PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'फुड लभर' गरिष्माको टोस्टम्यान यात्रा : औला चलाउँदै गर्नुस् २३ सय रेस्टुँराको सफर



भावना शर्मा

'फुड लभर' गरिष्माको टोस्टम्यान यात्रा : औला चलाउँदै गर्नुस् २३ सय रेस्टुँराको सफर

वर्षदिन अघिको कुरा उनी अर्थात् गरिष्मा अग्रवाल परिवारसँग एकान्तकुनाको इटालियन रेष्टुरेन्ट ‘पियानो बि’मा खाना खान पुगिन्। भर्खर भर्खर बिहे गरेर नेपाल भित्रिएकी उनकालागि नेपाली रहनसहन र परिवेश नौलो नै थियो। त्यसमाथि नयाँ बुहारीले परिवारसँग घुलमिल हुनका लागि सबैजना सँगै बसेर खानुजत्तिको रमाइलो अरु नहुने उनले ठहर गरिन्।

आइतबारको दिन सबै रमाइलो गर्न ‘पियानो बि’ पुगे। गेटमा पुग्दामात्र थाहा भयो रेष्टुरेन्ट त त्यस दिन बन्द रहेछ। इटालियन खानाको मज्जा लिने प्लान गेटैमा पुगेर चेन्ज गर्नुपर्‍यो। उनीहरु नजिकैको अर्को रेष्टुरेन्टतिर पसे।

त्यति नै बेला उनलाई लाग्यो खाने प्लान बनाउनुअघि रेष्टुरेन्टको डिटेल चेक गर्न पाएको भए रेष्टुरेन्टको ढोकैमा पुगेर फर्किनुपर्ने त थिएन! पहिलोपल्ट उनलाई प्लान बनाउँदा ‘समथिङ इज मिसिङ’ जस्तो महसुस भयो।

शाकाहारी परिवारकी गरिष्मा ‘फुड लभर’ हुन्। हुन त पेशाले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियर हुन् गरिष्मा तर उनमा खाना र किचेनको एक्सपेरिमेन्ट सानैदेखि रुचीको विषय बन्यो।

भारतमा छँदा गृहनगर कोलकातामा ‘जोमाटो डट कम’ हेर्दै विभिन्न रेष्टुरेन्टबारे जानकारी लिने र खाना खाने गरेकी गरिष्माको दिमागमा क्लिक गर्‍यो किन नेपालमा पनि रेष्टुरेन्टहरुबारे थाहा दिने प्लेटफर्म क्रियट नगर्ने?

ब्यावसायिक घराना विशाल ग्रुपका अर्पित अग्रवालसँग डेढ वर्षअघि बिवाह गरेर नेपाल भित्रिएकी गरिष्मा यतिबेला नेपालमै आफ्नो पेशागत सोचलाई ब्यावसायिक रुप दिइरहेकी छिन्। पढाइका क्रममा थालेका केही स्टार्टअपलाई उनले ब्यबहारिक रुपमा फ्यूजन गरिन् खानेकुरामा।

इन्जिनियरिङ ब्याकग्राउन्डले साथ दिएकै थियो त्यसमाथि आफ्नै परिवारले पनि प्रोत्साहन गरे। ‘इनहाउस’ बिजनेसका रुपमा १० जनाको कोर-टिम क्रियट भयो।

चार महिनाको अथक मेहनतपछि गरिष्माको ब्रेन चाइल्डका रुपमा जन्मियो ‘टोस्टम्यान’ जसले काठमाडौंका २ हजार ३ सयभन्दा बढी रेष्टुरेन्टहरुका बारेमा डिटेल इन्फरमेसन बटुलिसकेको छ। टोस्टम्यान क्लिक गर्ने बित्तिकै काठमाडौंका ५ तारेदेखि गल्ली भित्र भित्रका रेष्टुरेन्टहरुका बारेमा पनि सम्पूर्ण जानकारी पाउन सकिन्छ।

हाल २३ सय रेष्टुरेन्टहरुलाई समावेश गरिएको टोस्टम्यानप्रति गरिष्मा निकै उत्साहित छिन्। नहुन् पनि किन टोस्टम्यानसँग आबद्ध रेष्टुरेन्टहरुसँगको दैनिक इन्ट्रयाक्सनमार्फत् उनले सकारात्मक सन्देशहरु पाइरहेकी छिन्। उनले भनिन्- ‘हरेक दिन हामीलाई झण्डै ५ सयभन्दा बढी फिडब्याकहरु आइरहेका छन्।’

टोस्टम्यान खाना सम्बद्ध यस्तो एप हो जसमा क्लिक गरेपछि रेष्टुरेन्टको मेनुदेखि ग्राहककै फिडब्याकका आधारमा रेटिङ र रिभ्यू पनि हुन्छ। 
कोलकातामा जन्मिएर स्कूले शिक्षा लिन सानैमा देहरादून पुगेकी गरिष्माले वेलह्याम गर्ल्स स्कूलदेखि भेलोरको इन्स्टिच्यूट अफ टेक्नोलोजीसम्मको यात्रामा पढाइसँगै फूडकल्चरलाई पनि नजिकबाट नियालिन्।

टोस्टम्यानको अहिले एन्ड्रोइड भर्सनमा एप उपलब्ध छ। डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्- टोस्टम्यान। यो एप आईओएसमा केही दिनपछि उपलब्ध हुनेछ। 

बिवाह गरेर नेपाल आएपछि त झन् खानाले कसरी फरक फरक ठाउँ र सँस्कृतिका मानिसलाई जोड्दोरहेछ भन्ने पनि राम्रै अनुभव गरिन्। खानासँग उनका अनौठा अनुभूतिहरु जोडिएका रहेछन्। मागी विवाहअघि केटा र केटीको भेटका क्रममा कुराकानीको लामो सिलसिला खानाबारे नै भएको उनले बताइन्। उनीहरु धेरैबेर जापानी खाना ‘सुसी’का बारेमा गफिएका थिए रे जुन उनी र उनका श्रीमान दुबैको अति नै मनपर्ने खानेकुरा हो।

गरिष्मा भन्छिन्- खाना केवल पेट भर्ने साधन मात्र होइन संस्कार पनि हो। स्वाद मिलेपछि रुची, संस्कृति र संस्कार पनि मिल्दै जान्छ। त्यसैले त गरिष्मा इन्जिनियर भएर पनि  उनकै शब्दमा ‘खानेकुराको प्रमोसन’लाई आफ्नो करियर बनाउन चाहिन्।

आफ्नो रेष्टुरेन्टको बारेमा प्रचार गर्दै लेख्ने साइटहरु प्रशस्त छँदैछन्। यस्तै पर्यटकीय साइटहरुमै जोडेर रेष्टुरेन्टको बारेमा प्रशस्तै जानकारी दिने साइटहरु पनि छन्। खानाका प्रकार र परिकारहरु भएका साइटहरु पनि त छँदैथिए। टोस्टम्यान नै किन? गरिष्मा नेपाल आउने बित्तिकै देखेको पहिलो दृश्य ‘काठमाडौंमा प्रत्येक दोस्रो घरमा एउटा रेष्टुरेन्ट’रहेछ। ठूला साना हरेक किसिमका रेष्टुरेन्ट, आआफ्नै विशेषता अनि स्तर।

काठमाडौं त्यति ठूलो ठाउँ पनि होइन जहाँ ५ हजारभन्दा बढी रेष्टुरेन्ट र ठूलो ‘क्राउड’ छ। कुन रेष्टुरेन्ट पस्दा के पाइन्छ त्यो पनि मेनु नहेरेसम्म थाहा नपाइने। अनि अर्डर गरेको खानाको गुणस्तर र स्वाद नाम अनुसारकै छ छैन त्यो पनि खाएपछि मात्र थाहा हुने।

उनी भन्छिन्-‘कतिपटक म खाना मगाउँदा जस्तो आउला भन्ने सोचे विपरित स्वादको हुन्थ्यो। सोचेजस्तो खाना कहाँ पाइएला? नाम चलेका रेष्टुरेन्टहरुमा पनि बेस्वादको खाएको र सामान्य रेष्टुरेन्टमा पनि ‘यम्मी’ खाना पाएको छु। अनि मलाई लागिरह्यो कसरी रेष्टुरेन्ट छान्ने अनि त्यहाँ पसेपछि केका आधारमा खाना मगाउने?” आउटसाइडरका रुपमा नेपाललाई नियाल्दै गर्दा गरिष्मालाई आफ्नो यही अनुभवले घच्घच्यायो।

‘काठमाडौंका रेष्टुरेन्टमा जुन समस्या मैले झेलिरहेको छु अरुले झेल्न नपरोस्, म सबैलाई सजिलो बनाउने एप बनाउन चाहन्छु’-आफ्नो अनुभवबाटै उनले आइडिया क्रियट गरिन् अनि सुरु भयो टोस्टम्यानको काठमाडौं यात्रा।

टोस्टम्यान टिमले अहिले काठमाडौंका रेष्टुरेन्टहरुलाईमात्र आफ्नो प्ल्याटफर्ममा समावेश गरेको छ। काठमाडौंका ५ हजारवटा रेष्टुरेन्ट साइटमा समावेश गर्ने लक्ष्य अनुसार टिम परिचालन गरिएको छ। दोस्रो चरणमा पोखराका रेष्टुरेन्टहरु समेटिने गरिष्माले बताइन्।

उनको उडान धेरै परसम्मको हो। उनी काठमाडौंबाट पोखरा मात्र होइन देशभर नै फैलिने योजना बनाइरहेकी छिन्। एपको टिपिकल नेपाली नाम पो राख्ने कि भनेर महिनौं घोत्लिएपछि ‘टोस्टम्यान’ नाम जुराउनुको पनि कारण रहेछ। उनले भनिन्- 'म त टोस्टम्यानलाई विश्वसनीय र इन्टरनेसनल ब्राण्डका रुपमा स्थापित गर्न चाहन्छु। यूरोप अमेरिकासम्म बिस्तार गर्न चाहन्छु।'

के यो ट्रिप एडभाइजर जस्तै नामी फुड एडभाइजर बन्ला?

गरिष्मा एकछिन एकोहोरिन्छिन् अनि अचानक ओठमा हाँसो फैलिन्छ।

‘हो त यसलाई फुड एडभाइजर टोस्टम्यान नै किन नभन्ने?’-यसो भनिरहँदा उनको आवाजमा गजबको आत्मविश्वास थियो अनि हातमा टोस्टम्यानको ‘फुच्चे’ कार्ड।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell