PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'कांग्रेस हारको आरोपप्रत्यारोप खेल हारेपछि गोलकिपर र स्ट्राइकरले एकले अर्कालाई आलोचना गरेजस्तो'



नेत्र तामाङ

'कांग्रेस हारको आरोपप्रत्यारोप खेल हारेपछि गोलकिपर र स्ट्राइकरले एकले अर्कालाई आलोचना गरेजस्तो'

हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस जिल्ला सभापतिहरुले पार्टीको वर्तमान अवस्थाबारे आफ्नो धारणा राख्नेक्रम जारी रहेको जानकारी दिएका छन्।

आज मकवानपुरको हेटौंडामा जारी जिल्ला सभापतिहरुको भेलाको बन्दसत्रबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस हारको दोष एकले अर्कालाई दिनु फुटबलमा हार व्यहोरेपछि गोल किपर र स्ट्राइकरबीचको आरोपप्रत्यारोप जस्तै भएको बताएका छन्।

तीन विषयमा छलफल भइरहेको जानकारी गराउँदै प्रवक्ता शर्माले भने, 'अहिले तीनवटा विषयमा छलफल जारी छ। पहिलो समसमायिक मुद्दाहरुको सन्दर्भमा कांग्रेसले निर्माण गर्नुपर्ने दृष्टिकोण, दोस्रो बदलिएको संरचनाअनुसार विधानलाई परिमार्जन र तेस्रो निर्वाचन पराजयपछि आगामी दिनमा कसरी संगठन सुदृढ गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।'

निर्वाचनमा पराजय भएकोबारे पनि जिल्ला सभापतिहरुले प्राथमिकतासाथ धारणा राखिरहेको उल्लेख गर्दै शर्माले भने, 'एउटाले अर्काको कमजोरी खोज्ने क्रम जारी छ। अहिले फुटबलको मौसम छ।  फुटबल हारेर मैदानबाहिर निस्केको टिममा स्ट्राइकरले किन गोल छाडेको भनेर गोल किपरलाई भनिरहेको हुन्छ भने गोल किपरले पनि मैले त केवल एउटा गोल छाडेको, स्ट्राइकरले चारवटा अवसर किन छाडेको भनेर आलोचना गरिरहेको हुन सक्छ। कांग्रेसमा अहिले यो क्रम जारी छ।'

जिल्ला सभापतिहरुको सन्देश पार्टी नेतृत्व एक होस भन्ने चाहना रहेको उनले सुनाए। हिजोबाट शुरु भएको बन्दसत्र आजै रातिसम्ममा सकाउने तयारी रहेको प्रवक्ता शर्माले जानकारी दिए।

उपचार प्राकृतिक सिद्दान्तअनुसार


कांग्रेसका वरिष्ठ नेताहरुले जिल्ला सभापतिलाई कांग्रेसको उपचारको फर्मुला पत्ता लगाइदिन आग्रह गरेका थिए। यससम्बन्धी फिडब्याक कस्तो आएको छ? प्रश्नको जवाफमा प्रवक्ता शर्माले भने, 'धेरै फर्मुलाहरु आएको छ। धेरै डाक्टर भेला भएका छन्। कैलेकही डाक्टरबीच कुरा नमिल्न सक्छ। कांग्रेसलाई रुपान्तरण गर्नका लागि सुझाव दिनुभएको छ। फाइनल औषधि बन्छ। निर्वाचनअघि कांग्रेस गम्भीर बनेन होला। अब सबै  जिल्लामा जिल्लामा घामपानी उहाँहरुले हाँकिरहनुभएको छ। उहाँहरुले दिनुभएको फिडब्याक धेरै महत्वपूर्ण हुनेछ।'

कांग्रेसको उपचार यसरी नै सुझाव लिएर प्राकृतिक चिकित्सा सिद्दान्तअनुसार भइरहेको उनको धारणा रहेको थियो। 'प्राकृतिक चिकित्साअनुसार उपचार राम्रो हुन्छ कि भनेर छलफल भइरहेको छ,' शर्माले भने।

जिल्ला सभापतिहरुको फिडब्याक बमोजिम कांग्रेसले साझा धारणा बनाउने र भोलि नै यसलाई प्रस्तावका रुपमा घोषणापत्र जारी गरिने उनले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell