PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लोडसेडिङका 'शत्रु' कुलमान घिसिङका यी हुन् ५ फ्लप प्रोजेक्ट



अमर बडुवाल

लोडसेडिङका 'शत्रु' कुलमान घिसिङका यी हुन् ५ फ्लप प्रोजेक्ट

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य देखि वितरण प्रणाली सुधारका धेरै काम सफलतापूर्वक सम्पन्न गरे।

व्यवस्थापनमा दक्ष कुलमानले आमजनताबाट वाहीवाही पनि पाए। तर कुलमानले अघि सारेका केही महत्वकांक्षी योजना भने पूरा भएका छैनन्। घिसिङले गर्न चाहेर पनि गर्न नसकेका योजनाहरुमा एलइडी बल्ब देखि पम्प स्टोरेज आयोजनासम्म छन्।
 

१. एलइडी बल्ब, पंखा र पानी तान्ने मोटर

भारतबाट दुई करोड थान एलइडी बल्ब ल्याएर दुर्इ सय मेगावाट विद्युत बचाउने कुलमानको सबैभन्दा महत्वकांक्षी योजना असफल भयो।

सार्वजनिक खरिद ऐन अनुसार बल्ब खरिदको प्रक्रिया अघि नबढाइ मन्त्रिपरिषदको निर्णयबाट बल्ब किन्ने योजना अघि बढाएपछि उनको योजनाको आलोचना भयो।

बल्ब खरिद प्रक्रियामा भ्रष्टाचार गर्ने उद्देश्य नभएर गुणस्तरीय बल्ब छिटो ल्याउन सकियोस् भन्ने उद्देश्यमात्रै भएको उनले जिकिर गरे। तर, यो योजना आउने सम्भावना टरेको छ। केही समयपछि कुलमानले विजुली खपत गर्ने पानी तान्ने मोटरदेखि पंखासम्म किन्ने योजना ल्याए। यो योजनाको टेण्डर भएको छ।

प्राधिकरणको कार्यालय हाताबाटै बेच्नदिने भन्दै गुणस्तर तोकेर नै पानी तान्ने मोटर सिलिङ र फ्यानका लागि टेण्डर गरिएको छ। तर, काम भने पूरा भएको छैन।

२. रुपा बेगनास पम्प स्टोरेज आयोजना

कुलमानको अर्को महत्वकांक्षी आयोजना थियो, पोखरामा रहेका रुपा र बेगनास तालको पानीलाई पम्पिङ गरी विद्युत उत्पादन गर्ने।

बेगनास तालको सञ्चित पानीलाई रुपा तालमा खसाएर पिक समयमा सयदेखि तीन सय मेगावाट सम्म विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको थियो। रातको समयमा रुपा तालको पानीलाई बेगनासम्मै खसाउने गरी पम्प स्टोरेज आयोजनाको योजना बनेको थियो।

पिक आवरमा धेरै विद्युतको माग हुने र माग व्यवस्थापन गर्न रुपा बेगनास पम्प स्टोरेज आयोजना अघि बढाउने कुलमानको योजना हो। यो योजना पनि अहिले सम्म कुनै ठोस प्रगति भएको छैन।

३. सुकम्बासीलाई मिटर

सुकम्बासीको लालपूर्जा नहुने र लालपूर्जा नहुनेलाई विद्युत प्राधिकरणले मिटर नदिने प्रावधान थियो। कुलमान नेतृत्वमा आएपछि सुकुम्बासीलाई पनि मिटर बाँड्ने र विद्युत चोरी हुन नदिने योजना सार्वजनिक गरेका थिए।

उनले, सुकम्बासी बस्तीमा अत्याधिक विद्युत चोरी हुनुमा प्राधिकरणले मिटर नदिनु मुख्य कारण भएको भन्दै सुकम्बासीलाई मिटर दिने योजना सार्वजनिक गरेका थिए। जसबाट प्राधिकरणको चुहावट नियन्त्रण गरी आर्थिक लाभ लिने योजना थियो।

विद्युत चुहावट नियन्त्रणमा सफल भए पनि सुकुम्बासीलाई मिटर दिन भने कुलमान असफल भएका छन्। विद्युत प्राधिकरणले लालपूर्जा नभएका सुकम्बासीलाई १० हजार रुपैयाँ धरौटी राखेर मिटर दिने निर्णय गरे पनि धरौटी रकम धेरै भएकोले सुकुम्बासीको पहुँचमा विद्युतको मिटर पुग्न सकेको छैन।

४. स्मार्ट मिटर, स्मार्ट ग्रीड र भूमीगत तार

कुलमानको अर्को महत्वकांक्षी योजनामध्ये स्मार्ट मिटर, स्मार्ट ग्रीड र भूमिगत तार बिच्छ्याउने योजना पनि एक थियो।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि, स्मार्ट मिटर, स्मार्ट ग्रीड र भूमिगत तार बिच्छ्याउनको लागि टेण्डर मागे पनि कम्पनी छनौट भने अहिलेसम्म भएको छैन।

प्राधिकरणले यसको लागि अभिशेख अधिकारी र सुमन श्रेष्ठलाई आयोजना प्रमुख तोकेको लामो समय भइसक्दा पनि कम्पनी छनौट र ठेक्का सम्झौता हुन सकेको छैन। 

५. विद्युतीय सवारी र चार्जिङ स्टेशन

माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन भएपछि वर्षातको समयमा विद्युत खेर जाने हुँदा विद्युतीय गाडीलाई प्रोत्साहन हुनेगरी ठाउँठाउँमा चार्जिङ स्टेशन राख्ने योजना पनि घिसिङले करिब एक वर्ष अघि सार्वजनिक गरेका थिए।

तर, विद्युत प्राधिकरणको मुख्यालय रत्नपार्कमा एउटा चार्जिङ स्टेशन राखे पनि अन्य ठाउँमा चार्जिङ स्टेशन राख्ने कुनै योजना अघि बढेको छैन। माथिल्लो ताकोशीबाट आगामी पुस/माघ सम्म विद्युत उत्पादन हुने अनुमान छ।

गत वर्ष घिसिङले कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा प्राधिकरणको वर्तमान अवस्था र आगामी योजना सार्वजनिक गरेका थिए। त्यसबाहेक सञ्चारमाध्यमसँगको कुराकानीमा पनि उनले केही योजना सार्वजनिक गरेका थिए। त्यतिबेला सार्वजनिक गरिएका कतिपय योजना कार्यान्वयनको चरणमा भए पनि केही योजना भने अहिले अलपत्र अवस्थामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell