PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारको नीति तथा कार्यक्रम विरुद्ध 'स्पाइनल कर्ड इन्जुरी'का बिरामी आन्दोलित, बालुवाटार धर्नामा

सरकारको नीति तथा कार्यक्रम विरुद्ध 'स्पाइनल कर्ड इन्जुरी'का बिरामी आन्दोलित, बालुवाटार धर्नामा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरू सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै प्रधानमन्त्री कार्यालय गेट नजिकै बालुवाटारमा धर्ना दिएका छन्। आइतबार माइतीघर मण्डलामा पर्दशन गरेका उनीहरू सरकारले माग सम्बोधन नगरेको भन्दै आज सोमबार प्रधानमन्त्री निवास घेर्न बालुवाटार पुगे। 

बालुवाटारमा उनीहरूले 'अपांगता एन कार्यान्वयन गर', 'जीविकोपार्जन भत्ता लागू गर' भन्दै नारा लगाएका थिए।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई ५ हजार मासिक भत्ता दिने निर्णय गरेको थियो। 

२०७४ पुस १३ गतेको मन्त्री परिषद्को बैठकले गम्भीर प्रकारका रोग मानिने इस्पाइनल कर्ड इन्जुरी,  डाइलासिस गराइरहेका मृगौला रोगी र क्यान्सरका रोगीलाई यस्तो भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो भत्ताका बारेमा उल्लेख गरेका छैन। ओली सरकारले रकम वितरणका लागि मापदण्ड नभएको भन्दै हाललाई रोक्ने निर्णय गरेको थियो। 

आर्थिक वर्ष २०७५/०७६ को बजेटमा जीविकोपार्जन भत्ताको लागि रकम छुट्याउन दबाब दिँदै उनीहरू आन्दोलित भएका हुन्।

यसअघि उनीहरूले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई यस बारेमा ध्यानाकर्षण गराएका थिए। आन्दोलनको पहिलो दिन उनीहरूले जोरपाटीमा जुलुस निकालेका थिए। 

दोस्रो दिन माइतीघर मण्डलामा धर्ना दिएका उनीहरूले आज बालुवाटारमा धर्ना दिएका हुन्। सरकारले माग सम्बोधन नगरे थप आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्। 




 


ट्रेन्डिङ पोस्ट

Ncell