PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारी टोली ३३ किलो सुन काण्डका मुख्य नाइके खोजिरहेकै बेला सल्बलाउँदै सुन तस्करहरू 



सविन ढकाल

सरकारी टोली ३३ किलो सुन काण्डका मुख्य नाइके खोजिरहेकै बेला सल्बलाउँदै सुन तस्करहरू 

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी सम्हाले लगतै एक सार्वजनिक कार्यक्रममा नै भने - विमानस्थलबाट अवैध रूपमा टनका टन सुन बाहिरीरहेको छ।

त्यसको केही समयमा नै सनम शाक्य हत्या काण्ड बाहिरियो। घटनाको अनुसन्धान गर्दै जाँदा हत्याको कारण बन्यो - अवैध सुन। लहरो तान्दा पहरो नै गर्जियो। ३३ किलो हराएको सुन खोज्न र सनम हत्याको अनुसन्धान गर्न गठन भएको सरकारको उच्चस्तरीय छानबिन टोलीले ३८ सय किलो सुन फेला पार्‍यो। तर तथ्याङ्कमा मात्रै। 

समितिले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ३८ सय किलो सुनको तस्करी भएको तथ्य बाहिर ल्यायो। छानबिन सुरु गर्‍यो - सुन प्रकरणमा धरानका ठूला व्यापारीदेखि प्रहरीका उच्च तहका कर्मचारीसमेत पक्राउ परे। अहिले अदालतको आदेशअनुसार ३३ जना पुर्पक्ष थुनामा छन्।

नेपालमा मुख्य सुन तस्करी भनिएका मोहनकुमार अग्रवाल अहिले प्रहरीको खोजी सूचीमा छन्। अग्रवालविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ। तर पनि सुन तस्करी भने रोकिएको छैन।

आइतवार पनि महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले थानकोटबाट ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक घर भएका २३ वर्षीय तेन्जिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो। तामाङले बा ९५ प ८१६४ नम्बरको पल्सर बाइकमा सुन लुकाएर भारत लैजान लागेको अवस्थामा पक्राउ गरिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। 

आइतबारको घटनाको ठिक दुई दिन अघि सोही स्थानबाट प्रहरीले तीन किलो सुनसहित चार भारतीय नागरिक र एक नेपालीलाई पक्राउ गरेको थियो। 

भारतीय नम्बर युके ०२४६८४ को  गाडीको एयर फिल्टरमा सुन राखिए महेन्द्रनगर हुँदै भारत लग्न लागिएको थियो। पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी विमानस्थलको एउटा सुन तस्करीको सुटिङ भत्किएपनि अर्को समूहले तस्करी गरिरहेको हुन सक्ने बताउँछन्। उनी भन्छन्, 'विमानस्थलबाट सुन तस्करी गर्ने एउटा समूहमात्र निस्क्रिय भएको होला तर अर्को समूह सक्रिय छ भन्ने उदाहरण हो।'

भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै सुन तस्करीमा संलग्न समूह रसुवाको केरुङबाट सुन ल्याउने गरेका छन्। चीनसँग नाका जोडिएका जिल्लाहरूमा सरकारको ध्यान नजाँदा पनि सुन तस्करी हुने गरेको पूर्वडिआइजी ठकुरीको बुझाइ छ। उनी भन्छन्, 'विमानस्थल प्रयोग गरेर केही परिणाममात्र सुन तस्करी हुन्छ। तर चीनको नाकाबाट जति पनि सुन ल्याउन सक्ने भए। त्यसैले चीनसँगको नाकामा विशेष ध्यान नदिएसम्म सुन तस्करीमा कमी आउँदैन।'

१० महिनामा १ सय ६९ किलो सुन तस्करी, पाँच बर्षभित्रकै ठूलो परिणाम

चालु आर्थिक वर्ष २०७१/७२ मा देशभरबाट १ सय ११ केजी सुन प्रहरीले बरामद गरेको थियो। २०७२/७३ मा बरामद सुनको सङख्या घटेर ६८ केजीमा पुग्यो। २०७३/७४ मा आर्थिक वर्षमा ९१ किलो सुन तस्करीको सुन प्रहरीले बरामद गर्‍यो। तर, चालु आर्थिक वर्षको १० महिनामा नै १ सय ६९ किलो भन्दा बढी सुन तस्कर भएको प्रहरी तथ्याङ्कले देखाउँछ। त्यसपछिका चालु आर्थिक वर्षमा बरामद सुन तस्करीको सङ्ख्या बढ्दै गयो। फितलो कानुनी व्यवस्था र तस्करलाई राजनीतिक संरक्षण भएकाले तस्करहरू सक्रिय भएको प्रहरी अधिकृतहरूको दाबी छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री भने सुनको तस्करी बढेको भन्दापनि प्रहरीको सक्रियले घटना बाहिरिएको बताउँछन्। 

गत भदौ १९ गते प्रहरीले काठमाडौँको क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरेको थियो। बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ केजी सुन सहित चालक मनोज अधिकारील पक्राउ परेका थिए। तस्करले रसुवा नाका हुँदै सुन राजधानी भित्र्याएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

८८ कजी सुन बरामद भएको पाँच दिनअघि मात्र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँका विभिन्न स्थानबाट १४ केजी सुन बरामद गरेको थियो। केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्‍याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखामा एक घर खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामद गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell