PahiloPost

Sep 26, 2018 | १० असोज २०७५

गाँजा गन्थन : बिना गृहकार्य खुला गरियो भने चोकचोकमा टाउको निहुराएका र पाइन्ट तल झारेकाहरुको बिगबिगी हुनेछ


गाँजा गन्थन : बिना गृहकार्य खुला गरियो भने चोकचोकमा टाउको निहुराएका र पाइन्ट तल झारेकाहरुको बिगबिगी हुनेछ

  • राजु आचार्य -

जमानीमा खाएको गाँजा 
अहिले मलाई ला छ नमजा 


कालिकोट जिल्लाका कुना कन्दरामा यो गीत खुबै चर्चित छ अझैपनि। धेरै गाँजा खाएर असर गरेका केही मानिसहरूले गाएको यो गीत जस्तो गाँजा भने छैन। यसलाई अमृत मान्नेहरु धेरै छन्। संसारभर गाँजाका तीन प्रजातिहरू अभिलेख गरिएका छन्। यो प्रजाति रोप्न नपर्ने तर खेत, बारी, पाखो तथा वन जङ्गलमा  जताततै प्रशस्तै उम्रन्छन् । तीन दशक अघिसम्म कालिकोटका केही मानिसको जीविकोपार्जनको सहयोगी थियो।  कालिकोटमात्र नभै कर्णाली क्षेत्रकै नगदे बाली जस्तै थियो। 

कालिकोटका स्थानीय प्रभाकर बराल भन्छन् ' हाम्रा गाईवस्तु गाँजामा हराउने गर्थे, गाँजाको टुप्पो हल्लिए पछि गाईवस्तु कता छन् भनेर थाहा हुन्थ्यो'। उनी विगतमा फर्किए। उनले भने 'केही मानिसहरू यसको व्यापार पनि गर्थे'।  व्यापार किन रोकियो उनले लामो समयसम्म चाल पनि पाएनन्। उनले प्रतिप्रश्न गरे 'कैलाश पर्वतमा बसेर भगवान् महादेवले प्रयोग गर्ने यो चिज कसरी नराम्रो हुन सक्छ ?'

काठमाडौँ, पोखरा जस्ता सहरी क्षेत्रमा भने पहिलाको तुलनामा न्यून मात्रामा कताकति मात्र देखिन्छ। देख्ने बित्तिकै प्रहरीको निसानामा पर्ने गाँजा स्थानीयहरू पहिलाको  तुलनामा घटेको बताउँछन्। तर हाम्रो टोली कालिकोट जिल्लाको रास्कोट नगरपालिका, सन्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिका  घुमिरहँदा  जताततै गाँजा प्रशस्त देखिएको  थियो। कुनै समय नेपाल सरकारले निजी जमिनमा गाँजा खेती गरे सो जग्गा सरकारी हुने भनेर भने पछि बिस्तारै गाँजा खेती पनि कम हुँदै गएको हो। 

गाँजाको इतिहास 

गाँजालाई मानव विकासको क्रममा सबैभन्दा पहिला प्रयोग गरिएको  बिरुवाको रूपमा पनि लिइन्छ। वार्फ़द्वारा लिखित  ' गाँजा : पहिलो १२ हजार वर्षहरू' नामक पुस्तकमा  गाँजा  'मध्ये एसिया' विशेष  गरी मंगोलिया आसपास भेटेको उल्लेख गरेका छन्। चीनमा  पनि करिब १० हजार  वर्ष अघि देखि गाँजाको प्रयोग गरिएको उल्लेख छ। यही क्षेत्रबाट अन्य महादेशमा फैलिएको विश्वास गरिन्छ। अठारौँ सताब्दीदेखिनै नेपालमा  पनि गाँजा र चरेसको प्रयोग भएको उल्लेख छ। सन् १८१९ मा फ्रंचिस हामिलटोनले नेपालबारे लेखेको पुस्तकमा गाँजा रोप्नु नपर्ने र आफै जताततै उम्रने भनेर उल्लेख गरेका छन्। 

तर , चानचुन १०० वर्ष अगाडिदेखि मात्र यसलाई प्रतिबन्ध लगाउन थालियो।  प्रतिबन्धको सुरुवात भने अमेरिकाबाट भयो। अमेरिकामा प्रतिबन्ध लगाउँदा तेस्को असर नेपालमा पनि आइपुग्यो। 

सन् १९६०-७० को दशकमा नेपाल 'हिप्पी टुरिस्ट'को लागि प्रख्यात थियो।  पश्चिमाहरूको लागि घुम्नु र गाँजामा रमाउनका लागि नेपाल पहिलो रोजाइमा पर्थ्यो। अमेरिकनहरू पनि आउने गर्थे।  आफ्नो नागरिकको सुरक्षाकोलागि भनेर अमेरिका तथा अन्तर्राष्ट्रिय दबाबको कारणले गाँजालाई अवैध घोषणा गरियो। नेपालले पनि आँखा चिम्लेर अवैध घोषणा गर्‍यो।  सन् १९७३ तिर सबै बिक्रिवितरण बन्द गरियो। यसबाट नेपाल सरकारलाई वार्षिक करिब एक करोड कर नोक्सान भएको अनुमान गरिएको थियो। व्यापार रोकियो। काठमाडौँमा यसैमा आश्रित करिब ३० वटा पसलहरू प्रभावित बने। पर्यटकहरू घटे। किसानहरू मर्कामा परे। यसको प्रभाव नेपालभर पर्‍यो। सिंहदरबार वैद्यखानाले केही औषधिहरूको  उत्पादन नै बन्द गर्नुपर्‍यो । 

सन् २०१४ मा 'विश्व लागुपदार्थ प्रतिवेदन'का अनुसार विश्वभर वैधरुपमा ६०  हजार ४ सय किलोग्राम गाँजाको उत्पादन भएको थियो। एक पटक लागु औषधि मानिएको गाँजालाई  अहिले फेरी औषधी तथा अन्य प्रयोजनका लागि कानुनी रूपमा खुला पारिदैछ। 

गाँजाको पात, फुल, दाना आदिको प्रयोग गर्ने गरिन्छl गाँजा, चरेस , भागो आदिको रूपमा यसको प्रयोग हुने गर्दछ। यसको तेल पनि प्रयोग गरिन्छl 

संसारभर किन प्रतिबन्ध गरियो त ? 

सन् १९०० तिर मेक्सिकोबाट अमेरिका छिर्नेहरुले गाँजा संस्कृति  भित्र्याए। संस्कृति, भाषा, रहनसहनसँग आएका यिनले औषधि र रमाइलोको  लागि गाँजा अधिक सेवन गर्दथे। यस्ता शरणार्थीहरू जो पहिला देखिनै गाँजा सेवन गर्दथे, यिनको नियन्त्रणको  लागि पनि गाँजाको नियन्त्रण गर्नु आवश्यक थियो। सन् १९३० तिर गाँजाको नियन्त्रण गर्ने कानुन लागुगर्ने क्रममा गाँजाखाएर महिलाहरूलाई बलात्कार समेत गरेको घटनाहरू अपुष्ट रूपमा आएका थिए। बेलायतमा पनि १९२८ तिर यसको खपतलाई अवैध घोषणा गरियो।  गाँजालाई औषधी मानेर प्रयोग गर्ने वा नगर्ने भनेर लामो विवाद यहाँ पनि चल्यो। 

ठूला ठूला रोगहरूको उपचार यसबाट हुन् सक्ने भए पछि ठुला ठुला औषधि कम्पनीहरूको  कमिसनको कारणले पनि यसलाई लामो समयसम्म अवैध मानिएको भन्नेहरू पनि प्रशस्तै भेटिन्छन्। यो समूह रक्सी र चुरोट कम्पनीहरूलाई पनि उत्तिकै दोषी मान्दछन्। सस्तो र आफ्नै बारीमा उम्रने गाँजा सहजरुपमा उपलब्ध हुने बेलासम्म चुरोट र रक्सी कम्पनीहरूको व्यापार नबढ्ने प्रस्ट नै थियो। मानिसहरू यस्तो समाचारलाई बाहिर नल्याई  यिनकै साथ दिने पीत पत्रकारितालाई पनि उत्तिकै दोषी  मान्छन्।  

जुन बेला अवैध घोषणा गरियो तेती खेर हामीसँग सुर्ती थिएन।  गाँजा प्रशस्तै  थियो। गाँजालाई  निरुत्साही र सुर्तीलाई प्रोत्साहन गर्ने यो भन्दा राम्रो मौका तिनीहरूसँग थिएन पनि । 

चटनी बनाउन प्रयोग गरिने भांगो 

संसारभर अहिले आएर कसकसले प्रयोग गर्न थालेका छन् ?

क्यानडामा गाँजा खरिद तथा प्रयोगकालागि खुल्ला भएको छ। केही दिन अघि मात्र संसदमा भएको चुनावमा यसको पक्षमा ५२ मत खस्यो जबकि विपक्षमा मात्र २९ मत। ९५ वर्ष अघि गाँजाको प्रयोगलाई प्रतिबन्ध गर्ने क्यानडा मात्रै नभई हाल आएर मनोरञ्जनको लागि प्रयोग गर्नकोलागि उरुग्वेले सन् २०१३ मा नै खुला गरिसकेको थियो। 

औषधिको रूपमा प्रयोग गर्नको लागि इजरायल, अर्जेन्टिना, पियोर्टो, रिको, पानामा, मेक्सिको टर्की, जाम्बिया, जिम्बाबे आदि देशले यिनको प्रयोग खुला गरेको छ। अमेरिकाको धेरै  राज्यमा पनि खुला गरिएको छ। स्पेन, नेदरल्याण्ड, पोर्चुगल, चिली,स्लोभेनिया, जमैका, पेरु, कोलोम्बिया, यूकेडर, लुक्जेम्बरमा व्यक्तिगत प्रयोगको लागि कानुन खुला पारिएको छ।  नेपालमा भने अहिले सम्म प्रतिबन्ध नै छ।  

विश्व स्वस्थ सङ्गठनका अनुसार संसारभर करिब २.५ प्रतिशत मानिसहरूले गाँजाको प्रयोग गर्छन्। अस्टोन् सीएच को सन् २०११ मा प्रकाशित लेख अनुसार बेलायतमा ६० प्रतिशत बिश्वबिधालयका बिधार्थीहरुले कहिलेकाहीँ गाँजा प्रयोग गर्ने र  २० प्रतिशतले नियमित प्रयोग गर्ने उल्लेख छ।     
४ वर्ष अघि मात्र कोलोराडोमा गाँजाको  पसल खोलियो। २१ वर्ष पुगेका व्यक्तिले २८ ग्राम मात्र खरिद गर्न सकिने प्रावधान तोकिएको छ। यसबाट अमेरिकालाई वार्षिक लाखौँ डलर आम्दानी हुनेछ। सन् २०१६ मा गरिएको अनुमानले सन् २०२५ सम्म २४ बिलियन डलर व्यापार हुने प्रक्षेपन गरिएको छ ।  

केको लागि प्रयोग गर्न सकिन्छ ? 

अमेरिकामा वार्षिक ४० हजार मानिसहरू रक्सीको सेवनको कारणले मर्ने गरेका छन् जबकि गाँजाको सेवनबाट कोही पनि मरेको जानकारी छैन। यही कारणले यसको कानुनी प्रयोगको लागि बाटो खोल्न सहायक सिद्ध भयो। गाँजाको असर कफी भन्दा पनि कम रहेको अनुमान गरिन्छ।   
चिडचिहाड घटाउन, थकाई कम गर्न , पाचनकृया बलियो बनाउन, मुटु स्वस्थ बनाउन, तनाव कम गर्न  गाँजा उपयोगी हुने विश्वास गरिन्छ। शरीरको अत्यधिक दुखाई कम गर्न, स्मरण शक्ति बढाउन, मृगौला तथा एड्सको उपचारमा पनि यसको प्रयोग गरिन्छ। सुस्त मनस्थिति भएकाहरु, मस्तिष्क घात, तौल घट्ने, पखाला लाग्ने  समेतमा  यसको प्रयोग लाभदायक देखिएको छ।  

यसले क्यान्सरका कोषहरू थप बढ्न नदिने विश्वास समेत गर्दछन्। सन् २००७ मा अमेरिकाको क्यालिफोर्निया पेसिफिक मेडिकल सेन्टरले गरेको  अध्ययनले छातीको क्यान्सरमा सहयोगी भएको बताइएको थियो। 

यसको प्रयोगले मानिसको मुड बनाउन  मद्दत गर्दछ जसको कारणने एकाग्रतामा बृधि  गर्छ  र तनाव घटाई दिन्छ। परापूर्वकालमा सुत्केरी हुने महिलाहरुललाई  पनि गाँजाको सेवन गराइन्थ्यो।  अत्यधिक प्रयोगले भने नराम्रो असर गर्दछl

क्यानडामा यिनको प्रयोगको मात्रा तोकिएको छl डाक्टरले प्रयोग गर्नु पर्ने भए बिरामीलाई 'गाँजा कार्ड' उपलब्ध हुन्छ। सोही कार्डको मद्दतले सरकारले तोकेको ठाउँमा खरिद गर्न पाइन्छ। ३० डोज  भन्दा बढी ल्याएर घरमा राख्न पाइँदैन। झोल, चक्की र धुलोको  रूपमा यसको प्रयोग हुने गरेको छ। अमेरिकामा गाँजा खाएर गाडी चलाउन पाइँदैन।  

नेपालमा केका लागि प्रयोग गरिन्छ ?

नेपालमा कानुनी रूपमा अवैध मानिए पनि यिनको प्रयोग सामान्य तर लुकेर हुने गरेको छ। सरकारले प्रतिबन्ध लगाए पनि शिवरात्रीमा गाँजा वा भाग खाने गर्छौँ। धार्मिक हिसाबले यसरी प्रयोग गर्दा पापहरूबाट मुक्ति मिल्ने  विश्वास गरिन्छ। अथर्ववेदका अनुसार पाँच वटा पवित्र बिरुवाहरू मध्ये गाँजा पनि पर्दछl   

यसको दाना अर्थात् भाङको अचार पनि निकै प्रख्यात छ। झाडापखाला लाग्दा अझै पनि गाँजालाई घिउमा भुटेर खाने चलन हाम्रो गाउँघरतिर कायम नै छ।  यसको डाँठबाट चकटी, डोरी पनि बनाउने गरिन्छ। यसको कपडा तथा झोला  बुनेर पनि प्रयोग गरिन्थ्यो, जुन आजभोली कम भएको छ। ग्यास्टिक तथा पखालाको अचुक औषधि मानिन्छ। पेट दुख्दा पनि यसको प्रयोग गरिन्छ। पातको लेप घाउमा लगाउने चलन पनि छ। पातको झोल पखाला लाग्दा प्रयोग गरिन्छ। घरमा किराहरू नआउन भनेर गाँजाको हाँगाहरू राख्ने चलन पनि छ। 
 

गाँजाको डाँठबाट बनाइएको डोरी देखाउँदै कालिकोटका  किसान 
 
 

माओवादी जनयुद्ध र गाँजा 

नेपालमा  गाँजाको उत्पादन पर्सा, मकवानपुर, सिरहा, धनुषा, बारा, महोत्तरी, धादिङ, रोल्पा, रुकुम ,सल्यान, सुर्खेत  लगायत पश्चिम नेपालका अन्य जिल्लाहरूमा  गरिन्थ्यो। यी क्षेत्रहरूमा प्राकृतिक रूपमा नै प्रशस्त उत्पादन पनि हुने गर्थ्यो। 

रोल्पा, रुकुम लगायतका जिल्लाका बासिन्दाको आर्थिक अवस्था राम्रो थियो। अवैध घोषणा भए पछि  पूर्ण रूपमा यसैको खेतीमा आश्रित किसानहरूको बिचल्ली भयो। पश्चिम नेपालका स्थानीयवासी जो गाँजाको  खेतीमा आश्रित थिए , तिनको झन् बिचल्ली भयो।  गाँजाबाट समृद्ध भएको यिनको जीवनमा तुसारापात भयो। मानिसहरू समातिन थालिए। महिलाको पहिला जोडिएका गरगहना पनि बेच्न थाले। नेपाल सरकारसँग रुष्ट बने। सरकारले मुखको गाँस खोसेको निष्कर्षमा पुगे। रुकुम लगायत यी तिनै जिल्लाहरू हुन् जहाँ माओवादी जनयुद्धलाई ठुलो सहयोग मिलेको  थियो। यही क्षेत्र माओवादीको जनयुद्धकोलागि उर्वर भूमि बन्यो। हेर्नुस् 'गाँजा, क्रिश्चियन र सदरमुकाम : माओवादी सशस्त्र युद्ध सुरु हुनुका तीन कारण'। 

 नेपालमा उत्पादन हुने हेसिस दोस्रो बिश्वयुद्धसम्म आइपुग्दा विश्वभर चर्चित थियोl यसले भारतको  बजारलाई समेत जुनौती दिरहेको थियोl स्थानीयहरू यो प्रतिबन्ध हुनुमा अमेरिका भन्दापनि भारतको प्रभाव बढी देख्छन्। मार्सीकोर्पले तयार गरेको प्रतिवेदनले सो कुरा उल्लेख गरेको छ। 

नेपालमा के होला अब ?

अमेरिकाले बन्द गर भन्यो , हामीले गर्यों। हजारौँ वर्ष देखि हाम्रा पुर्खाले प्रयोग गर्दै आएको गाँजा ठिक छ वा छैन , हामीले एकरति पनि सोचेनौ। अहिले त अनुसन्धान यती बग्न फितलो छ, झन् १०० वर्ष अघिको के कुरा गर्ने ? अहिले अमेरिकाका  धेरै राज्यमा गाँजाको प्रयोग खुला गरिएको छ। अमेरिका लगायत अन्य मुलुकले पनि खुला गरेको छ , र खुला गर्ने क्रम जारी छ। पछिल्लो समय भएको अनुसन्धानको प्रतिफल हो यो गाँजाको खुलापन। संसारभर भएका अनुसन्धानले यिनको फाइदाको बारेमा चर्चामात्र गरेन, परापूर्वकालदेखिको ज्ञानलाई सही प्रमाणित पनि गरिदियो। आधुनिक ज्ञानको घमण्डलाई परम्परागत ज्ञानले नराम्री पछारीदिएको छ। 

कुनै मेहनत बिना जताततै उम्रने गाँजा भविष्यको  लागि राम्रो आय आर्जनको माध्यम बन्न सक्छ। अरूको पछि नलागेर गाँजा प्रयोग गरिरहेको भए हामी संसारकै धनी हुन्थ्येउ होला। कैयन मानिसहरूको सहज जीवन बित्थ्यो होला। जसले हामीलाई बन्द गर्न लगायो उसले खोल्नु अघि हामीलाई एक पटक पनि सोधेन। हामीले पनि खोल्नु पर्ने बेला भइसकेको छ। यसबाट सरकारलाई कर पनि प्रशस्त उठ्ने छ।

वनस्पतिविज्ञ दिपेश प्याकुरेल भन्छन् 'नेपालजस्तो  सुपरिवेक्षणमा  कमजोर रहेको मुलुकमा गाँजाको प्रयोग खुला गर्नु अघि थुप्रै गृहकार्य र अनुसन्धान आवश्यक हुनेछ'l 

यो कुरालाई विचार गर्न सकेनौ भने 'चोक चोकमा' टाउको निहुराएको र पाइन्ट तल झरेका  गंजेडीयाहरुको  समूहको बिगबिगी हुनेछ। किनकि जुन कुरा पनि धेरै खाएपछि बिषनै बन्छ।



गाँजा गन्थन : बिना गृहकार्य खुला गरियो भने चोकचोकमा टाउको निहुराएका र पाइन्ट तल झारेकाहरुको बिगबिगी हुनेछ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट