PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

जर्मनीका जबरजस्त फ्यान सांसद सिलवाल जो रंगशालामा फुटबल हेर्न चोरबाटोबाट छिर्थे

जर्मनीका जबरजस्त फ्यान सांसद सिलवाल जो रंगशालामा फुटबल हेर्न चोरबाटोबाट छिर्थे

बीपी साह/पहिलोपोस्ट


प्रहरी सेवाबाट विराम लिएका नवराज सिलवाल राजनीतिमा आउने बित्तिकै सांसदमा निर्वाचित पनि भए। संसदमा विनियोजित बजेटमाथि छलफलको व्यस्त समयका बाबजुद पनि फुटबल हेर्न भ्याइराखेका छन् उनले। जर्मनी टीमका समर्थक सिलवालको विश्वकपको विश्लेषण बेग्लै छ। उनी भन्छन्, ‘पछिल्लो विजेतालाई कम्पिटिसन नगराई विश्वकप खेल्न दिने प्रवृत्तिले उनीहरु हार्ने गरेका छन्।’ 

नेपालभित्र राष्ट्रियता बलियो बनाउन खेलमा ध्यान दिनु पर्ने सिलवालको भनाइ छ। तत्कालै सबै खेललाई एकै पटक अगाडि बढाउन नसकिए पनि कुनै एक खेलमा बढी लगानी गरेर सबै अन्तर्राष्ट्रिय खेल खेल्न सक्ने बनाउनुपर्ने उनको धारणा छ।

‘स्कुल र कलेज पढ्दा फुटबल खेल्थेँ। म त लेफ्ट मिड फिल्डमा खेल्थेँ। बिस्तारै खेल्न छोडियो तर लगाब राम्रै रह्यो। नयाँ–नयाँ प्रयोगहरु भइरहेको हुन्छ, नियम परिवर्तन भइरहेका छन्। सबै जानकारी राख्न नसकिए पनि अहिले पनि खेल्ने इच्छा हुन्छ,’ उनले सुनाए

उनी खेललाई राष्ट्रसँग जोडेर र्हेछन्। खेलबाट राष्ट्रिय एकता बलियो हुने उनको तर्क छ। भने, ‘गेमले राष्ट्रप्रतिको भावना बढाइदिन्छ। घरमा विवाद हुँदा पनि गेम सुरु भएपछि त्यो विवाद सकिन्छ।’ 

सिलवाल चाहन्छन् कुनै दिन नेपाल पनि वर्ल्डकप खेल्न सकोस्।

‘म पनि आफ्नो देशका लागि चियर गर्न सकुँ। बच्चामा लाग्थ्यो कि हाम्रो देशले पनि विश्व कप खेल्नेछ। तर, आर्थिक अवस्थाले गर्दा सम्भव हुन सकेको छैन,’ उनले भने, ‘एसियन देशहरु पनि जान्छन् जस्तो लाग्थ्यो तर त्यो पनि राम्रो भएको छैन।’


पछाडिबाट छिर्थे रंगशाला

‘फुटबल पहिला दशरथ रंगशालामा हेर्न जान्थ्यौं। ३०–३५ वर्ष अगाडिको कुरा हो। त्यो जमानामा राम्रो–राम्रो खेलाडीहरु हुन्थे, रुपक राज शर्मा, अशोक केसीजस्ता। इन्टर्टेन्मेन्टका अरु मध्यम पनि थिएन त्यतिबेला। स्कुल र कलेजबाट निस्केर फुटबल हेर्न जान्थ्यौं,’ उनले भने, ‘फुटबल प्रायः दशरथ रंगशालामा हेर्न गइन्थ्यो। तर, जुन एउटा रंगशालाको घटना भयो त्यो म अहिले पनि सम्झिन्छु थुप्रै मान्छे मरेका थिए। सरकारमा पनि खटपट भयो। त्यही भएर कहिले कहिले चाहिँ यो रिस्की लाग्छ।’

उनका साथीहरु सँधै फुटबल हेर्न जान्थे। तर, उनी भने कहिले काहीँमात्रै। टिकट किन्ने पैसा हुन्थेन। त्यसैले रंगशालामा पछाडितिरको बाटोबाट छिर्थे। 
 

खेलकुद मन्त्री भए भने…

अहिले तपाईँ सांसद भइसक्नुभयो। मानौं तपाईँ खेलकुद मन्त्री हुनु भयो भने के गर्नु हुन्छ? हाम्रो प्रश्नमा उनले सोझै भने, ‘मलाई खेलकुदको जिम्मेवारी दिइयो भने मैले नलिने पनि सम्भावना हुनसक्छ। तर, मलाई के लाग्छ भने खेलकुदले देशभित्रको विभाजन जोडिन्छ। सबै एक ठाउँमा आउँछन्।’ 

‘मलाई अवसर दिइयो भने फुटबल अथवा क्रिकेट कुनै एकमा विशेष लगानी गरेर एउटा खेललाई अगाडि बढाउने छु। सबैलाई एकै पटक अगाडि बढाउन साध्य हुँदैन,’ उनले परिकल्पनात्मक प्रश्नको जवाफ फर्काए।

फुटबलले एक गराउने कुरामा उनी विश्वस्त छन्। चुनावको समयमा भएको तिक्तता पनि यस्ता खेलले मेट्ने उनको बुझाइ छ। सानातिना विवादहरु पनि मेटिने बताउँछन् खेलबाट।

‘खेलका बेला अरु मुलुकका मान्छेले हामी कसैलाई हेप्यो भने हामी एक हुन्छौं। यही हो खेलको दम,’ सिलवालले भने, ‘मैले यूएनमा काम गर्दा हेरेँ। नाइजेरिया, घाना अथवा इजिप्टका मानिस धेरै कुरा विभाजित छन्। तर, वर्ल्डकप भएको बेला सबै एक ठाउँमा आउँछन्।’

ब्राजिलमा छोराछोरी जन्मिँदा फुटबलर बनोस् भन्ने चाहने तर नेपालमा भने डाक्टर इन्जिनियर बनाउने सोच रहेको उनको बुझाइ छ। ‘पैसा आउने ठाउँ भन्सार, प्रहरी लगायतमा काम गर्न लगाउँछन्,’ उनले भने।

नेपालको विश्वकप नाता कतैबाट पनि जोडिएको छैन। भविष्यमा पनि के हुन्छ भन्न सकिन्न। ‘चीनले सुरु गरिसकेको छ स्कुल स्तरबाटै। त्यसकारण हाम्रो नेपालमा पनि सातवटै प्रदेशबाट सुरु गरिन्छ भने १०–१५ वर्षमै अगाडि जान सकिन्छ,’ उनले सुनाए, ‘त्यसका लागि गाउँगाउँबाट मान्छेहरुलाई छानेर ल्याउनु पर्छ। एक्सपोजर दिनुपर्छ। तर, फुटबलमा नेपालमा राजनीति भएको हेर्नु नै भयो। त्यसले सम्भावना कम पनि देखाउँछ।’


जर्मनका जबरजस्त फ्यान

‘अहिले सबैले मन पराउने रोनाल्डो, मेसी, नेमार हुन्। तर, मलाई चाहिँ जर्मन टीममा खेल्ने टिमो वार्नर, थोमस मुलर, मार्को रिउस, ओजिलहरु मन पर्छन्। किनभने जर्मन टिम अरुभन्दा बढी अनुशासित छ। उनीहरु व्यक्तिभन्दा पनि टिम र मुलुकका लागि खेल्छन्,’ सिलवालले भने, ‘अरु टिममा मेसी जस्तो कोही देखिँदैन। रोनाल्डो जस्तो कोही देखिँदैन तर जर्मनमा सब बराबर छन्। त्यसकारण मन पर्छ।’


यस्तो छ उनको विश्वकप विश्लेषण

अहिलेसम्म के देखिन्छ भने विश्वकप आयोजना गर्ने देशबाहेक अन्य देशले छनोट खेल्नुपर्छ। जस्तो कि होस्ट गर्ने देशले डाइरेक्ट विश्वकप खेल्न पाउँछ। अरु ३१ वटा देश छानिएर जान्छन्। यिनीहरुले खेल खेल्दै जाँदा मिलेर अगाडि बढ्छ तर डाइरेक्ट खेल्ने देशले मार खान्छ।

जस्तो कि २००६ मा इटलीले जित्यो र २०१० मा चाहिँ इटली प्रथम चरणबाटै आउट भयो। किन भयो भने हामी फाइनल खेल्ने हो भनेर बस्यो। क्लबको पैसामा खेल्ने भयो। टिम स्प्रिरिट भएन।

त्यस्तै २०१० मा स्पेनले जित्यो २०१४ मा ऊ चट् भयो। स्पेन नेदरल्याण्डसँग ५–१ ले हार खायो। लास्टमा जर्मनले जित्यो। यसपाली के हुन्छ हेर्न बाँकी छ। 

तर, हरेक लास्ट टाइम जित्ने देश अर्को पटक खत्तम भएको छ। यसपाली मलाई जर्मनको त्यस्तो हुँदैन भन्ने लाग्छ। जर्मनको जुन टीम स्पिरिट छ राम्रो छ। 

जुन खेलाडी प्रेसरमा खेल्छ त्यो खेलाडी राम्ररी खेल्न सक्दैन। अर्जेन्टिना पूरै देश नै मेसीमाथि अडेको छ। त्यसकारण उसले राम्ररी खेल्न पाएनन्। 

मेसीमाथि अन्याय भएको छ। उसको मानव अधिकारमाथि आक्रमण भएको छ। उसलाई चरा जस्तो खुलेर खेल भन्नुपर्ने हो। सबैले उसैमाथि आशा राखेपछि मेसी दबाबमा आउनु स्वभाविकै हो। र, दबाबमा आएका खेलाडी राम्ररी खेल्न सक्दैनन्।


ट्रेन्डिङ पोस्ट