PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राजपा अध्यक्ष मण्डल विघटनका लागि चर्को दबाब



बीपी साह

राजपा अध्यक्ष मण्डल विघटनका लागि चर्को दबाब

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर गत वर्ष गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सबभन्दा शक्तिशाली अंग अध्यक्ष मण्डल भंग गर्नका लागि दवाव बढेको छ। 

६ वटै पार्टीका अध्यक्ष सम्मिलित अध्यक्ष मण्डलले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै राजनीतिक समितिका सदस्यहरुले अध्यक्ष मण्डल विघटनको माग गरेका हुन्।

अध्यक्ष मण्डलको कामकारवाहीप्रति अधिकांश नेता तथा कार्यकर्ता रुष्ट छन्।
 
सोमबारबाट सुरु भएको राजपाको राजनीतिक समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्ष मण्डल विघटन गरी महाधिवेशनको मिति तोक्ने माग गरेका छन्।

सोमबारको बैठकमा सहअध्यक्ष लक्ष्मण लाल कर्णले नै अध्यक्ष मण्डलको 'मोनोपोली'माथि प्रश्न उठाए। निर्वाचन आयोगको पत्रका विषयमा पनि कर्णले चर्चा गरेका थिए।
 
यसैगरी अर्का उपाध्यक्ष बृषेश चन्द्र लालले पनि अध्यक्ष मण्डल तानाशाही भएको आरोप लगाए। उनले पार्टी लथालिंग रहेको र अध्यक्ष मण्डल आफैमा व्यस्त रहेको बताएका थिए।

अर्का उपाध्यक्ष नरसिंह चौधरीले पनि पार्टी अध्यक्ष मण्डलको घेरामा परेकोमा आक्रोश व्यक्त गरे। आफुहरु कसैको बन्धनमा बाँधिएको जस्तो महसुस भइरहेको सुनाएका थिए उनले। पार्टी संगठन निर्माणमा कसैको ध्यान नगएको उनको आरोप थियो।

बैठकमा सहभागी एक महासचिवका अनुसार मंगलबार साँझसम्म अधिकांश राजनीतिक समिति सदस्यहरुले बोलेका छन्। जसमध्ये अधिकांशले अध्यक्ष मण्डलको आलोचना गर्दै विघटनको माग गरेका छन्।
 
संयोजक महन्थ ठाकुर निकट नेताहरुले ठाकुरलाई अध्यक्ष घोषणा गरी पार्टी महाधिवेशनमा जान माग गरेका छन्।
 
सोमवार बैठकको सुरुवातमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र ठाकुरले विषय प्रवेश गराएका थिए। जसक्रममा महतोले सरकारमा सहभागी हुने अथवा नहुने भन्ने विषयमा पनि चर्चा गर्न आग्रह गरेका थिए।

ठाकुरले भने पार्टी महाधिवेशनका विषयलाई जोड दिएका थिए।

बैठकमा पार्टीको विधान र संसदीय दलको विधान तथा महाधिवेशनको मितिका विषयमा समेत छलफल भइरहेको छ।
मंगलबार अबेरसम्म राजनीतिक समितिको बैठक सम्पन्न हुने सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell