PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गगन थापा प्रदेश ३ को सभामा अतिथि, पाँच मिनेटमै सकियो बैठक : 'पूर्वाधार कमजोर देखियो'



नेत्र तामाङ

गगन थापा प्रदेश ३ को सभामा अतिथि, पाँच मिनेटमै सकियो बैठक : 'पूर्वाधार कमजोर देखियो'

हेटौंडा : प्रदेश ३ को सभामा आज ११ बजे 'कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५' विषय पारितका लागि बैठक डाकिएको थियो। बैठक निर्धारित समय ११ बजे प्रदेश सभाको भवनमा शुरु भयो।

उक्त विधेयक छलफलका लागि समितिमा पठाउन सभामुख सानुकुमार श्रेष्ठले सदनमा पेश गरे। कांग्रेस सांसद प्रभात लामाले उक्त विधेयकको प्रतिलिपि सदनका सदस्यहरुलाई उपलब्ध नगराएको भन्दै नियमापत्ति जनाएका थिए।

त्यही बेला प्रतिनिधि सभाका सांसद गगन थापा प्रदेश सभाको अतिथि कक्षामा आइपुगे। अतिथिको सिटमा बसिरहेका थापा राम्रोसँग नदेखेको भन्दै दर्शक दीर्घको सिटमा आइपुगे। उनी अतिथि कक्षामा आउनसाथ सदनमा उक्त विधेयक समितिमा पठाउन आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले पेश गरिसकेका थिए। एकैछिनमा उक्त प्रस्ताव बहुमतले पारित भयो। र पाँच मिनेटमै बैठक सकियो।

पूर्वाधार कमजोर देखियो-थापा


आफ्नो प्रदेशको सभामा पहिलोपटक आउन पाएकोमा खुसी लागेको थापाले प्रतिक्रिया दिए। कांग्रेस जिल्ला सभापतिहरुको भेलामा सहभागी हुन आएको मौकामा उनी आज प्रदेश सभाको बैठकमा अतिथिका रुपमा आइपुगेका थिए।

सदनको काम कारबाही अवलोकनपछि थापाले प्रदेशको केन्द्रको पूर्वाधार कमजोर रहेको बताए। थापाले भने,'राजधानीको विषय तत्काल टुंग्याएर पूर्वाधार बनाउनुपर्ने देखियो। यस्तो भयो भने संसदको बैठकसमेत सञ्चालन गर्न गाह्रो हुन्छ।'

प्रदेश सभाको बैठक कस्तो लाग्यो त?  'सदन लामो समय बसेर हेर्न पाइनँ। छिट्टै सकियो,' थापाको उत्तर थियो।

संघीय संसदमा जस्तै प्रदेश सभामा पनि कांग्रेस कमजोर छ। नियमापत्तिको कुनै वास्ता गरिएन नि?

जवाफमा थापाले भने, 'संसदमा नयाँनयाँ भएर पनि होला, नियमापत्ति गर्दागर्दा पनि पास भएको जस्तो लाग्यो। प्रतिपक्षी पनि नयाँ नयाँ नै छन्। सत्ता पक्ष पनि नयाँ नयाँ छन्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell