PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

 किम र ट्रम्प भोलि भेट्दै, अमेरिकासँग नयाँ सम्बन्ध स्थापना हुने उत्तर कोरियाको विश्वास



पहिलोपोस्ट

 किम र ट्रम्प भोलि भेट्दै, अमेरिकासँग नयाँ सम्बन्ध स्थापना हुने उत्तर कोरियाको विश्वास
फोटो : BBC

सिंगापुर : उत्तर कोरियाली नेता किम जोङ् उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलवारका लागि तय भएको बहुप्रतिक्षित शिखर वार्ताका लागि सिंगापुरमा छन्। आइतवार सिंगापुर पुगेका उनीहरुबीच सेन्तोसा टापुमा वार्ता हुनेछ।

उत्तर कोरियाली समाचार संस्थाले जनाए अनुसार उत्तर कोरियले यो वार्ताबाट दशकौदेखि शत्रु मान्दै आएको अमेरिकासँग नयाँ सम्बन्ध स्थापना हुनसक्ने बताएको छ। मंगलवार हुने भेटमा किमले स्थायी शान्ति स्थापना संयन्त्रका विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ।

ट्रम्पले पनि वार्तालार्इ लिएर आफूसँग एकदमै राम्रो अपेक्षा रहेको बताएका छन्। वासिङटनले यो बैठक फलदायी हुने र उत्तर कोरिया निशस्त्रीकरणको बाटोमा अग्रसर हुने विश्वास लिएको छ।

ट्रम्पले पनि वार्ता सकरात्मक भएमा किमलार्इ ह्वाइट हाउसको भ्रमणमा बोलाउन सक्ने बताएका थिए। 

उत्तर कोरियालीका नेताले कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिलार्इ पहिलो पटक भेट्न लागेकाले यो अवसरले विश्वको ध्यान केन्द्रित गरेको छ।
 
दुई नेताको सुरक्षाका लागि सिङ्गापुरमा अत्यन्तै कडा सुरक्षा प्रबन्ध गरिएको छ। दुई नेताहरुको सुरक्षाको जिम्मेवारी नेपालका गोर्खाहरुलार्इ दिइएको छ।

सिंगापुरको सेन्तोसा स्थित सुविधासम्पन्न पाँच तारे कापेला होटलमा शिखर वार्ता हुँदैछ। सिंगापुरका प्रधानमन्त्री ली शियेन लुङ्गका अनुसार वार्तामा करिब १ करोड ५० लाख डलर खर्च हुने जानकारी दिँदै सो खर्च आफ्नो मुलुकले व्यहोर्ने बताएका छन्।

किमले सिंगापुरका प्रधानमन्त्री लुङ्गसँगको भेटमा शिखर वार्ता कुनै निष्कर्षमा पुगेर कुनै सम्झौता भएको खण्डमा सिंगापुरको इतिहासले सम्झने छ बताएका छन्। यस्तै ट्रम्पले पनि प्रधानमन्त्री लुङ्गलार्इ शिखर वार्ता राम्रो हुने बताउँदै आतिथ्यको लागि धन्यवाद दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell