PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कम कमाउनेलाई आय करमा राहत, कति कमाउनेले कति तिर्नुपर्छ कर?



कम कमाउनेलाई आय करमा राहत, कति कमाउनेले कति तिर्नुपर्छ कर?

काठमाडौं : सरकारले व्याक्तिगत आयकरमा लागू गरेको प्रगतिशिल करका कारण पाँचदेखि सात लाख रुपैयाँ आम्दानी गर्नेलाई मात्र लाभ हुने भएको छ। तर त्यसभन्दा माथि आय हुनेको खर्च बढेको छ। चार लाख रुपैयाँसम्मको आम्दानीमा लाग्ने करमा कुनै पनि परिवर्तन भएको छैन।
 
वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्नेलाई बजेटको व्यवस्थाअनुसार  पाँच हजार रुपैयाँ लाभ हुनेछ भने छ लाख रुपैयाँ आम्दानी गर्नेलाई १० हजार रुपैयाँ लाभ हुनेछ। 
 
अहिले दम्पत्ती भएका व्याक्तिलाई चार लाख रुपैयाँसम्को आयमा एक प्रतिशत सामाजिक सुरक्षा कर लाग्छ। चारदेखि पाँच लाख रुपैयाँसम्मको अतिरिक्त एक लाख आम्दानीमा १५ प्रतिशत आयकर लाग्छ। यसरी चार लाखसम्मको चार हजार र अतिरिक्त एक लाखको १५ हजार गरी १९ हजार कर लाग्ने गरेको थियो।

बजेटअनुसार अब चार लाख माथिको पाँच लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत मात्रै कर लाग्छ। अब पाँच लाख आम्दानी गर्नेले सुरु चार लाखको चार हजार र अतिरिक्त एक लाखको १० हजार गरी १४ हजार रुपैयाँ मात्रै कर तिर्नु पर्छ। 
 
त्यसैगरी पाँच लाखभन्दा माथिको एक लाख आम्दानीमा २५ प्रतिशत आयकर लाग्छ। यसरी कुल छ लाख आम्दानी गर्नेले ४४ हजार रुपैयाँ कर तिर्नुपर्दथ्यो। 
 
तर बजेटले पाँच लाखदेखि छ लाख आम्दानी गर्नेका लागि २५ प्रतिशतको स्ल्यावलाई घटाएर २० प्रतिशतमा झारेको छ। यसका कारण पाँच लाखदेखि माथि हुने एक लाखको आम्दानीमा अब २० हजार रुपैयाँ कर लाग्छ। यसरी सुरु चार लाखमा चार हजार, अर्को एक लाखमा १० हजार र थप एक लाखमा २० हजार गरी ३४ हजार रुपैयाँ कर लाग्छ।
 
 वार्षिक छ लाखदेखि २५ लाख रुपैयाँ आम्दानी गर्नेको कर दर भने अब २५ प्रतिशतबाट बढेर ३० प्रतिशत पुगेको छ। पहिले सात लाख आम्दानी गर्नेले ६९ हजार कर तिरे पुग्थ्यो भने अब ७४ हजार रुपैयाँ तिर्नुपर्छ। 
 
त्यसैगरी आठ लाखसम्म आम्दानी गर्नेले ९४ हजार तिरे पुग्नेमा अब एक लाख चार हजार रुपैयाँ तिर्नुपर्छ। दश लाखसम्म आम्दानी गर्नेले एक लाख ४५ हजार कर तिरे पुग्नेमा अब एक लाख ७० हजार रुपैयाँ तिर्नुपर्छ। 
 
१५ लाख आम्दानी गर्नेले दुई लाख ७० हजार तिरे पुग्नेमा अब तीन लाख २० हजार तिर्नुपर्छ। त्यसैगरी २० लाख आम्दानी गर्नेले पहिले तीन लाख ९५ हजार तिरे पुग्थ्यो भने अब चार लाख ७० हजार रुपैयाँ तिर्नुपर्छ।
 
बजेटको नयाँ व्यवस्थाअनुसार २० देखि २५ लाख रुपैयाँ आम्दानी गर्नेलाई बढी प्रभावित गर्छ भने २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको करको दरमा खास ठूलो परिवर्तन भएको छैन।
 
सरकारले पहिले २५ लाखभन्दा बढि आम्दानी गर्नेसँग आयकरमा सरचार्ज लिन्थ्यो। अब वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेले अतिरिक्त ४० प्रतिशत सरचार्ज तिर्नुपर्छ। त्यो ४० प्रतिशतको अर्थ फ्ल्याटमा छ प्रतिशत थप कर हो। 
 
त्यसअनुसार अहिलेसम्म २५ लाख रुपैयाँ आम्दानी गर्नेले सात लाख २० हजार रुपैयाँ कर तिरे पुग्थ्यो भने अब सात लाख ४० हजार रुपैया तिर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell