- अनुप न्यौपाने-
किन आउँछ?
अथवा, कसलाई आउँछ कसलाई आउँदैन?
मैले आकाश निदाएको देखेको छैन
हावा निदाएको देखेको छैन
अझ भनौं सदियौंदेखि जागिरहेको सृष्टि
बाँचिरहेको प्रकृति
अंह, कैहिल्यै निदाएको देखिनँ।
बरु म निदाउँछु
मान्छेहरु निदाउँछन्
आँखा निदाउँछ, सपना निदाउँदैन
भन्छन्, सपना देख्नेहरु पनि निदाउँदैनन् रे
निदाउँनु हुँदैन रे।
नदेखिनु निदाउँनु हो
कि नदेख्नु निदाएको हो?
आँखा चिम्लिएरै पनि जाग्नेहरु छन्
संसार देखेर निदाउँनेहरु पनि छन्
म यसै त भन्न सक्दिन
तर, ननिदाउँनु पनि त सामर्थ्य हो
आकाशजस्तै, हावाजस्तै
पृथ्वी जस्तै, सृष्टि जस्तै।
आकाश निदायो भने के हुन्छ?
हावा पनि बहँदा बहँदै थाकेर निदाइदियो भने,
सृष्टिले एकदिन विश्राम लियो भने,
ऋतुहरु निदाउन चाहे भने,
अथवा, समय सुतिदियो भने?
विचारहरु आफ्नो आफ्नै हुन्छन्
मन पनि त्यस्तै हो तर साथी
निदाउँनका लागि त सिङ्गो चिहान छँदै छ नि
जीवनले त जाग्नुपर्छ
सपना देख्नुपर्छ, बाँच्नुपर्छ,
भोग्नुपर्छ, जुध्नुपर्छ अनि जित्नुपर्छ
जन्म अवसर हो, संयोग होइन
सुत्नु हुँदैन, निदाउँनु हुँदैन।।