PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कहिले हट्छ इयुको कालो सूचीबाट नेपाल? उड्ययनमन्त्री यस्तो भन्छन् 



विधुर ढकाल

कहिले हट्छ इयुको कालो सूचीबाट नेपाल? उड्ययनमन्त्री यस्तो भन्छन् 

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले नेपाली उड्यन क्षेत्र युरोपीयन कमिसनको कालो सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन्। नेपाल सन् २०१३ को डिसेम्बर देखि युरोपियन कमिसनको कालो सूचीमा पर्दै आएको छ। सन् २०१३ को जुलाईदेखि नेपाललाई अन्तर्राष्ट्रिय उड्ययन नियमक निकाय आइकाओले गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो। यो सूचीबाट नेपाल सन् २०१७ को जुलाईमै हटेको थियो। तर, युरोपियन कमिसनले भने नेपाललाई निरन्तर कालो सूचीमा राख्दै आएको छ। 

आइकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट नेपाल हटिसकेकाले अब युरोपियन कमिसनको कालोसूचीबाट पनि हट्ने विश्वास उड्यनमन्त्री अधिकारीले लिए। 

बैठकमा समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी दिँदै उनले नेपालले आइकाओको उडान सुरक्षामापदण्ड पूरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको जानकारी गराए।
 
आइकाओको उडान सुरक्षाको मापदण्ड विश्व सरदर ६० प्रतिशतको तुलनामा नेपालको ६६ दशमलब ०८ प्रतिशत पुगेको छ। सुरक्षा मापदण्ड पूरा गरेकाले नेपालले अन्तराष्ट्रिय नागरिक उड्डन आइकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड समेत प्राप्त गरेको छ।
 
आइकाओले नेपाललाई गत वर्ष नै गम्भीर सुरक्षा चासोको सूचीबाट हटाएको थियो। 

उनले युरोपियन कमिसनको कालोसूचीबाट पनि ३ महिनाभित्र नेपाल हट्ने आश्वस्त पारे।
 
कमिसनको कालोसूचीबाट नेपाललाई हटाउन सरकारले पटक-पटक आग्रह गर्दै आएको थियो। तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले २०७३ सालको फागुनमा युरोपमा पुगी कमिसनका अध्यक्षलाई कालोसूचीबाट हटाउन आग्रह गरेका थिए।
 
त्यस यता, नेपालले पटक-पटक कालोसूचीबाट हटाउन पत्राचार गर्दै आएको थियो। युरोपियन युनियनले पटक पटक कालो सूचीबाट हटाउने आश्वासन दिए पनि सूचीलाई निरन्तरता दिँदै आएको छ। सन् २०१८ अद्यावधिक गरिएको सूचीमा पनि नेपाललाई 'कालो'मै राखिएको छ।
 
आठ दिन अगाडि मात्र युरोपियन कमिसनले प्रकाशित गरको सूचीमा नेपाललाई समेत समावेश गरेको छ। नेपालका सबै १८ विमानलाई असुरक्षित भन्दै युरोपेली नागरिकलाई ती विमानमा यात्रा नगर्न समेत सुझाव गरेको छ। साथै यो सूचीका कारण युरोपमा नेपाली विमानले उडान गर्न पाउँदैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell