PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रोनाल्डोले चौथो मिनेटमै गरेको गोल निर्णायक बन्दा पोर्चुगल विजयी, मोरोक्कोको लगातार दोस्रो हार

रोनाल्डोले चौथो मिनेटमै गरेको गोल निर्णायक बन्दा पोर्चुगल विजयी, मोरोक्कोको लगातार दोस्रो हार

पहिलोपोस्ट /पहिलोपोस्ट


क्रिस्टियानो रोनाल्डोले खेलको चौथो मिनेटमै गरेको गोल निर्णायक बन्दा पोर्चुगलले रसिया विश्वकपमा पहिलो जित हात पारेको छ।

समूह बी अन्तर्गत दोस्रो खेलमा पोर्चुगलले मोरोक्कोलाई १-० ले हरायो। रोनाल्डोले जाओ माउटिन्होको क्रसमा डाइभिङ हेडरमार्फत् गोल गर्दै युरोपियन राष्ट्रलाई अग्रता दिलाएका थिए।

अन्तत: सोही गोल निर्णायक बन्दा पोर्चुगल विजयी हुँदै ३ अंक जोड्न सफल भयो। मोरोक्कोले पनि गोल गर्ने राम्रा मुभ बनाए पनि पोर्चुगलका गोलकिपर रुइ प्याट्रिसियो बाधक बने।

मोरोक्कोले ५५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै पोर्चुगलमाथि दबाब बनाए पनि गोल स्कोर गर्न नसक्दा पराजित हुनुपर्‍यो।

जितपछि पोर्चुगलले सन् १९८६ को विश्वकपमा मोरोक्कोसँग बेहोरेको हारको बदला समेत लिएको छ।

मोरोक्को विरुद्धको गोलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने युरोपियन खेलाडी समेत बनेका छन्। जारी विश्वकपमा चौथो गोल गरेका रोनाल्डोले पोर्चुगलका लागि समग्रमा १५२ खेल खेल्दै ८५ गोल गरेका छन्। उनले ८९ खेलमा ८४ गोल गरेका हंगेरीका फेरेन्च पुस्कासलाई पछि पारेका हुन्।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने इरानका अली दाइको नाममा छ। उनले १४९ खेलमा १०९ गोल गरेका छन्।

जितपछि २ खेलबाट ४ अंकसहित पोर्चुगल समूह बी को शीर्ष स्थानमा छ र अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको थियो।

यस्तै पहिलो खेलमा मोरोक्कोलाई १-० ले पराजित गरेको इरानले पनि ३ अंक जोडेको छ। आजै स्पेन र इरानबीच खेल पनि हुँदैछ।

उता लगातार दोस्रो हारपछि मोरोक्को भने समूह चरणबाटै बाहिरिने पहिलो टिम बनेको छ। पहिलो खेलमा इरानसँग हारेको मोरोक्कोले अब स्पेनसँग समूहको अन्तिम खेल खेल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell