PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१६ वर्षपछि 'फेयर एन्ड लभ्ली गर्ल'को मोडलिङमा 'कमब्याक'



स्वेच्छा राउत

१६ वर्षपछि 'फेयर एन्ड लभ्ली गर्ल'को मोडलिङमा 'कमब्याक'

फेयर एन्ड लभ्ली गर्ल अर्थात् रुपालक्ष्मी शाह यसपटक नेपाल आउँदा उनलाई भ्याइ नभ्याइ थियो। ११ दिनको बिदा अनि ४ वटा बिहेको पार्टीमा सहभागी हुनुपर्ने। विवाहको कार्यक्रमका लागि त समय जसो तसो मिलाइन् तर उनको ‘टु डु लिस्ट’मा अर्को महत्वपूर्ण काम थियो- मोडलिङमा 'कमब्याक'।
 
तर, व्यस्तताका बीच समय मिलाइन् र गराइन् फोटोसुट। विभिन्न रङ र डिजाइनका ब्राइडल ड्रेस लगाएर रुपालक्ष्मीले पुन: एकपटक मिडियाका लागि फोटो खिचाएकी हुन्। मिडियाभन्दा पहिले फेसन डिजाइनर बीना घलेका लागि। एक समयकी चर्चित मोडल रुपा र अहिलेकी चर्चित डिजाइनर बीनाले संयुक्त काम गरे ‘ब्राइडल ड्रेस’ प्रचारका लागि।


 
*** 

ग्लामरको दुनियाँमा रुपालक्ष्मीको इन्ट्री अप्रत्याशित थियो। र एउटै विज्ञापनले दिलाएको चर्चा पनि। थम्पसन नेपालको विज्ञापन प्रोजेक्टका लागि अडिसन दिने पाँच सयजना युवतिबाट छानिएको अनुहार थियो उनको। 'फेयर एन्ड लभ्ली'को भिडियो विज्ञापनदेखि अखबारका ज्याकेट एड, होर्डिङ बोर्ड, म्यागेजिन छायो त्यो अनुहार। तर त्यसपछि उनी न कुनै ब्रान्डको विज्ञापनमा देखिइन् न कुनै म्युजिक भिडियोमा। 
रुपा भन्छिन्,'त्यो मेरो रहर थियो। त्यसपछि पढाई र करियर मेरो प्राथमिकतामा रहे।' 

रुपालाई पनि लागेको थियो फेयर एन्ड लभ्लीका लागि उनले गरेको विज्ञापन नै पहिलो र अन्तिम हो। तर त्यसो भएन। 

*** 


अमेरिकामा बस्दै आएकी रुपालक्ष्मी र विवाहको मौसम एकैपटक आउनु संयोग बन्यो। व्यक्तिगत चिनजानको आधारमा उनलाई फेसन डिजाइनर बीना घलेले आफ्नो बुटिकको लागि फोटो सुट गर्न आग्रह गरिन्। रुपालक्ष्मीले घलेको ५ वटा ब्राइडल डिजाइनमा फोटो खिचाएकी छिन्। 

‘मैले नाईं भन्न सकिंन किनकी मलाई बीनाजस्तो मिहेनती र ट्यालेन्टहरुप्रति बेग्लै सम्मान छ। उहाँको काम साच्चै फरक र इम्प्रेसिभ लाग्यो।’, रुपाले फोटो सुट गराउन तयार हुनुको पहिलो कारण खुलाइन्। त्यसो त उनलाई यसअघि पनि र्‍याम्प वाक र फोटो सुटका लागि विभिन्न प्रस्तावहरु नआएका होइनन् तर, उनले प्रायमा रुचि देखाइनन्।

कारण?

उनी भन्छिन्,’मोडलिङ मेरो प्लानमा नै थिएन। गरेको कामहरुले कतै न कतै प्रभाव पार्नुपर्छ जस्तो लाग्छ।‘ बीनासँगको कामले भने उनी आफू व्यक्तिग रुपमा निकै सन्तुष्ट भएको सुनाउँछिन्। ‘एउटा सक्षम महिलाको लागि भावनात्मक र नैतिक सहयोग गरेको हुँ। र बीनाजीसँग काम गर्न पाउनु मेरो पनि खुशीको कुरा’, बोल्दै गर्दा दङ्ग सुनिन्छिन्। 

*** 
‘स्ट्रिक्ट’ मानिने शाह खानदानमा हुर्किएकी रुपाले त्यसबेला नै स्क्रिनमा देखिने हिम्मत गरिन्। हिम्मतले चर्चा दिलायो र चर्चाले खुशी। तर मोडलिङमा निरन्तरता दिइनन्। कारण थियो- पढाइ। आइए पढ्दा पढ्दै विज्ञापन खिचाएर चर्चित बनिन्। तर उनको पहिलो प्राथमिकता सधैं करियर नै थियो।

‘मलाई पहिलेदेखि नै क्यामेरा, माइक देख्दा रमाइलो लाग्ने। त्यसैले फेस गर्न कहिले पनि गाह्रो लागेन। तर मैले आफ्नो लागि महत्व राख्ने विषयलाई माथि राख्नु पर्ने थियो’, उनले आफू करियर बनाउनमा व्यस्त रहेको सुनाइन्।

रुपा चाहन्छिन् उनको कमब्याक फेसन र मोडलिङका पारखीहरुका लागि सन्देश बनोस् ‘ग्लामर फिल्डमा छिर्न ढिला हुँदैन है भन्ने’, थप्छिन्,’फेसन र डिजाइनिङको बजार बढ्दो रहेछ। यो त नयाँ पुस्ताका लागि अवसर पनि हो। मोडलिङ र फोटोसुट गराउने।’
 
*** 
डिजाइनर घले पनि खुशी छिन् रुपासँग काम गर्न पाएकोमा। भन्छिन्,'उहाँको पर्सन्यालिटी र लुक्सको म सधैं प्रशंसक। फेयर एन्ड लभ्ली गर्लको रुपमा परिचित उहाँमार्फत बुटिकको प्रचार गराउनु मेरो पनि रहर थियो', बीनाले शाहलाई मोडलिङका लागि कन्भिन्स गर्दाको क्षण सम्झिइन्,'मेरो डिजाइनहरु मन पराउनु भएको उहाँलाई सुटका लागि मनाउन त्यति गाह्रो भएन।'
 
बीनाको आत्मनिर्भता, सक्षमता र मिहेनतको सम्मान, युवा पुस्तालाई फेसन डिजाइनिङ र मोडलिङप्रति आकर्षित गर्ने उदेश्य, ग्लामरको दुनियाँमा आफ्नो कमब्याक- बीना धेरै खुशी त रुपाले देखाएका यिनै कारणहरुले गर्दा छिन्। भन्छिन्,‘निकै कमले यो तरिकाबाट सोच्छन्।’

घलेका अनुसार विवाहको लगन हुने महिनाहरुमा पालैपालो रुपालक्ष्मीका फोटो म्यागजिन, अनलाइन मिडिया र सामाजिक सञ्जालहरुमा प्रयोग गरिनेछन्। रुपालक्ष्मीले लगाएर खिचाएका बेहुली पहिरनहरु डिजाइनर ब्राइडल ड्रेसहरुमध्य तुलनात्मक रुपमा सस्तो भएको घलेले बताइन्।

'फोटो सुटको उदेश्य डिजाइनको प्रचार मात्र होइन। डिजाइनर लुगा पनि सोचेको भन्दा सस्तो हुन्छ भन्ने संदेश दिनु हो', घले सुनाउँछिन्। उनका अनुसार डिजाइनर ब्राइडल ड्रेसका लागि मान्छेहरुले एकदेखि डेढ लाखसम्म छुट्याउन थालेका छन्। यस्तोमा उनका डिजाइनहरु ५० हजारदेखि शुरु भएर एकलाखसम्मका छन्। 

महङ्गा र चलेका डिजाइनरको प्रचारका लागि फ्यान फलोइङ धेरै भएका सेलिब्रेटीको सामाजिक सञ्जाल पनि बलियो माध्यम बनेको छ। 'तर हामीलाई अनुहार वा नाम होइन प्रोडक्ट बेच्नु छ। हामीलाई जसको साथ राम्रो रहन्छ उसैसँग काम गर्ने हो', घलेका अनुसार उनको डिजाइनका लागि काम गर्ने सबै कलाकार वा सेलिब्रेटीले सामाजिक सञ्जालमा उनको ब्रान्ड पोट्रे गर्न सक्दो सहयोग गर्दैनन्। 
 ‘
गबी बाइ बीना घले’का लागि रुपालक्ष्मी शाहको फोटोसुट विक्रान्त श्रेष्ठले गरेका हुन्। उनी अमेरिकामा रहँदै आएका छन्। पेशाले पेन्टर उनी अमेरिकामा चर्चित फोटोग्राफर हुन्। रुपालक्ष्मी भन्छिन्,’समग्रमा एकदम राम्रो टिमसँगको सहकार्यमा मैले पुन: एकपटक मोडलिङ गरें।‘
 
रुपाको योजनामा ‘वर्क फर नेपाल’ अभियान रहेको छ। उनी नेपालका बालबालिकाको शैक्षिक सहयोगार्थ विभिन्न कार्यक्रम आयोजना र काम गर्न चाहन्छिन् जसमध्य फेसन वा मोडलिङसँग सम्बन्धित कार्यहरु पनि रहनेछन्। भनिन्,’रहर भए कहिले केही कुराले पनि रोक्दैन।‘

फोटो सौजन्य : विक्रान्त श्रेष्ठ









यो पनि हेर्नुस्-
फेयर एन्ड लभ्ली गर्ल : शाह खान्दानकी छोरी जो एउटामात्रै विज्ञापनमा मोडलिङ गरेर चर्चित भइन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell