PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

१३ फोटोमा हेर्नुस् आरकेको पसलमा छापा मारी जफत गरिएका ३० करोडका सामान

१३ फोटोमा हेर्नुस् आरकेको पसलमा छापा मारी जफत गरिएका ३० करोडका सामान


काठमाडौँ : सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्समा सोमबार छापा मारी प्रहरीले सुन, चाँदी तथा हिरा लगायतका सामान जफत गरेको छ।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको नेतृत्वमा दरबारमार्ग र न्युरोडस्थित आरके ज्वेलर्सका तीन वटा पसलमा छापा मारिएको हो। 
समितिका एक सदस्यले भने, 'विभिन्न ३५ थान सामान जफत गरेका छौं। ३० करोडभन्दा बढी मूल्यको सामान हुनुपर्छ।' 

४९ वर्षीय आरके भनिने राजेन्द्रकुमार शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। उनीमाथि तस्करी गरी ल्याएको सुन खरिद गरेको अभियोग छ। 

यस्तो थियो शाक्यले प्रहरीलाई दिएको बयान-
मेरो जन्म जिल्ला काठमाण्डौको बाङ्गेमुढामा भई मेरो बुबा तथा बाजेले पहिला देखिनै सुनचाँदी पसल गर्दै आउनु भएको थियो र म पनि घर नजिकै रहेको स्कुलबाट कक्षा १० सम्म अध्ययन गरी वि.सं.२०४४ सालमा एस.एल.सि.दिदा फेल भएपछी पढाई छाडी सो बेलामा मेरो बुबाले काठमाण्डौको बाङ्गेमुढामा संचालन गरीरहेको सुनचाँदी पसलमा काम गर्न थाले र पछी मैले बिबाह गरी मेरो बुबाको लगानीमा काठमाण्डौको बाङ्गेमुढामा वि.सं.२०४७ सालमा आर.के.ज्वलेर्स नामक छुट्टै सुनचाँदी पसल संचालन गर्न थालेपछि सो पसल गर्दा मलाई सुनचाँदी पसलको राम्रो आइडिया भएपछी पसल राम्रो सँग चल्ने ठाउँको खोजी गरी वि.सं. २०६३ सालमा न्युरोडको बिशाल बजारमा आर.के.ज्वलेर्स नामक सुन चादी पसल संचालन गर्न थालेँ।

पसल गर्दे जाने क्रममा मेरो पसल राम्रै चलिरहेको थियो । पसलमा आवश्यक पर्ने सुनचाँदी काठमाण्डौको मखनमा रहेका बिभिन्न होलसेल सुनचाँदी पसलहरुबाट सुनचाँदीहरु खरीद गरी ल्याई बिभिन्न किसिमका अडर अनुसारका गरगहनाहरु बनाई बिक्री गर्ने काम गर्दै आएको थिएँ। यस्तै क्रममा सरकारले बैंकसँग मात्र सुन खरीद गरी बिक्री गर्ने नियम बनाएपछी मैले पनि बैंकहरुबाटै सुन खरीद गरी ल्याई पसल चलाउदै आएको थिए। यसरी पसल चलाउदै आउने क्रममा वि.सं.२०७२ साल तिर बजारमा सुनको माग बढ्न थालेको र बैंकहरुले माग बमोजिमको सुन दिन नसकेपछी सुनचादी ब्यावसायी संघद्वारा सुन पसलहरुलाई पालोपालै गरी बैंकले सुन बिक्री गर्न थाल्यो।

सो पश्चात हामीले सुनको लागि वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था आयो । यस्तै क्रममा वि.सं.२०७३ सालको पौष महिनामा म मेरो साला महेश शाक्य अस्ट्रेलियामा रहेको हुदा निजलाई भेट्न र घुम्नको लागी भनि अस्ट्रेलियामा गई करीब १५ दिन बसि पुनः काठमाण्डौ फर्केर आएको दिन दुबईबाट आएको साढे ३३ किलो सुन एयरपोर्टबाट प्रहरीले समातेको कुरा न्युज हेर्दा थाहा पाए । म पनि आफ्नो पसलमा आई काम गर्दै आएको थिए । मेरो दाँत र छातीको समस्या भई उपचारको लागी भारतको कलकत्ता गएको थिए । म कलकत्तामै भएको समयमा सोही सुन कारोबारमा पक्राउ परेका रामहरी कार्की भन्ने मानिसले आर.के.डाईमण्डमा काम गर्ने स्टाफ शनि श्रेष्ठलाई एक पटक सुन बिक्री गरेको थिए भन्ने कुरा पत्रपत्रिका मार्फत थाहा पाई मलाई समेत केहि होला कि भन्ने सोची म काठमाण्डौ नआई भारतको कलकत्तामै बसेँ। करीब ५ महिना जती भारतको कलकत्तामै बसि वि.सं.२०७४ सालको असार महिनामा काठमाण्डौ आई काठमाण्डौ जिल्ला अदालतमा आफै हाजिर भई रु.१,५०,०००।– (एक लाख पचास) धरौटी तिरी छुटी हाल सम्म पनि तारेखमा गइरहेको छु।

मिति २०७४।१०।०९ गते तस्करीको साढे ३३ किलो सुन हराएको भन्ने कुरा पत्रपत्रिका मार्फत थाहा पाएको थिए । साढे ३३ के.जी.सुन हराएको बिषयमा यातना दिदा मोरङ जिल्लामा सनम शाक्यको मृत्यु भएको र गाडीमा सनम शाक्यको लाश भेटियो, गाडी सहित गाडी चालक समेतलाई प्रहरीले पक्राउ गरेको भन्ने कुरा पत्र पत्रिका साथीहरूबाट थाहा पाए । सनम शाक्यको हत्या गोरे भन्ने चुडामणी उप्रेती र निजका केटाहरूले गरेको भन्ने कुरा पनि पछि हल्ला भएको थियो । यस्तैमा मिति २०७४।१२।२९ गते मेरो काठमाण्डौ जिल्ला अदालतमा तारेख भएको हुँदा म अदालत गई तारेख लिई फर्की आउने क्रममा नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार काठमाण्डौबाट खटिई आएको बिशेष अनुसन्धान टोलीले मलाई पक्राउ गरेको हो। 
 
समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो।

छापा मार्ने क्रममा ३० लाख रुपैयाँ नगद, २ किलो चाँदी र १० तोला सुन बरामद भएको थियो। 

अग्रवालको कोठाबाट केही थान चेकबुक, सुनको कारोवार भएका रसिद र तीन थान सुन बोक्ने ज्याकेट समेत बरामद गरेको थियो।
अग्रवाल फरार सूचीमा छन्। उनी भारतमा लुकेर बसेको प्रहरी स्रोतले जनाएको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell