PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रमोद खरेलमा वर्ल्डकप फिभर : अर्जेन्टिनालाई समर्थन, विकल्पमा ब्राजिल

प्रमोद खरेलमा वर्ल्डकप फिभर : अर्जेन्टिनालाई समर्थन, विकल्पमा ब्राजिल

रीना मोक्तान/पहिलोपोस्ट


खेलप्रेमी गायक प्रमोद खरेल विश्वकप फुटबल हेर्नका लागि निकै उत्साहित छन्। प्रतियोगिताका सेड्युल पनि उनी अनुकुल नै छ यसपाला। 

'समय मिलेको छ, दिनभरि रेकर्डिङ भए पनि बेलुका फुटबल हेर्न भ्याइन्छ,' उनले भने। यसपाला अर्जेन्टिनाको समर्थनमा छन्, उनी।

अर्जेन्टिनाको एउटा म्याचका बेला उनी कार्यक्रमका लागि पोखरामा हुनेछन्। त्यही हेर्ने चाँजोपाजो मिलाइसके। विश्वकप हुँदा आधा समय नेपाल र आधा अमेरिकामा हुनेछन् उनी। जहाँ भए पनि वर्ल्डकपका म्याच हेर्न भ्याउनेछन्।

अर्जेन्टिनाको समर्थन, विकल्पमा ब्राजिल

सधैं ब्राजिलको सपोर्ट गर्ने उनी यसवर्ष अर्जेन्टिनाका पक्षमा छन्। भन्छन्, 'ब्राजिल चाहिँ  रोनाल्डो र रोनाल्डिनोदेखि नै फ्यान भएका थिएँ। पेलेको त हेर्न पाइएन।' 

'सन् १९९८ मा ब्राजिलको समर्थक थिएँ। फाइनलमा दुई गोल खायो। त्यसपछि २००२ मा कोरियामा भएको वर्ल्डकप रोनाल्डोले गोल गर्नुपर्छ भनेर हुटिङ गरेँ ब्राजिलले नै जित्यो। बहुत मजा आ'थ्यो,' वर्ल्डकप अनुभव सेयर गरे उनले।

ब्राजिलको टिमबाट रोनाल्डो,रोनाल्डिनो बाहिरिएपछि ब्राजिलप्रतिको उनको क्रेज घटेको हो। उनले मेस्सीका लागि यसपाली अर्जेन्टिना रोजेका छन्। 

मेस्सीको यो अन्तिम वर्ल्डकप पनि हो। यसैले गर्दा पनि उनले मेस्सीलाई सपोर्ट गरेका हुन्। 

विश्वकप जित्ने टिमको अड्कलबाजी उनी गर्न चाहँदैनन्। भने, 'वर्ल्डकप जसले पनि जित्न सक्छ। अर्जेन्टिना भन्दा ब्राजिलको नै स्ट्रङ्ग टिम छ।' 

अर्जेन्टिना बाहिरियो भने सेकेन्ड सपोर्ट त ब्राजिल नै हो उनको। 'नकआउट चरणमा अर्जेन्टिना बाहिरियो भने वर्ल्डकप नै नहेर्ने भन्ने हुन्न। त्यसपछि ब्राजिलको टिमको सपोर्टमा हेर्छु,' उनको स्ट्र्याटिजी सुनाए। 


'झापामा त रुखले पनि खेल्छ फुटबल'

त्यसो त उनको फुटबल मोह सानैदेखिको हो। झापामा हुर्केका उनी सानोदेखि नै फुटबल खेल्थे पनि। 

'झापामा त रुखले पनि फुटबल खेल्छ रे!,' ठट्यौली पारामा प्रमोदले सुनाए। 

सानोमा भएका टुर्नामेन्टहरुमा उनले फुटबल खेल्ने अवसर पाएनन्। उनीभन्दा राम्रा खेलाडीहरु धेरै भएकाले उनी सेलेक्ट हुनसक्ने अवस्था थिएन। 

'झापामा फुटबलको क्रेज निकै छ। कल्चर नै छ। टोलटोलमा, वडामा, जिल्लामा फुटबलका राम्रा खेलाडीहरु। मैले धेरै सानो खेलमा चित्त बुझाएँ,' सुनाए।

तर, जुन स्तरमा उनले फुटबल खेल त्यसमा भरपुर मजा लिए र खुलेर खेले। 

'जर्सी र बुट लगाएर मैदानमा उत्रिएपछि खुट्टाले कति समय समतल जमिन भेट्दैन थिए,' प्रमोदले सुनाए, 'चौर राम्रा हुन्थेन, खाल्डाखुल्डी बढी। तर पनि खेलिन्थ्यो।' 

खेल्नेसँगै म्याच हेर्न पनि पुगिरहन्थे उनी। 'राति रातिसम्म पनि फुटबलको म्याच हुँदा हेर्ने गर्थें। ठूला दाइहरुसँग टुर्नामेन्ट हेर्न पुग्थेँ,' भने 'तर, स्कुलको हाउस वाइज म्याच भने खेल्न छोडिएन।'

जिल्लास्तरीय होस् या कलेजस्तरीय, सबै म्याच हेर्न भने उनी हुरुक्कै हुन्थे।  

उनका कति समकालीन साथी राष्ट्रिय टिममा समेत छन्।


स्कुलको कमाईबाट ब्ल्याक एन्ड ह्वाइट टिभी

उनले सन् १९९८ बाट विश्वकपका  प्राय खेल हेर्न शुरु गरेका हुन्। १९९४ को  विश्वकप समाचारमा पढेमात्र, अलिअलि मात्र हेर्न पाएका थिए। 

त्यसपछि विश्वकप हेर्ने चाह उनमा थपियो। १२ को परीक्षा सकाएर स्कुल पढाइरहेका उनले टिभी किनेर १९९८ को फ्रान्समा भएको विश्वकप हेरे। आफ्नो कमाइबाट उनले टिभी किनेका थिए। 
 
'हामी सानो हुँदा पढाई बिग्रिन्छ भनेर बुबाले घरको टिभी बेचिदिनु भएको थियो। मलाई जसरी नि वर्ल्डकप हेर्नु थियो,' उनले भने, 'स्कुलको तलबबाट मैले टिभी किनेको थिएँ। ब्ल्याक एण्ड व्हाइट टिभी। किनेको पनि टिभी बनाउने ठाउँबाट।'

त्यसो त टिभी हेर्न जटिल थियो, त्यतिखेर। 'त्यतिखेर घरमा बिजुली थिएन। ब्याट्रीबाट म्याच हेरेँ। एउटा म्याचमा ब्याट्री सिधिन्थ्यो,' 'साइकलमा राखेर बिहानै ब्याट्री चार्च गर्न जान्थेँ पसलमा। म्याच हुने बेलामा लिएर आउथेँ।'

बुबामलाई नसोधी उनले आफ्नो तलबबाट टिभी किनेका थिए। 'विश्वकप हेर्न निकै क्रेजी थिएँ म,' उनले भने।

आज पनि उनको आँखामा त्यो  क्रेज झल्कन्छ। 

ब्ल्याक एण्ड ह्रवाइटमा विश्वकप हेर्नुको मजा छुट्टै रकेको बताउँदै सम्झे विश्वकप हेर्दाका पल।

झापाको गर्मी। गाउँका सबै साथी उनको घरमा विश्वकप हेर्न जम्मा हुन्थे। '२-३ घण्टादेखि नै हाम्रो कोठामा २५ भन्दा बढी साथी/आफन्त आउँथे। त्यतिखेर घन्टौंदेखि म्याच हेर्नका लागि आतुर हुन्थ्यौं,' सुनाए। 

ती पलहरु निकै यादगार छन् उनका लागि। 'अहिले त त्यसरी कहाँ हेर्न पाउनु। समूहमा बसेर वर्ल्डकप हेर्नुको मजा छुट्टै। त्यो माहोल निकै सम्झन्छु,' उनले भने। 

सादा टिभीमामा फुटबल हेरेको केही वर्षदेखि उनले रंगिनमा विश्वकपको मजा लिन थाले। 

अहिले उनी फुर्सद मिलाएर म्याच हेर्ने गर्छन्। परिवारमा फुटबल क्रेज भएका उनीमात्र हुन्। यसपाला मिल्यो भने कुनै कुनै गेम साथीहरुसँग बसेर हेर्ने उनको योजना छ। 'वर्ल्डकप आउँदैन बारबार। ४ वर्षमा आउँछ। राति भए पनि हेरिन्छ,' उनले भने।

फुटबल हेरिरहँदा खेलाडीले गोल हान्दा खेलाडीसँगै उनको खुट्टा उठ्छ। स्वभाविक ठान्छन् त्यसलाई। गोल गरेसँगे जुरुक्क उठ्छन् पनि।
उनले फुटबल नखेलेको धेरै भइसक्यो, मैदानमा छिरे पनि,खेलाडीसँग भेटे पनि। अहिले त खेल्नभन्दा हेर्नमै रमाउँछन्। 
 

नेपालमा माहोल कि अर्जेन्टिना कि ब्राजिलकै

पछिल्ला विश्वकपबारे सेयर गर्न भ्याए उनले। '२००२ मा ब्राजिल सपोर्ट गरेँ ब्राजिलले जित्यो। त्यसपछि इटली। अनि स्पेनको सपोर्ट गरे, स्पेनले जित्यो। मैले सपोर्ट गरेको टिम फाइनलसम्म पुगेको छ। मैले जुनजुन टिमको सपोर्ट गर्थेँ त्यो टिम जित्दै आएको छ।'

उनको विचारमा नेपालमा माहोल कि ब्राजिल कि त अर्जेन्टिनाकै छ।

उनलाई आफुले हेरेका हरेक म्याच याद छ। लास्ट टाइम पनि अर्जेन्टिनाको टिम बलियो थिएन। 'मेस्सी यस्तो खेलाडी हो। उसले एक्लैले खेल बदल्दिन सक्छ। त्यस्तै भयो,' उनले भने।
 
यूरोपका टिममा स्पेन र इटली उनलाई मनपर्छ। राम्रो खेलाडी हेरेर टिमलाई सपोर्ट गर्छन्। 
 

अर्जेन्टिनाले जित्दा झन्डै गाडी दुर्घटना

गत विश्वकपमा अर्जेन्टिनाले एउटा म्याच जित्दाको रमाइलो प्रसंग सुनाए। सँगै थिइन् केकी अधिकारी। 'अर्जेन्टिनाले म्याच जित्दा मेरो गाडीमा उफ्रेर झन्डै ठोक्किएको थियो। केकी यसरी चिच्याएकी थिइन् कि झन्डै दुर्घटना भयो,' उनले सुनाए।

उनका  बुबा पनि विश्वकप हेर्न रुचाउँछन्। बुबा सँधै आफ्नो अपोजिटमा रहने बताए। 

यसपालीको विश्वकप गीत भने प्रमोदलाई खास लागेन। भन्छन् 'कुन मेलोडीले विश्वलाई तान्छ त्यो फरक छ।' 


ट्रेन्डिङ पोस्ट

Ncell