PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कर्णालीमा घर नभएका ‘गरीब’ मन्त्री सबै भन्दा धनी! 



पी बी खड्का

कर्णालीमा घर नभएका ‘गरीब’ मन्त्री सबै भन्दा धनी! 

सुर्खेत : कर्णाली प्रदेश सरकारका मन्त्रीहरु मध्ये सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री रहेका छन्। 

प्रदेश सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण केलाउँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति भन्दा अघि देखिन्छन् खत्री। मन्त्री खत्रीको प्रदेश राजधानी सुर्खेतदेखि संघीय राजधानी काठमाडौंमात्र होइन प्रदेश सातमा समेत जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ भने उनले घर भने देखाएका छैनन्। 

निर्माण व्यवसायी समेत रहेका मन्त्री खत्रीले सम्पत्ति विवरणमा घर विहीन देखाएका छन्। प्रदेशका मन्त्रीहरु मध्ये उनको  सुर्खेतको भेरीगंगामा २० रोपनी, रानीबासमा १२ रोपनी, वीरेन्द्रनगर नगरपालिकामा पनि दुई कित्ता जग्गा रहेको छ। त्यस्तै कोहलपुर, खजुरा र गणापुरमा उनको झण्डै ४ विघा जग्गा रहेको उल्लेख गरिएको छ। काठमाडौंको बुढानिलकण्ठमा २ रोपनी र भक्तपुरको चाँगुनारायणमा २ रोपनी र कैलालीको कैलारी गाउँपालिकामा झण्डै ३ विघा र धनगढीमा डेढ कठ्ठा जग्गा रहेको विवरण राखिएको छ। 

मन्त्री खत्रीको ट्रक, ट्रिपर, जिप, एक्साभेटर गरी दर्जनौं सवारी साधन छ। उनको २१ तोला सुन छ भने ७५ लाख रुपैयाँ नगद रहेको छ। मन्त्री खत्रीको विभिन्न बैंका गरी ११ करोड ८६ लाख रुपैयाँको सेयर रहेको छ। नेपाल बंगलादेश बैंकमा ४७ लाख, नेपाल बंगलादेश बैंकमा १ करोड १२ लाख, प्राइम सहकारीमा १५ लाख रुपैयाँ ऋण देखाएका छन् उनले। 

त्यस्तै प्रदीप कन्स्ट्रक्सनका नाममा ३८ वटा ट्रिपर, एउटा टेलर ट्र्याक्टर, एउटा लोडर, ३ वटा ट्रक, जीप, ३ वटा मोटरसाइकल, ५ वटा एक्साभेटर  र पत्नीको नाममा एउटा स्कुटर रहेको छ।

सुन ‘लगाउने’ मन्त्रीसँगै छैन सुन

सरकारले सार्वजनिक गरेको सम्पत्ती विवरणमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी गरीब देखिएकी छन्। उनीसँग सुन कत्ति पनि छैन, सूची अनुसार। सम्पत्ति विवरणमा रुकुमको सिम्लेमा पैतृक सम्पत्तिका रुपमा रहेको जग्गा मात्र देखाएकी छिन् उनले।

पैतृक सम्पत्तिका रुपमा रुकुम, दाङ र सुर्खेतमा उनको जग्गा छ। त्यस्तै पिपुल्स इनर्जी प्रालिमा १५ लाख रुपैयाँको शेयर लिएको खुलाएकी छिन्। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति विवरणमा एभरेष्ट र राष्ट्रिय वाणिज्य बैकमा गरी जम्मा ७ लाख रुपैयाँ रहेको छ। त्यस्तै चल सम्पत्ति विवरणमा ६ तोला सुन र २ सय तोला चाँदी रहेको छ। सुन र चाँदी पुर्ख्यौली सम्पत्ति हो। अचल सम्पत्तिमा मुख्यमन्त्रीका बुबा धनबहादुर शाहीको नाममा पतालझरण गाउँपालिका ९ मा रहेको एउटा पूर्ख्यौली घर रहेको छ। उक्त घर समेत अंश बण्डा नभएको मुख्यमन्त्री शाहीले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।  

त्यस्तै सोही स्थानमा बुबाकै नाममा अन्दाजी २५ हजार वर्ग मिटरमा फैलिएको अंशबण्ड नभएकै पूर्ख्यौली जग्गा रहेको छ। त्यस्तै टीकापुर नगरपालिका कैलालीस्थित मुख्यमन्त्री शाहीकी श्रीमती चन्द्रा कुमारी शाहीको नाममा २ लाख रुपैयाँमा खरिद गरेको जग्गा समेत रहेको छ। त्यस्तै १५ लाख बराबरको एउटा मारुती कार समेत रहेको छ। मुख्यमन्त्री शाहीले ५ हजारको संख्यामा १ लाख बराबरको कुखुरा पालन र २ लाख ५ हजार बराबरको तरकारी उत्पादन गरिरहेको सम्मेत सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको तीनवटा घर रहेका छन्। सल्यान बनगाड कुपिन्डे नगरपालिकामा एउटा घर, त्यस्तै बाँसगढी बर्दियामा अर्को घर र काठमाडौं महानगरपालिका १६ मा अर्को गरी तीनवटा घर रहेको उनले खुलाएका छन्। 

सल्यानको घर भाइ बलबहादुर साहु, बर्दियाको घर आमा टीका साहु र काठमाडौंको घर आफ्नै नाममा रहेको छ। त्यस्तै सल्यान, दाङ, बर्दिया र काठमाडौं गरी चार जिल्लामा जग्गा समेत रहेको छ। बर्दियाको बाँसगढीमा आमाको नाममा ४ ठाउँमा, बर्दिया र सल्यान गरी दुई ठाउँमा र भतिज सन्तोष बीसी नाममा घोराहीमा जग्गा छ। मन्त्री ज्वालाको नगद १५ लाख, ३ तोला सुन र १० तोला चाँदी रहेको छ। राष्ट्रिय बाणिज्य बैंकमा ५० हजार, एभरेस्ट बैंकमा १२ लाख र कृषि विकास बैंकमा ४ लाख १० हजार रुपैयाँ रहेको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको अंशबन्डा नभएको जुम्ला र बाँकेमा दुईवटा घर छन्। अचल सम्पत्ति अन्तर्गत बुबाको नाममा रहेका ती दुवै घर भने भागबण्डा भएका छैनन्। त्यस्तै जुम्लामा बुबाकै नाममा रहेको ६७ वर्ग मिटरमा क्षेत्रफलमा फैलिएको जग्गा रहेको छ। उक्त जग्गा पनि बागबन्डा भएको छैन। 

मन्त्री भण्डारीको पैतृक सम्पत्ति अन्तर्गत १५ तोला सुन र १० तोला चाँदी रहेको छ। एभरेष्ट बैंकमा जम्मा एक लाख रुपैयाँ मौज्दात रहेको छ। २८ हजारको सामसुङ र १६ हजार ओपो गरी दुईवटा मोबाइल सेट रहेका छन्। त्यस्तै १ लाख ७५ हजारको एउटा मोटरसाइकल रहेको मन्त्री भण्डारीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

सामाजिक विकास मन्त्री दल रावल

त्यस्तै सामाजिक विकास मन्त्री दल रावल पनि निकै धनी देखिएका छन्। उनको हुम्लाको सिमिकोट गाउँपालिका २ मा एउटा दुई तले घर, हुम्लाकै सर्केगाउँपालिका ४ मा दुईतले घर र  बाँके नेपालगञ्ज उपमहानगरपालिकमा २ तले गरी जम्मा तीन ठाउँमा घर रहेको छ। त्यस्तै अचल सम्पत्ति अन्तर्गत सुर्खेतको वीरेन्द्रगनर १० मा २५ लाखको जग्गा रहेको छ। त्यस्तै हुम्लामै ५० लाख बराबरको बुबाको नाममा ३५ रोपनी जग्गा समेत रहेको छ। त्यस्तै चल सम्पत्ति अन्तर्गत माइतबाट प्राप्त भएको २५ तोला सुन र पारिश्रमिक र भत्ताबाट १५० तोला चाँदी खरिद गरेको मन्त्री रावलले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। त्यस्तै श्रीमती र आफ्नो नाममा गरी २७ लाख १८ हजार रुपैँया बैंकमा रहेको उल्लेख गरेका छन्। मन्त्री रावलका ३ वटा भैसी, ११ वटा गाईगोरु र ४५ वटा भेडा बाख्रा रहेका छन्।

नगदै नभएका मन्त्री बुढा

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको नगद रकम देखिएको छैन। उल्लेख गरिएको विवरणमा उनले बैंक खाता खोले पनि रकम भने बचत नगरेको देखाएका छन्। उनको डोल्पामा ४ वटा पुर्ख्यौली घर छन्। त्यस्तै, ५ ठाउँमा जग्गा, १५ तोला सुन, १ किलो चाँदी रहेको छ। मन्त्री बुढाको गाई भैंसी घोडा र बाख्रा गरेर २५ वटा छन्।  

कसैले मोबाइल देखाए, कसैले लुकाए

प्रविधिको प्रयोग बढ्दै गएका बेला कर्णालीका अधिकांश मन्त्रीहरुले आफ्नो इलेक्ट्रिक सामानहरु भने खासै देखाएनन्। पछिल्लो समय अधिकांश सर्वसाधारणको हातमा हुने मोबाइल सेट मन्त्रीहरुले देखाएका छैनन्। आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मात्रै आफ्नो दुईवटा मोबाइल सेट सम्पत्ति विवरणमा उल्लेख गरेका छन् भने अन्य कुनै पनि मन्त्रीले उल्लेख गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell