण्ड दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छन् भने बेल्जियम र क्रोएसिया पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा हुनेछन्।

प्रत्येक चार-चार वर्षमा आयोजना हुने विश्वकपमा अल युरोपियन सेमिफाइनल हुन लागेको यो पहिलो पटक भने होइन।

पछिल्लो पटक सन् २००६ मा विश्वकपको सेमिफाइनल पुग्ने चारवटै टिम युरोपका थिए। जर्मनीमा भएको उक्त विश्वकपमा इटली, फ्रान्स, जर्मनी र पोर्चुगल सेमिफाइनल पुगेका थिए।

विश्वकपमा पहिलो पटक सन् १९३४ को दोस्रो विश्वकपमा चारवटै युरोपियन टिम सेमिफाइनल पुगेका थिए। यस्तै सन् १९६६ र १९८२ मा पनि ‘अल युरोपियन’ सेमिफाइनल भएको थियो।

१९३४ मा इटली, १९६६ मा इंग्ल्याण्ड तथा १९८२ मा इटली च्याम्पियन भएको थियो।

यस पटक सेमिफाइनल पुगेका टोलीहरुको अनौठो संयोग छ। सबै टोली एक दशकभन्दा पछि सेमिफाइनल पुगेका हुन्। बेल्जियम ३ दशकपछि सेमिफाइनल पुगेको हो भने इंग्ल्याण्ड र क्रोएसिया दुई दशकपछि तथा फ्रान्स एक दशकपछि अन्तिम चारमा पुगेको हो।

फ्रान्स १२ वर्षपछि, बेल्जियम ३२ वर्षपछि, इंग्ल्याण्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन्।

रसियामा मंगलबार पहिलो सेमिफाइल खेल्दा फ्रान्स र बेल्जियमबीच ७४औँ खेल हुनेछ। अहिलेसम्म बेल्जियमले ३० तथा फ्रान्सले २४ खेल जित्दा १९ खेल बराबरीमा टुङ्गिएको छ। विश्वकपमा भएको दुई भेटमा भने फ्रान्सले बेल्जियमलाई पराजित गरेको छ।

बेल्जियम यस विश्वकपमा सबै ५ खेल जित्ने एक मात्र टोली हो। यस्तै उसले प्रतियोगितामा सर्वाधिक १४ गोल गरिसकेको छ।

क्रोएसिया सन १९९० मा अर्जेन्टिनापछि विश्वकपमा लगातार दुई पेनाल्टी सुटआउट जित्ने पहिलो टिम बनेको छ। उसले अन्तिम १६ मा डेनमार्क तथा क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।

सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्याण्ड तेस्रो पटक सेमिफाइनल पुगेको हो र तीनै पटक उसले युरोपमा सेमिफाइनल खेल्दैछ। १९६६ मा घरेलु मैदानमा च्याम्पियन बनेको इंग्लयाण्डले १९९० मा इटलीमा सेमिफाइनल खेलेको थियो।

रसियामा विश्वकपमा सेमिफाइनल खेल्ने मध्ये इंग्ल्याण्डका कप्ता ह्यारी केन सर्वाधिक ६ गोलका साथ गोल्डेन बुटको होडमा सबैभन्दा अगाडी छन्। यस्तै बेल्जियमका रोमेलु लुकाकुले ४ गोल गरेका छन् भने फ्रान्सका एन्टोनी ग्रीजमन र किलिएन एमबाप्पेले ३ तथा क्रोएसिया लुका मोडरिकले २ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell