PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राजपामा नेता व्यवस्थापन विवाद : राजनीतिक समिति निष्कर्षविहीन 



बीपी साह

राजपामा नेता व्यवस्थापन विवाद : राजनीतिक समिति निष्कर्षविहीन 

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा नेता व्यवस्थापनको विवादका कारण पार्टीले कुनै पनि निर्णय गर्न सकेन। तीन दिनसम्म चलेको राजनीतिक समिति र आइतबारको अध्यक्ष मण्डलको बैठकले पार्टीको विधान र महाधिवेशनका विषयमा ठोस निर्णय गरेको छैन।

पार्टीको विधान संशोधन गरी नेतृत्वको मोडल, महाधिवेशन र संसदीय दलको नेता चयनका विषयमा निर्णय गर्न राजनीतिक समितिको बैठक बोलाइएको थियो। तर राजनीतिक समितिमा अध्यक्ष मण्डलकै नेताहरुबीच नै विवाद भएपछि निर्णय हुन सकेन।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले अहिलेको पार्टीको केन्द्रीय समितिलाई महाधिवेशन प्रतिनिधि बनाउन माग गरेपछि पार्टीको विधान संशोधन पारित हुन सकेन। अन्य नेताहरुले तल्लो तहबाटै महाधिवेशन प्रतिनिधि चयन हुनु पर्ने धारणा राखेका थिए।

राजपाका संयोजक महन्थ ठाकुर र अर्का सदस्य राजेन्द्र महतोबीच पनि विधानका विषयमा फरक फरक धारणा हुँदा पार्टीको विधान पारित हुन नसकेको राजनीतिक समितिका एक नेताले बताए।

राजनीतिक समितिले पुनः विधानमाथि सहमति जुटाउन अध्यक्ष मण्डललाई जिम्मेवारी दिएको छ। अध्यक्ष मण्डललाई विधान संशोधन समितिले पुनः सहयोग गर्नेछ।

विधान संशोधन समितिका सदस्य वृशेष चन्द्रलालका अनुसार अध्यक्ष मण्डल विघटनको विषयमा मोटामोटी सहमति भएको बताउँदै संस्थापक सबै नेताहरुलाई सम्मानजनक र प्रभावकारी भूमिका दिने किसिम व्यवस्थामा सहमति गरेको छ। 

उनले जम्बो केन्द्रीय समितिभन्दा पनि एक सय २१ सदस्यीय केन्द्रीय समिति राख्ने सहमति नजिक रहेको पनि बताए। लालका अनुसर पुनः विधानको एकीकृत मस्यौदा गरी राजनीतिक समितिको बैठक बोलाइनेछ।

संसदीय दलको नेता बारे अध्यक्ष मण्डलमै विमति

राजपाको संसदीय दलको नेता चयनका विषयमा अहिलेसम्म सहमति बन्न सकेन। राजनीतिक समितिको बैठकमा पनि संसदीय दलको नेता चयनका विषयमा निर्णय हुन सकेन जसको जिम्मेवारी पुनः अध्यक्ष मण्डललाई दिइएको छ।

आज बसेको अध्यक्ष मण्डलको बैठकमा पनि संसदीय दलको निर्वाचन गराउने विषयमा सहमति हुन सकेन। भोलिका लागि संसदीय दलको बैठक बोलाइए पनि एजेण्डाका रुपमा दलको नेता चयन गर्ने विषय राखिएको छैन। पार्टी संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोबीच संसदीय दलका नेताका विषयमा विवाद छ। 

तर ठाकुर पक्षका नेताहरुले भने भोलि सर्वसम्मतिबाट संसदीय दलको नेता चयन गर्न दबाब दिने तयारी गरेको छ।


सरकारलाई पुनः घच्घच्याउने

राजपा अध्यक्ष मण्डलले संविधान संशोधन र रेशम चौधरी प्रकरणका विषयमा पुनः प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्ने भएको छ।
संघीय समाजवादी फोरम सरकारमा गएपछि संविधान संशोधन हुने आशा गरेका राजपाका नेताहरुले संविधान संशोधनका विषयमा कुनै गृहकार्य नभएको भन्दै आफूहरुले नै दबाब दिनु पर्ने अवस्था सिर्जना भएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए।
सरकारलाई दबाब दिन पुनः प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने यादवले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell