PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेर्नुस् यस्तो ठाउँमा हुँदैछ ट्रम्प र किम जोङबीचको वार्ता, यस्तो छ तयारी

हेर्नुस् यस्तो ठाउँमा हुँदैछ ट्रम्प र किम जोङबीचको वार्ता, यस्तो छ तयारी

पहिलोपोस्ट /पहिलोपोस्ट


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुप्रतिक्षित वार्ता  सिंगापुरको सेन्तोसा टापुमा हुने तय भएको ह्वाइट हाउसले पुष्टि गरेको छ। 

१२ जुनमा विपरित धारका यी दुई देशको शीर्ष तहमा छलफल हुँदैछ। वुधबारमात्रै ट्रम्पले योजनाअनुसार काम भइरहेको ट्विट गरेका छन्।

उत्तर कोरियाले आणविक हतियार उत्पादन परित्यागको प्रतिवद्धता गर्नुपर्ने अमेरिकाको भनाइ रहँदै आएको छ। 

तर, अझै पनि यो विषय सिंगापुरमा हुने वार्ताको टेबुलमा पुग्ने या नपुग्ने यकिन छैन। ट्रम्पले लामो सम्बन्धको सुरुवातका रुपमा यसलाई व्याख्या गरेका छन्।

यो पनि नछुटाउनु होला:

सिंगापुरमा खुकुरी भिरेका गोर्खाले गर्नेछन् ट्रम्प र किमको सुरक्षा 


 

‘धेरैखाले सम्बन्धहरु विकसित भइरहेको छ, यात्रापूर्व धेरैखाले समझदारीहरु हुँदैछन्,’ ट्रम्पले भनेका छन्, ‘यो धेरै महत्वपूर्ण हो – अबका केही दिनहरु निक्कै महत्वपूर्ण हुनेछन्।’

यो भेट अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको पहिलो हुनेछ। 

ह्वाइट हाउस प्रेस सेक्रेटरी सारा स्यान्डर्सले ट्विटरबाट दुई शीर्ष नेताबीच पाँच तारे होटल कापेलामा वार्ता हुने पुष्टि गरेकी छिन्।

तर, यी दुई नेता त्यहाँ बस्ने भने छैनन्। ट्रम्प सम्भवत सांग्रिला होटलमा रहनेछन्। किम भने सेन्ट रेगिस सिंगापुरमा रहने बताइएको छ। अर्किड रोड सपिङकै नजिकमा रहेका यी दुवै होटल मुख्य टापुमा नै छैन। ६३ टापु रहेको सिंगापुरको एक टापु हो सेन्तोसा। 

५ सय हेक्टरको टापुमा रहेको होटल मुख्य टापुबाट छोटो दुरीमा पर्छ। विगत केलाउने हो भने यो टापुले कालो इतिहास बोकेको छ – पाइरेसी, रक्तपात र युद्धको। 

यो टापुमा मुलत मलाय, चिनियाँ र इन्डोनेसियाका वुगिजहरु रहँदै आएका छन्। भारत र चीनका कारोबारीहरुलाई यहीँबाट पाइरेटेडहरुले लुट्ने गर्ने गरेका थिए। 

दोस्रो विश्वयुद्धको समयमा यस टापुमा ठूलो संख्यामा मानिस मारिए। सन् १९४२ मा बेलायती सेनाले जापानसामु आत्मसमर्पण गरेको थियो यहाँ। जापानीले यस टापुलाई स्योनान अर्थात् दक्षिणको प्रकाश भनेर नामाकरणसमेत गरेका थिए। 

चिनियाँ मुलका धेरैले यहाँ ज्यान गुमाएका थिए। जापानविरोधी तत्वलाई समाप्त पार्ने भन्दै गरिएका अपरेसनमा हजारौको मृत्यु भएको थियो। १८ देखि ५० वर्ष उमेरका चिनियाँहरु एकै ठाउँमा भेला गरेर मेसिन गनबाट प्रहर गर्दै समुन्द्रमा फालिएको थियो।

सन् १९७० मा सिंगापुर सरकारले यस टापुको नाम सान्तोसा राख्यो जसको अर्थ हो शान्ति र सद्‍भाव। सँगै पर्यटकीय गन्तव्यका रुपमा यसलाई विकास गर्न थाल्यो। 

सन् १९८३ मा तेल खन्ने पनडुब्बीले पर्यटक बोकेको दुईवटा केबुल कारमा ठक्कर दिँदा पर्यटकहरु समुन्द्रमा डुबेर मरेका थिए।
 
पछि यहाँ पर्यटकीय गतिविधि बढाउने गरी वाटर पार्क बनाइयो र सुरक्षा प्रत्याभूति गराइयो। पछि यसलाई स्टेट अफ फनका रुपमा पुन: विकास गरियो। यहाँ युनिभर्सल स्टुडियो थिम पार्क, नयाँ वाटर पार्क र रिसोर्टस् वर्लड क्यासिनो छन् जसले हजारौं आन्तरिक र वाह्य पर्यटकलाई भित्र्याउँछ।  

वार्ता हुने होटल भने ३० एकड जमिनमा बनेको छ। १ सय १२ रुम रहेको कापेला रिसोर्टको डिजाइन बेलायती आर्किटेक्ट नरमन फोस्टरले गरेका हुन्। यहाँ कोलोनियल इराका भवनहरु छन्। रिसोर्टले ‘पुरानो नयाँ लग्जरीको फ्युजन’ भन्दै व्याख्या गर्ने गरेको छ।

यहाँ प्रति रातको ५ सय डलरदेखिका रुम उपलब्ध छ। रिसोर्टमा रहेको प्रिमियर गार्डेन किङ रुमको मूल्य भने प्रति रात ७ हजार ५ सयबाट सुरु हुन्छ जसमा तीन बेडरुमसहित निजी स्विमिङ पुलसमेत छ। 

ह्वाइट हाउसका कर्मचारीले वार्ता हुने यस ठाउँको अनुगमन गरिसकेका छन्। डेपुटी चिफ अफ स्टाफ फर अपरेसन्सका जोइ हेगनसहितको टोली यहाँ बसेर सुरक्षाको अवस्थालाई डिटेलिङ गरिरहेको छ। 

वार्ताकै कारण यस होटलमा अहिलेदेखि १५ जुनसम्म पर्यटकका लागि खाली छैन।

(बीबीसीबाट भावानुवाद गरिएको)


ट्रेन्डिङ पोस्ट

Ncell