PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डा. उपेन्द्र देवकोटाको विदाई :  यस्तो रह्यो बिहानदेखि अन्त्येष्टिसम्मका दृश्य 



सागर बुढाथोकी

डा. उपेन्द्र देवकोटाको विदाई :  यस्तो रह्यो बिहानदेखि अन्त्येष्टिसम्मका दृश्य 

काठमाडौँ :  बाँसबारीस्थित न्यूरो अस्पतालमा सर्वसाधारणहरु वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई अन्तिम बिदाई गर्न लामवद्ध छन्।

अस्पतालको प्राङ्गणमा डा. देवकोटाको मृत शरीरलाई राखिएको छ। टाउकोमा ढाकाटोपी र शरीर फूलको गुच्छाले छोपिएको छ।  छेउमै छिन् डा. देवकोटाकी पत्नी मधु देवकोटा र उनका तीन छोरीहरु जसलाई श्रद्धान्जली दिन आउनेहरुले सम्झाइरहेका छन्। निराश अनुहार लिएर बसिरहेका उनीहरुसँग सर्वसाधारणहरु सान्त्वना दिँदादिँदै रुन थाल्छन्। तर, उनीहरुले आफैलाई सम्हालिरहेका छन्।

उनीहरुलाई थाहा छ, अब फेरि कहिल्यै त्यो सग्लो अनुहार देख्न पाइने छैन। बाबासँगको स्पर्श त्यो नै अन्तिम हुनेछ। न त अब बाबाको आवाज नै कहिल्यै सुन्न सक्छन्। त्यसैले आज बाबाको अन्तिम बिदाईमा उनीहरु निष्प्राण शरीरको स्याहार गरिरहेका छन्। पार्थिव शरीर मिलाइरहेका छन्। शरीरमा परेका फूलका गुच्छाहरु मिलाउँछन्।  अनुहारमा परेको अबिर पुच्छन्। 

देवकोटालाई कुनै असजिलो नहोस् भनेझैँ उनीहरु हरबखत देवकोटाको शरीरमा परेका फूलमाला अविर मिलाइरहेका थिए। बिहान ७ बजेदेखि अस्पतालमा आएर सर्वसाधरण, नेता, कलाकार, डाक्टर र बिरामीले देवकोटालाई श्रद्धान्जली दिए। 

डा. देवकोटाका सहपाठी डा बाबुराम भट्टराई श्रद्धान्जली दिन बिहानै पुगे। डा. देवकोटा पत्नी मधू र उनका छोरीहरुलाई सान्त्वना दिए। देवकोटाको पार्थिव शरीरमा श्रद्धान्जली दिएपछि भने, 'डा. देवकोटाको साथी हुँ भन्दा गर्व महशुस हुन्छ। उहाँले देशविदेशमा नेपालको नाम राख्नुभयो। धेरैको ज्यान जोगाउनुभयो।

डा. बाबुराम भट्टराई बोल्दै गर्दा एक महिला डाँको छाडेर रुन थालिन्। उनी भन्दै थिइन्,  'म मरिसकेको मान्छेलाई उहाँले बचाउनुभो। तर आज संसार छोडेर जानुभयो।' 

ती महिलाजस्तै त्यहाँ विलौना गर्ने अरु महिलाहरु पनि थिए। सबैको आँखामा आँसु रसाएको थियो। भिडहरुको बीचमा पनि अस्पतालको माहौल सुनसान थियो।

वरिष्ठ डा. सन्दुक रुइत पनि आइपुगे श्रद्धान्जली दिन। उनले राष्ट्रको लागि एउटा नागरिकले गर्नुपर्ने कर्तव्यभन्दा धेरै डा. देवकोटाको योगदान रहेको सुनाए। भने , 'नेपालले मात्र हैन संसारले नै यो समयको अब्बल डाक्टर गुमाए।'

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डा. देवकोटालाई पुष्पगुच्छा अर्पण गर्दै भने, 'डा. देवकोटा देशको चिकित्सा सुधारका योद्धा थिए। उनको मृत्युले सारा नेपाली निराश छन्।'

त्यस्तै प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले डा. देवकोटाको परिवारसँग लामो समय भलाकुसारी गरिन्। सान्त्वना दिइन्, र रुँदै भनिन् , 'डा देवकोटाबाट अनुशासन सिक्नुपर्छ।' 

आफ्नी श्रीमतीसँगै पुगेका एनआरएन नेता तथा व्युवसायी शेष घलेले डा. देवकोटाको मृत्युले आफूलाई निराश बनाएको सुनाए।

एमाले नेता सुवासचन्द्र नेम्वाङ,  वामदेव गौतम, योगेश भट्टराई लगायतका नेताहरु श्रद्धान्जली दिन पुगेका थिए।

प्रधानसेनापति राजेन्द्र क्षेत्री,  नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र ने क पाकी नेतृ पम्फा भुसालले पनि अस्पताल पुगेर श्रद्धाञ्जली दिए। उनीहरुले डाक्टर देवकोटाको परिवारलाई सान्त्वना दिँदै भने,  'उहाँ नेपालीको लागि रियल हिरो हुनुहुन्थ्यो।'

महान्यायाधिवक्ता अग्नि खरेल, गायक योगेश्वर अमात्यले पनि न्यूरो अस्पताल पुगेर श्रद्धान्जली दिए।

दिउँसो तीन बजे उनलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पुराइयो। डा. देवकोटाकी पत्नी डा. मधु र तीन छोरीहरु मेधा, वसुधा र मन्जरीले दागबत्ती दिए।

डा. देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको न्युरो अस्पतालले जानकारी गराएको थियो। उनलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने सरकारले निर्णय आजै गरेको थियो। 

बेलायतमा पाँच महिना लामो उपचारपछि डा. देवकोटा  गत वैशाखमा नेपाल फर्केर बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका थिए। उनी आफैले पनि आफू धेरै समय नबाँच्ने कुरा सार्वजानिक गरिसकेका थिए।

उनले आफुलाई 'वाइल डक्ट' (पित्त थैली) क्यान्सर देखिएको कुरा सार्वजानिक गरेका थिए। चिकित्सकहरुका अनुसार 'वाइल डक्ट' अर्थात् निको नहुने क्यान्सर हो। यो क्यान्सर लागेपछि मानिसको बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ। 

पित्त थैली वा पित्त नलीको क्यान्सर नराम्रो क्यान्सरको क्याटोगरीमा पर्ने क्यान्सर हो। यस्ता क्यान्सर विकसित देशका विरामीमा पनि ढिलो मात्र देखिन्छ। अर्थात् क्यान्सर लास्ट स्टेजमा आइपुग्दा मात्र थाहा हुने क्यान्सर हो— पित्त नलीको क्यान्सर।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell