पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपमा पहिलो जित हात पारेको छ।
फिलिप काउटिन्हो र नेमारले इन्जुरी टाइममा गरेको गोल मद्दतमा ब्राजिलले कोस्टारिकालाई २-० ले पराजित गर्दै ३ अंक जोडेको हो। समूहको पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेको ब्राजिल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ भने अन्तिम १६ को नजिक पुगेको छ।
कोस्टारिकाले निर्धारित ९० मिनेटसम्म ब्राजिलको आक्रमणलाई गोल हुनबाट रोके पनि थप गरिएको ६ मिनेटको पहिलो मिनेटमै काउटिन्होले गाब्रीएल जेससले मिलाएको बलमा गोल गर्दै अग्रता दिलाए। इन्जुरी टाइमको अन्तिम समयमा नेमारले गोल थप्दै ब्राजिललाई २-० को जित दिलाएका हुन्।
दोस्रो हाफको सुरुमै जेससले प्रहार गरेको बल पोष्टमा लाग्दा ब्राजिलले अग्रता लिने मौका गुमाएको थियो।
७९औँ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएको थियो। तर कोस्टारिकाको खेलाडीले अपिल गरेपछि भिआरबाट रेफ्रीले उक्त पेनाल्टी दिएनन्।
उता कोस्टारिकाले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा कोस्टारिका सर्बियासँग १-० ले नै पराजित भएको थियो।