PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के तपाईँले गरेको फोनको रेकर्डिङ भइरहेको हुन्छ? कस्तो अवस्थामा हुन्छ रेकर्ड?



रासस

के तपाईँले गरेको फोनको रेकर्डिङ भइरहेको हुन्छ? कस्तो अवस्थामा हुन्छ रेकर्ड?
प्रतीकात्मक तस्बिर : voipreview.org

काठमाडौँ : ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ।
  
टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताए। 
  
 “प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन”, उनले भने। 
   
ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ। 

प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ। 
  
विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स) ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन्। 

प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाज नै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ। यसरी जडान गरिएको एप्सका आधारमा मानिसले विभिन्न विषयको कुराकानीको आवाज राख्ने गरेका छन्। यसरी राखिएको आवाजलाई टेलिकमको प्रविधिले गरेको भनी नबुझ्न पनि उनले सबैमा अनुरोध गरे।
  
संविधानको मौलिक हकमा व्यवस्था भएको गोपनीयताको हकबमोजिम टेलिकमका ल्याण्डलाइन टेलिफोन र मोबाइलमा कुराकानी गर्न सुरक्षित रहेको सहप्रवक्ता अधिकारीले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell