PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केकीलाई निलु डोमाको अन्तिम चिनो : अर्जेन्टिनाको जर्सी

केकीलाई निलु डोमाको अन्तिम चिनो : अर्जेन्टिनाको जर्सी

रीना मोक्तान/पहिलोपोस्ट


सन् २०१४ को विश्वकप फुटबल अभिनेत्री केकी अधिकारीको लागि अविस्मरणीय छ। फाइनलमा थियो उनले समर्थन गरेको टिम अर्जेन्टिना र जर्मनीबीच।

'फाइनलमा पुगेर पनि जित्न सकेन,' केकी सम्झन्छिन् र हत्तपत्त भन्छिन्, 'तर, हार र जितभन्दा माथि खेलसँग जोडिएका यादहरू छन्।'

यति के भनेकी थिइन् उनको नजर आफ्नै जर्सीमा पर्‍यो। सँगै उनको आँखामा आँसु टिल्पिलायो।

'मलाई यो जर्सी निलु डोमाले दिएकी हुन्,’ केकीले राज खोलिन्, ‘उनी पनि अर्जेन्टिनाकै फ्यान थिइन्।'

केकीले लगाएको जर्सीमा 'केकु' लेखिएको प्रस्ट देखिन्छ। केकी अभिनीत फिल्म 'हाउ फन्नी' निर्देशक हुन् निलु डोमा। गत वर्ष असारमा हृदयघातका कारण उनको निधन भयो। २०१४ को विश्वकपमा यी दुईले एकसाथ अर्जेन्टिनाको लागि हुटिङ गरेको सम्झिन्छिन् केकी।

भन्छिन्, 'अस्ति भर्खर जस्तो लाग्छ। तर ४ वर्ष भइसकेछ। उनले छोडेको पनि १ वर्ष भइसक्यो तर यो जर्सी नयाँ लाग्छ अनि उनी आफूसँगै भएजस्तो।'

भावुक बन्दै गएको वातावरण सम्हाल्न खोज्दै आफ्नो योजना सुनाउँछिन्।

यो वर्ष रसियामा भइरहेको विश्वकपको मेजर गेमहरू नछुटाउने योजनामा छिन् उनी।

'कोहलपुर एक्सप्रेस'को ‘इन्टरनेसनल सो’का लागि अष्ट्रेलियामा हुन्छिन् तर विश्वकप हेर्न समय मिल्नेमा ढुक्क छिन्।

'अष्ट्रेलियामा बसेर अष्ट्रेलियाकै गेम हेर्दाको रौनक त झन् कस्तो होला? म त निकै एक्साइटेड छु,' उनले भनिन्।

केकी सानैदेखि विश्वकप हेर्थिन्। विश्वकपले उनमा छुट्टै उत्साह थप्ने गरेको छ।

'चार वर्षमा आउने विश्वकपले रुटिनमा चलिरहेको जीवनमा रोचकता थप्छ,' केकी भन्छिन्। उनका लागि वर्ल्डकप बहाना हो- खुसी हुनका लागि। ब्रेक लिनका लागि।

झुक्केर अर्जेन्टिनाको टिममा

बाल सिर्जनालय स्कुलको होस्टेल बस्दादेखि नै उनी अर्जेन्टिनाकी सपोर्टर हुन्। कक्षा ३ मा पढ्दाको कुरा हो त्यो। 'होस्टेलमा माहोल बन्थ्यो, विश्वकपको। टिम छानेर विश्वकप हेर्ने माहोल,’ उनले सुनाइन्, ‘त्यतिखेर सिनियर दाइ दिदीले अर्जेन्टिनाको सपोर्ट गरेको देखेर म पनि त्यतैको समर्थक भएकी हुँ। त्यसैले सानैदेखि अर्जेन्टिना मेरो टिम हो, यसैले जित्नुपर्छ भन्ने छाप पर्‍यो ।'

उनीसँग विश्वकपका सम्झनयोग्य धेरै स्मृति छ। ‘होस्टलमा टिभी हेर्न समय तोकिएको हुन्थ्यो। तोकिएको समयमा जुन गेम हुन्छ त्यही हेर्नुपर्ने बाध्यता। त्यसमाथि ब्ल्याक एण्ड ह्वाइट टिभी,’ सुनाइन्, 'को टिभीको नजिक बस्ने भनेर झगडा पर्थ्यो। टाढाबाट हेर्दा सबै खेलाडीको जर्सी उस्तै देखिन्थ्यो। कहिलेकाहीँ आफ्नै टिमको खेलाडी समेत चिन्दैन थियौँ।' यो सुनाइरहँदा हाँसो रोक्न सकिनन् उनले।

अहिले समय बद्लिसकेको छ, रङ्गीन टिभी हुँदै अहिले प्रोजेक्टरमा विश्वकप हेर्छिन् केकी। अर्जेन्टिनाका खेलाडी मेस्सी उनको फेवरेट हुन्। उनी मेस्सीको प्रशंसा गर्न थाक्दिनन्।

भन्छिन् 'यो दशककै राम्रो खेलाडी हुन् मेस्सी। ब्लेस्ड खेलाडी। मेस्सीलाई बेस्ट प्लेयर भन्छु म। उनकै कारण पनि अर्जेन्टिनाले यसपालि विश्वकप डिजर्भ गर्छ।'

मेस्सी मात्र नभई डि मारिया, सालभिया पनि टिमका राम्रा खेलाडी रहेको बताइन्। 'यी सबले अर्कोपटक थप एक तारा भएको जर्सी लगाउने मौका दिलाउँछन् भन्ने आशा छ,' उनले दावेदारी पेस गरिन्।

पछिल्लो विश्वकपमा भने मेस्सीको आँखाबाट आँसु झर्दा केकी पनि रोएकी थिइन्। त्यतिखेर अर्जेन्टिनाको टिमवर्क त्यति प्रभावकारी नभएको उनको बुझाइ छ। भन्छिन्, 'फिल्म जस्तै न हो खेल, एकजना खेलाडीले जित्ने होइन। टिमवर्क राम्रो हुनुपर्छ।'

विश्वकपको फाइनलको समय उनको फेमिली टाइम पनि हो। उनी सधैँ परिवारसँग बसेर हेर्ने गर्छिन्। भनिन्, 'फिनाले सधैँ परिवारसँग बसेर हेर्छु। साथीहरूसँग पनि हेर्दिन। त्यो समय परिवारको लागि छुट्ट्याउँछु।'

उनको घरमा विश्वकपको अनौठा सपोर्टर छन्। उनको भाइ नेदरल्याण्ड्सको सपोर्टर हुन्। बुबा एसियाली देशहरूको सपोर्टमा हुन्छन्। आमा भने खेलाडीका जर्सीका रङ्गका आधारमा टिम सपोर्ट गर्छिन्। 'आमालाई जुन जर्सीको रङ्ग मनपर्छ। त्यही सपोर्ट गर्सिन्छ,' उनले सुनाइन्।

सामाजिक सञ्जालमा विश्वकपका कारण नेपाली आक्रमक रूपमा प्रस्तुत भएको देखेर भने उनलाई चित्त बुझेको छैन। 'खेलले त जोड्नु पर्ने हो। एकअर्काको सद्भाव र सम्मान सिकाउन पर्ने हो तर हाम्रोमा विपरीत देखिएको छ,' उनले भनिन्।

एउटाको सपोर्टर हुनुको अर्थ अर्कोको अस्वस्थ आलोचना गर्नु नभएको उनको तर्क छ। केकी स्वयम् पनि कुन टिम बलियो भनेर अड्कल गर्दिनन्। उनले चार वर्षअघि बलियो भनिएको टिम पनि कताकता कमजोर भइसक्ने उनले महसुस गरेकी छिन्। 'त्यसैले चार वर्षमा आफ्नो जीवनमा, काममा धेरै परिवर्तन ल्याउन सकिने अवधि हो भनेर बुझ्नुपर्छ सायद।'



ट्रेन्डिङ पोस्ट

Ncell