PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बेइजिङमा प्रधानमन्त्री भने– चीन मेरो घर, नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह



पहिलोपोस्ट

बेइजिङमा प्रधानमन्त्री भने– चीन मेरो घर, नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह
Photo: RSS

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सन् २०१६ को चीन भ्रमणका क्रममा नेपाल र चीनका नेतृत्वबीच दुई देशको सम्बन्ध उच्च स्तरमा अगाडि बढेको बताउँदै द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताएका छन्।

उत्तरी छिमेकी चीनको ६ दिने राजकीय भ्रमणका क्रममा बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासले भ्रमणदलको सम्मानमा होटेल डबल ट्रिमा आयोजना गरेको रात्रीभोजमा उनले यस्तो बताएका हुन्।

‘हामीले हाम्रा जनताको लागि शान्ति र समृद्धिको नयाँ युगको सुरुवात गरेका छौँ,’ उनले भने, ‘हामीले सबैका लागि उज्ज्वल भविष्यको जग बसालेका छौँ।’ प्रधानमन्त्री ओलीले आफूलाई सधैँ चीन आफ्नो घर जस्तै लाग्ने समेत बताए।

अघिल्लो भ्रमणका क्रममा पारवाहन, कनेक्टिभिटी, व्यापार, लगानी र साझेदारीका क्षेत्रमा महत्त्वपूर्ण सन्धिमा हस्ताक्षर भएको भन्दै नेपाल बेल्ट एण्ड रोड इनिसियटिभको साझेदार बन्न तयार भएको समेत बताए।

‘हामी आर्थिक विकास गतिलाई अगाडि बढाउन सहमत भएका छौँ। हामीले द्विपक्षीय व्यापार, लगानी, क्रस बोर्डर इकोनोमिक जोन तथा अन्तरदेशीय रेलमार्ग र नेपालसँग रेलमार्ग नेटवर्कसमेत सहमत छौँ,’ उनले अगाडि भने, ‘गहिरो विश्वास र नेपाल चीन सम्बन्धको नयाँ युगको नयाँ भिजनको बुझाई लिएर म फेरि आएको छु।’

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समान संस्कृति मूल्य र मान्यता रहेको भन्दै नेपाल र चीन साझा विकास र आपसी विश्वासका साथ अनन्त शान्ति र समृद्धिका लागि मिलेर काम  गर्ने समेत बताए। ‘यही विश्वास र साझेदारी नेपाल–चीन सम्बन्धका महत्त्वपूर्ण खम्बा हुन्,’ उनले भने।

प्रधानमन्त्री ओलीले नेपाल सरकारले सीमा क्षेत्रमा यातायात सञ्जाल विस्तारका लागि उच्च प्राथमिकतामा राखेको बताए। ‘हाम्रो जस्तो भुपेरिवेष्टित राष्ट्रका लागि रेलवे कनेक्टिभिटी महत्त्वपूर्ण रहेकोमा म विश्वास राख्छु,’ उनले भने। रेल वे कनेक्टिभीले यातायात ढुवानी शुल्क घट्ने र आर्थिक क्षेत्रका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। ‘त्यस्तैले पनि हामी नेपाल र चिन व्यापार र कनेक्टिभिटिलाई सुधार गर्नका लागि हिमाल वारपार रेलवे सञ्जालको विकास गर्नका लागि मेरो २०१६ को चीन भ्रमणमा सहमति भएको थियो,’ उनले भने, ‘क्रस बोर्डर रेल पूर्वाधार निर्माण गरी नेपाल नीति सम्बन्ध र द्विपक्षीय साझेदारीलाई विकास गर्नका लागि हामी यो सहमतिलाई मूर्तरुप दिन प्रतिबद्ध छौँ।’

नेपालमा रेलवेसँगै बहुआयामिक कनेक्टिभिटिका क्षेत्रमा समेत चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको भन्दै प्रधानमन्त्री ओलीले सडक हवाई सञ्जार तथा ऊर्जाका क्षेत्रमा चिनियाँ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

‘प्राचीन सिल्क रोडबाट नेपाल र चीन दुवैले व्यापार तथा वाणिज्यका क्षेत्रमा फाइदा लिएका हुन्। प्राचीन चीनको दक्षिण एसिया प्रवेशका लागि नेपाल महत्त्वपूर्ण व्यापार कोरिडोरको रूपमा थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘दुवै देशले दक्षिण सिल्क रोडलाई पुनः व्यूँताउँदै थप आर्थिक विकाससँगै आपसी फाइदा लिनु पर्छ। हामीले यो अवसरलाई सदुपयोग गर्दै आर्थिक साझेदारी र हाम्रा जनताका लागि नयाँ अवसर सिर्जना गर्नुपर्छ।’

नेपालमा लामो समयको राजनीतिक अस्थिरतापछि स्थायीत्व आएको भन्दै उनले नेपाल आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताए।
‘मेरो सपना समृद्ध नेपाल सुखी नेपाली एउटा सपना मात्र होइन नेपाली जनताले दिएको म्यान्डेट पनि हो,’ उनले अगाडि भने, ‘हामीलाई निश्चित समयसीमाभित्र यो सपना पूर्ण गर्नुको विकल्प छैन।’

यो सपना पूरा गर्नका लागि उनले चिनियाँ लगानीकर्ता व्यवसायीहरूलाई विकास र साझेदारीमा हात मिलाउन समेत प्रधानमन्त्री ओलीले आग्रह गरे।

‘यहाँहरू सबैलाई नेपालमा स्वागत छ। तपाईँहरूलाई नेपालमा लगानी र व्यवसाय गर्न स्वागत छ,’ उनले भने, ‘हामी तपाईँहरूलाई नेपालको आर्थिक विकासका अति विश्वासिलो र महत्त्वपूर्ण साझेदारको रूपमा स्वागत गर्दछौँ।’

चिनियाँ विदेश सहायक मन्त्रीले गरे स्वागत


यसैबीच चिनियाँ राज्यपरिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा बेइजिङ पुगेका प्रधानमन्त्री अोलीलार्इ चिनियाँ विदेशमन्त्रालयका सहायकमन्त्री झुयाङ हान हुईले स्वागत गरे।

राजधानी बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री अोलीको स्वागतमा सहायक विदेशमन्त्री हुर्इसँगै उच्च सरकारी अधिकारी तथा नेपाली दुतावासका प्रतिनिधिहरूले स्वागत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell