PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

रसियालाई घरमै निराश पार्ने क्रोएसियन गोलकिपरबारे १२ तथ्य



रसियालाई घरमै निराश पार्ने क्रोएसियन गोलकिपरबारे १२ तथ्य

सेमिफाइनलमा पुग्नका लागि शनिबार भएको खेलमा अग्रता रसियाले लिएको थियो। तर आठ मिनेटमै क्रोएसियाले त्यसलाई तोडी बराबरी गर्यो । एक्स्ट्रा टाइमको पहिलो हाफमा क्रोएसियाले अग्रता लियो। तर खेल सकिन पाँच मिनेट बाँकी छँदा रसियाले बराबरी गोल फर्काई खेल पेनाल्टी सुटआउटमा धकेल्यो। 

रसिया र क्रोएसिया अन्तिम १६ मा पेनाल्टीबाटै छानिएर आएका थिए। होमग्राउन्डका कारण रसियालाई फाइदा हुने अनुमान गरिएको थियो। 
पहिलो पेनाल्टीक रसियाले नै प्रहार गर्ने भयो। ९० मिनेटको खेल सकिनु अघि नै घाइते भएका क्रोएसियाका गोलकिपर डानियल सुभसिच पेनाल्टी सामना गर्न तयार भए। 

पहिलो प्रहार गर्न आएर रसियाका स्मोलोभ। पहिलो प्रहार नै रोकेर उनले आयोजक रसियाका खेलाडीहरुलाई दबाबमा राखे। तेस्रो पेनाल्टी प्रहार गर्न आएका फर्नान्डेजले पनि बल पोस्ट बाहिर प्रहार गरे। पेनाल्टीमा क्रोएसिया ४-३ ले विजयी भयो।

एउटै विश्वकपमा दुई वटा पेनाल्टी सुटआउटमा विजयी हुने सन् १९९० मा अर्जेन्टिनापछि क्रोएसिया पहिलो टिम बन्यो। 

क्रोएसियाली विजयका नायक सुभसिचबारे १२ तथ्य

•    ३३ वर्षीय सुभसिच ६ फिट ३ इञ्च अग्ला छन्। 

•    उनी हाल मोनाकोका लागि व्यवसायिक फुटबल खेल्छन्। 

•    उनको व्यवसायिक करिअरको सुरुवात सन् २००३-०४ को सिजनमा जदार क्लबबाट भएको हो। 

•    सन् २००८ मा उनलाई हाज्दुक स्प्लिटमा लोनमा पठाइयो। यही क्लबमा हुँदा उनको क्लबले क्रोएसियन कप जित्यो। 

•    सन् २०१२ को जनवरीदेखि उनी मोनाकोमा आवद्ध छन्। गोलकिपरले गोल विरलै गर्ने गर्छन्। तर सन् २०११-१२ को सिजनमा बोउलोग्नेसित २-१ को विजयमा उनैले फ्रिकिकबाट विजयी गोल गरेका थिए।


•    २०१४-१५ को सिजनमा ८४२ मिनेटसम्म गोल नखाई क्लिनसिट राख्न उनी सफल भएका थिए। 

•    सन् २०१६-१७ को सिजनमा उनी लिग १ को गोलकिपर अफ दि इयर भएका थिए।

•    सन् २००६ मा डेनमार्कसितको मैत्रिपूर्ण खेलबाट उनले अन्तर्राष्ट्रिय खेल सुरु गरेका हुन्। 

•    स्टाइप प्लेटिकोसाको सन्यासपछि सन् २०१४ देखि उनी क्रोएसियाको पहिलो रोजाइको गोलकिपर रहँदै आएका छन्। 

•    जारी विश्वकपको डेनमार्कसितको अन्तिम १६ को खेलमा उनले तीन वटा पेनाल्टी रोकेका थिए। 

•    विश्वकपको इतिहासमा चार वा त्योभन्दा बढी पेनाल्टी रोक्ने तेस्रो गोलकिपर उनी बनेका छन्। 

•    उनले आफ्नो जर्सीको मुनि आफ्ना साथी कुस्टिकको फोटो अङ्कित लुगा लगाउने गर्छन् जसको मृत्यु सन् २००८ मा दुर्घटनामा भएको थियो। डेनमार्कसितको खेलपछि उनले जर्सी फुकालेर फोटो देखाएका थिए। तर फिफाले त्यसो गरेकोमा उनलाई चेतावनी दिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell