PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


जीका भाइरसको औषधी पत्ता लगाउने टिमका नेपाली - सुदीप


सागर बुढाथोकी

जीका भाइरसको औषधी पत्ता लगाउने टिमका नेपाली - सुदीप

राति १२ बजेको समयमा म्यासेन्जरको टोन बज्यो। मेडिकल साइन्टिस्ट सुदीप खड्काको म्यासेज रहेछ।  'जीका' भाइरसको औषधि पनि हाम्रो टिमले पत्ता लगायो,' म्यासेजमा लेखिएको थियो।  निदाउने तरखर गरिरहँदा आएको यो म्यासेजले थप जिज्ञासा जन्मायो। 

म्यासेज गर्ने सुदीप तिनै थिए जसको टिमले माघ पहिलो साता विश्वमै पहिलोपटक 'इबोला' जस्तो भयानक भाइरसको औषधि पनि पत्ता लगाएको थियो। उनले मध्यरात गरेको म्यासेजमा विश्व प्रसिद्ध साइन्स जर्नल 'नेचर'मा प्रकाशित सामग्रीसमेत पठाएका थिए। त्यसमा लेखिएको थियो - 'जीका' भाइरस यस्तो डरलाग्दो भाइरस हो जसको भ्याक्सिन र औषधि पत्ता लागेको थिएन। यो भाइरसले संसारभर हंगामा मच्चाइरहेको थियो। तर, अब 'जीका'को औषधि पत्ता लागेको छ।

अस्ति अर्थात, जुन १२, २०१८। खड्काको टिम सम्मिलित 'जीका' विरुद्धको औषधि पत्ता लगाउन टीमको कामलाई जर्नलले पुष्टि गरेको दिन। 

'बधाई छ डाक्टर सा’ब,' रिप्लाई पठाएँ। 

'थ्याङक यू सो मच,' उताबाट जवाफ आयो।

'इबोला’पछि 'जीका'को औषधि पत्ता लाग्यो। अब नेक्स्ट के त?,' सोधेँ।  

'वन स्टेप एट अ टाइम,' स्माइवाला इमोजी सहितको रिप्लाई आयो, 'इबोलाको नयाँ औषधिको लागि काम गर्दैछु। केही समयमा बाहिर आउँछ।'

उनले त्यसो भन्नु स्वाभाविक थियो। किनकि, संसारको खतरनाक मानिने ‘इबोला’  भाइरसको औषधि पत्ता लागेको खबरले सिर्जना गरेको चर्चा सेलाउन नपाउँदै 'जिका' भाइरसको औषधि पत्ता जो लागेको थियो। दुइवटै टिममा बसेर काम गर्ने अवसर पाएका खड्काको चर्चा चुलिनु स्वभाविक पनि हो।

स्वाभाविक नै थियो, 'वन स्टेप एट अ टाइम।'

उनले जिका भाइरससँग जोडिएको आफ्नो पारिवारिक घटना सुनाए। खड्काकी श्रीमती गर्भवती थिइन्। श्रीमतीसँगै उनी 'फ्लोरिडा' घुम्न निस्किएका थिए।  त्यही बेला फ्लोरिडामा 'जिका' भाइरसको महामारी फैलियो।

'परिवारलाई 'इन्फेक्सन' त फैलिएन? ,' डराए। 

बच्चा नजन्मिएसम्म 'मनिटरिङ' गर्नुपर्यो। आफै 'जिका' भाइरस विरुद्धको औषधिको अनुसन्धानमा लागेका उनलाई 'आत्मग्लानी' भयो।

'धन्न भाइरसले 'एट्याक' गरेनछ,' सुनाए, 'तर, बीचमा तनाव धेरै भयो। जिका लागेको भए अंगभंग वा सुस्त मनस्थितिको बच्चा जन्मन सक्थ्यो। गर्भपतन हुने ठूलो रिस्क पनि।'

१ वर्षको मेहनतको उपलब्धि हो अहिलेको सफलता। युनिभर्सिटी अफ वासिङटन र जर्जिया स्टेस अफ युनिभर्सिटीको १० जना वैज्ञानिक यो सफलताको भागिदार बने। यो टिम 'इबोला' विरुद्धको औषधि पत्ता लगाउने टिम भन्दा फरक हो।

टिममा काम गर्दा अफ्ठ्यारो नभएको सुनाए उनले। टिमका सबै सदस्यको मेहनत र धैर्यताको प्रतिफल मान्छन्, सफलतालाई। 

यस बीचमा उनले औषधि टेस्ट गर्ने नयाँ प्रविधि डेभलप गरे। उनका अनुसार त्यो प्रविधिले सातामा सय भन्दा बढी मेडिसिनको टेस्ट गर्न मिल्छ। 

'एण्टी बडी' प्रयोग गरेर गर्ने टेस्टले चाँडै नतिजा दिन्छ। भने, 'पुरानो प्रविधिबाट त्यति काम गर्न महिनौं लाग्थ्यो।' 
त्यही प्रविधिले नै इबोलाको औषधि परीक्षण गरेको थियो।


मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा पिएचडी सकेका उनी आफ्नै विश्वविद्यालयको संस्था इन्स्टिच्यूट फर बायोमेडिकल साइन्समा कार्यरत छन्। उनी 'भिरोलोजिस्ट' हुन। 'भिरोलोजिस्ट' अर्थात् विभिन्न भाइरसले फैलाउने रोगविरुद्ध अनुसन्धान गर्ने वैज्ञानिक।

'जीका'विरुद्ध प्रयोग हुने औषधि 'फ्लू' र 'इन्फ्लुजा' विरुद्ध प्रयोग भइसकेको छ। त्यसैले जीका विरुद्ध चाँडै प्रयोग गर्न मिल्ने बताउँछन्। जीका र इबोला विरुद्धको लागि नयाँ प्रोजेक्टमा काम गरिरहेकाले व्यस्तता बड्दैछ उनको। अरु अवसरहरु धेरै आए पनि त्यसमै रमाएको सुनाउँछन्। भन्छन्, 'एउटा भाग्य नै हो, राम्रो टिमसँग काम गरेर छोटो समयमा नयाँ नयाँ आविष्कारमा संग्लग्न हुन पाउनु।'  सबैभन्दा ठूलो 'अपर्च्युनिटी' यसैलाई मान्छन् उनी।

***
अमेरिकाको वासिङ्टन विश्वविद्यालयको डाक्टर स्टेफेन पोल्यक ल्याब र जर्जिया स्टेट विश्वविद्यालयको डाक्टर क्रिस्टोफर व्यस्लेर ल्याबमा अनुसन्धान गरेपछि यो सफलता मिलेको हो। यो सफलतासँगै धेरै ठूलो जनसङख्यालाई राहत मिल्ने 'नेचर' जर्नलमा प्रकाशित सोधपत्रमा लेखिएको छ।

जीका भाइरस यौन सम्पर्कको मध्यमबाट पनि सर्छ। जिकाले गर्भमा रहेको भ्रुणको स्नायुको विकासमा अवरोध पुर्याउने मात्र हैन, 'गर्भपतन' हुने जोखिम बढाउँछ। गर्भवती हुने उमेरका महिला, शिशु र बुढाबुढीहरु जिका भाइरसको मुख्य 'टार्गेटेड ग्रुप' हुन्। नेपाल पनि जिका भाइरसको 'डेन्जर जोन'मा पर्छ। भन्छन्, 'हामीले आविष्कार गरेको औषधिले दुइटै भाइरसको महामारी निर्मुल गर्न सहयोग गर्छ।'

‘कस्तो प्रतिक्रिया आइरहेको छ त?’

उनको टिम 'फिडब्याक'मा भन्दा प्रोजेक्टमा 'फोकस' रहेको सुनाए।  केही महत्वपूर्ण प्रोजेक्टको अन्तिम चरणको काममा खटिएका छन्, उनी।

***

खड्काको जीवनमा टर्निङ र ट्विस्टहरु धेरै आएका छन्। यो सफलता हात लाग्नुअघिको उनको जीवन कुनै फिल्मको कथा भन्दा कम छैन।

‘अ विग ट्रयाजिडी इन माइ लाइफ। माइ ड्याड वाज डेड बाइ कार एक्सिडेन्ट। आइ वाज टोटल्ली फ्रस्टेडेट,’ उनले विगत कोट्याए। त्यसपछि उनी नेपाल आए, कहिल्यै अमेरिका नफर्कने सोचेर।

घटना २०७१ साल मंसिरको महिनाको हो। बाग्लुङ क्याम्पसको महायज्ञ उद्घाटन गर्न सभासद हरिबहादुर खड्का जाँदै थिए। बाटोमा उनी चढेको जिप दुर्घटना भयो। उपचारको क्रममा काठमाडौँमा मृत्यु भयो। तिनै सभासदको छोरा हुन्, सुदीप।

सुदीप त्यतिबेला अमेरिकामा पिएचडी सकेर बसेका थिए। अवसरहरुको चाङ थियो। विभिन्न रिसर्चहरुमा व्यस्त। दिनानुदिन एकपछि अर्को रिसर्च गर्दै थिए। व्यस्तता जस्तै नाम र दामको कमी थिएन। अचानक बुबाको मृत्यु भएको खबर पाउनासाथ नेपाल फर्किए।

बाग्लुङका चर्चित कांग्रेस नेता थिए खड्का। २०७० सालको संविधानसभाको चुनावमा बाग्लुङ क्षेत्र नम्बर १ बाट विजयी भएका। खड्काको मृत्युपछि त्यहाँ उप निर्वाचन हुने भयो। केन्द्रबाट सुदीपले टिकट पाए। तर, सुदीप राजनीतिमा आए आफ्नो ‘पोलिटिकल करियर’ सकिने सोचेर स्थानीय नेताहरुले विरोध जनाए। सुदीपको आमा चम्पादेवीले टिकट पाइन् र जितिन् पनि। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा उनी सहकारी तथा गरीवी निवारण राज्य मन्त्री पनि भइन्।

आफै राजनीति गरेर बुबाको सपना पूरा गर्ने धोको थियो उनको। त्यो सम्भव देखेनन्। केही समय आमालाई सहयोग गरे। यहाँ न त अन्य अवसर हात पर्यो, न त राजनीतिमा नै भविष्य  देखे। अमेरिका नफर्किने सोच बनाएर आएका उनी फेरि उतै फर्के।

त्यही घटना नै जीवनको दोस्रो ‘टर्निङ पोइन्ट’ भएको सुनाउँछन् खड्का। नेपालमा अवसरको ढोका बन्द भयो, अमेरिकामा महत्वपूर्ण काममा सहभागी हुने अवसर।

जीवनको दोस्रो टर्निङ पोइन्ट!  पहिलो के त?  उनी ‘फ्लासब्याकमा’ फर्किए।

गाउँको स्कुलमा सोभियत संघले पठाएको विभिन्न किसिमको पुस्तकहरु हुन्थे। उनी सानै देखि पुस्तकमा रमाउँथे। पुस्तकहरुमा विभिन्न वैज्ञानिकहरुले गरेको खोज अनुसन्धानहरु हुन्थे। सानै उमेरमा ठूला ठूला आविष्कार गरेको वैज्ञानिकहरुको सफलताको कथा पढ्थे। 

उनी त्यस्तै पुस्तकहरुबाट प्रभावित भए। सानैमा सपना देख्न थाले, 'भविष्यमा वैज्ञानिक बन्छु।'

र, त  अहिले गर्वका साथ भन्छन्, ‘डिफेनेट्ली वाज अ पर्सनल माइलस्टोन फोर मी। अ ड्रिम कम ट्रु।’

उनले ग्यालेक्सी स्कुल काठमाडौंबाट एसएलसी दिए। काठमाडौं युनिभर्सिटीबाट आइएस्सी सके। स्कुलमा सधै फस्ट। आइएस्सीमा राम्रै अंक आएको थियो। घर परिवार सबैको इच्छा छोरा डाक्टर बनोस् भन्ने थियो। तर, सुदीपलाई डाक्टरीमा कुनै चासो थिएन। 

उनले बुबालाई भने 'यहाँ एमबिबिएस पढ्दिन। अमेरिका गएर ‘जेनेटिक’ पढ्छु। साइन्टिस्ट बन्छु।’ 

बुबाले झपार्दै भनेका थिए,  ‘तैलै नाम निकाल्न सकिनस् अनि ठूलो कुरा गर्छस्।’

छोरो डाक्टर बनोस् भन्ने बुबाको सपना थियो। उनी साइन्टिस्ट बन्न चाहन्थे। बाबु छोराको सपनाबीच अन्तरद्वन्द्व भयो। उनको सपनालाई बुबाको सपनाले जित्यो। 

सोचे, एमबिबिएसमा नाम निकाल्छु, तर पढ्दिन।  काठमाडौं विश्वविद्यालयमा इन्ट्रान्स दिए। नाम निक्ल्यो, भर्ना पनि भए। तर, आफ्नो सपना त्यागेनन्। किनकि, मेडिकल एजुकेसनमा रमाउँन सक्दैन थिए उनी। एमबिबिएस भर्ना भएको वर्ष दिन नपुग्दै 'साइन्टिस्ट' बन्ने सपना पूरा गर्न अमेरिका हानिए।

जीवनको पहिलो टर्निङ पोइन्ट यही घटनालाई मान्छन् उनी। त्यतिबेला उनको निर्णयमा बुबा खुशी थिएनन्। अहिले बाँचिरहेका भए बुबा साँच्चिकै खुशी हुनुहुन्थ्यो जस्तो लाग्छ उनलाई।

***
एमबिबिएसको तयारी र एमबिबिएसको पढाइले दुई वर्ष त्यतिकै खेर गयो उनको। सँगै पढेको साथी थर्ड सेमेस्टरमा पुग्दा उनी अमेरिकामा अमेरिकामा फर्स्ट सेमेस्टरमा पढ्दै थिए। उनलाई कहिले थर्ड सेमेस्टरमा पुगौं हुन्थ्यो। 

त्यसको लागि कलेजको डिपार्टमेन्ट हेडलाई एक्स्ट्रा टाइम मिलाउन आग्रह गरे। कलेजले धेरैमा १८ क्रेडिट आवर दिन्थ्यो। सुदीपको जिपिए अत्यन्तै राम्रो। कलेज ‘कन्भिन्स’ भयो। एउटा सेमेस्टरमा २४ क्रेडिड आवर पाए उनले। 

सेल एण्ड मोलिक्युलर वायोजोजीको पढाई। २४ क्रेडिट आवर। न खान टाइम हुन्थ्यो, न सुत्नै नै। दिन रात पढाई र रिसर्चमा घोटिनुपर्थ्यो। परिणाम, ४ वर्ष लाग्ने पढाई ३ वर्षमा सकियो। 'गोल्ड मेडलिस्ट' भएर निस्किए उनी।

त्यही क्रममा साथीहरुलाई ट्युसन पढाए। कलेजको फुड कोर्डमा काम गरे। केही समय मिनिपोलिस शहरको आर एण्ड डी सिस्टम्स र इवा राज्यको  मोनस्यान्टो कम्पनीमा काम गरे। उनको मेहनत र क्षमताले कलेजभर पहिचान बनाएको थियो। विश्व राजनीति, इतिहास भूगोलको गहिरो ज्ञान भएकाले उनलाई साथीहरुले जिउँदो ‘इन्साइक्लोपेडिया’ भनेर जिस्काउँथे।

तर,   बुबाको निधनपछि २ वर्ष रिसर्चको काममा ब्रेक लाग्यो। त्यो बेला बाग्लुङमा नेपालकै दोस्रो ट्रमा सेन्टर बनाउन सहयोग गरे। आमालाई सहयोग गर्नु उनको कतर्व्य नै थियो।

नेपालमा सोचेजस्तो केही भएन। अमेरिका फर्केपछि पुरानै दैनिकीमा फर्के। रिसर्च टिममा संग्लग्न भए। सफलता हात पार्न लामो समय कुर्नु परेन।

***

संसारभर खतरनाक मानिने इबोला लागेका ९०% प्रतिशत मानिसहरु चाँडै मर्थे। अत्यन्तै चाँडो सर्ने रोग भएकाले यसले केही दिनमै सम्पूर्ण बस्ती सखाप पार्न सक्थ्यो। त्यसैले इबोला रोगको ‍औषधि उत्पादन विश्वकै चर्चाको विषय बन्यो। जीका भाइरसको औषधि पत्ता लागेपछि उनीहरुको चर्चा झनै चुलिएको छ।

खतरनाक भाइरस अध्यन गर्न संसारका अत्यन्तै सीमित केन्द्रहरुमा मात्र सम्भव हुन्छ। यस्तो अध्यन गर्न सुरक्षाको दृष्टिले सबैभन्दा संवेदनशील मानिने चौथो तह (बायोसेफ्टी लेभल ४) को प्रयोगशाला चाहिन्छ। संसारका सीमित वैज्ञानिकहरुको मात्र त्यस्तो प्रयोगशालामा पहुँच भएको उनको तर्क छ। भने,  ‘चीनमा यस्तो प्रयोगशाला भर्खर स्थापना भए पनि सुरक्षाको दृष्टिले जोखिम भएकाले चलाउन सकेको छैन। यस्तो प्रयोगशालामा काम गर्ने म नेपालको पहिलो वैज्ञानिक हुँ।’

उनले प्रष्ट पार्दै थपे, ‘यस्तो  प्रयोगशालामा काम गर्न लामो सुरक्षा जाँच र तालिमपछि मात्र अमेरिकी सरकारले अनुमति दिन्छ। तपाईँ यसरी बुझ्नुस् कि, यस्तो प्रयोगशालामा काम गर्न पाउनु भनेको प्लेन चलाउने पाइलटले ‘रकेट’ चलाउने अवसर पाएजस्तै हो।’


***


अहिले उनको 'फोकस' भनेकै इबोला र जीका भाइरस विरुद्धको औषधिमा हो। यो औषधि पत्ता लगाउनु पहिले उनले मानिसलाई कसरी डेंगु र हेपाटाटिस सीले प्रभाव पार्छ भन्ने गम्भीर अनुसन्धान गरिसकेका छन्। उनका अनुसन्धानहरु महत्वपूर्ण जर्नलहरुमा प्रकाशित भइसकेको छ। डेंगु र मलेरियाको शोधपत्रमा पनि उनले काम गरिसकेका छन्।

***


अबको १ दशकपछि राम्रो 'प्लान' बनाएर नेपाल फर्किने बताउँछन् उनी। राजनीतिमा तथा अर्थव्यवस्थामा रुची रहेकाले देशमै काम गर्ने सुनाउँछन्। राष्ट्रिय योजना आयोगमा बसेर काम गर्ने चाहना छ उनको। भन्छन्, 'नेपाल  आएर फेरि निराश भइयो भने, विकल्प विदेश नै हो। यस्ता कुराको निर्धारण देशको वातावरणले निर्धारण गर्छ।'

 



जीका भाइरसको औषधी पत्ता लगाउने टिमका नेपाली - सुदीप को लागी २ प्रतिक्रिया(हरु)

kunti bhattarai [ 2018-06-15 11:03:19 ]
Arbidol (Umifenovir) पहिले देखि नै उपलब्ध एन्टिभाइरल हो। यसै ले औषधी पत्ता लगाएको भन्दा यो एन्टिभाइरल जिका भाइरस बिरुद्द पनि प्रयोग गर्न सकिने तथ्य पत्ता लगाएको भन्दा ठिक होला।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sushil [ 2018-06-15 03:23:08 ]
congratulations for the amazing work. Not to decrease the value of the work...but it is published in Scientific Reports (one of the papers published by Nature Publishing Group) not the Nature Journal itself. Huge difference.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट