PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उपराष्ट्रपति चिल्ड्रेन गेम्स : प्रदेश ३ च्याम्पियन



पहिलोपोस्ट

उपराष्ट्रपति चिल्ड्रेन गेम्स : प्रदेश ३ च्याम्पियन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ। एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्य जित्यो।

५ स्वर्ण, ९ रजत र २ कांस्य जितेको प्रदेश ४ दोश्रो भयो भने तेश्रो भएको प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्‍यव।

एथलेटिक्स बाहेक प्रदेश ३ बाँकी तीनै खेलमा टिम च्याम्पियन बन्यो। एथलेटिक्समा भने प्रदेश ५ अगाडि रह्यो। प्रदेश ५ ले ४ स्वर्ण, २ रजत र ५ कांस्य जित्दै प्रदेश तीनलाई ४ खेल समावेश प्रतियोगिताको उपाधि क्लिन स्विप गर्नबाट रोक्यो। प्रदेश ३ ले एथलेटिक्समा भने कुनै स्वर्ण जितेन। प्रदेश ३ ले तेक्वान्दोमा ४ स्वर्ण, १ रजत र ४ कांस्य, करातेमा ६ स्वर्ण र ३ रजत तथा उसुमा ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो।

 

एथलेटिक्स

ब्वाइज २ सय मिटर दौडमा प्रदेश २ का अमर यादव पहिलो भए। उनले निर्धारित दूरी २४.१८ सेकेन्डमा पूरा गरे। सोही स्पर्धाको गल्र्समा प्रदेश ५ की प्रशान्ती थारुले शीर्ष स्थान हात पार्न २८.९५ सेकेन्डमा दूरी तय गरिन्। ब्वाइज र गल्र्सको १ सय मिटरमा पहिलो भएका क्रमशः राहुल गुरुङ र रिया थापाले २ सय मिटरमा भने दोश्रो स्थानमा चित्त बुझाए। राहुल र रिया दुवै प्रदेश ४ का हुन्।

लङजम्पको ब्वाइजमा प्रदेश ५ कृष्ण घिमिरे पहिलो भए। उनले ५.५९ मिटर जम्प गरे। त्यसै स्पर्धाको गल्र्समा ४.४९ जम्प गर्दै प्रदेश २ की अनुषा राउतले स्वर्ण जितिन्। कृष्ण र अनुषाले ट्रिपलजम्पमा पनि स्वर्ण जितेका थिए।

सटपुटको ब्वाइजमा प्रदेश १ का तुलसीराम थारु तथा गल्र्समा प्रदेश ४ की सुशीला श्रेष्ठले स्वर्ण हात पारे। तुलसीले १२.९३ मिटर तथा सुशीलाले ७.८४ मिटर टाढा फाले।

कराते

करातेको ब्वाइज एकल कातामा प्रदेश १ का सूर्यचन्द्र राईले स्वर्ण जिते। उनले प्रदेश ४ का प्रिन्स गुरुङलाई पराजित गरे। सोही स्पर्धाको गल्र्समा प्रदेश ३ की सन्जु देशारले प्रदेश ५ की अनिता पुनलाई हराउदै पहिलो भइन्।

ब्वाइज ३० केजीमा प्रदेश ३ का सुशील परियार पहिलो भए। उनले फाइनलमा प्रदेश ४ का रुपेश तामाङलाई पाखा लगाए। ३४ केजीमा प्रदेश ३ सुशान्त हुमागाईंले प्रदेश ४ का विपिन पुन तथा ३८ केजीमा प्रदेश ४ का भाष्कर पुनले प्रदेश १ का अतिम राईलाई फाइनलमा पन्छ्याउदै पहिलो स्थान हात पारे।

गल्र्सको ३० केजीमा प्रदेश ३ की एन्जिला राईले प्रदेश ५ की श्रृष्टि गुरुङ, ३४ केजीमा प्रदेश ३ की सन्जु देशारले प्रदेश ५ की अनिता विक तथा ३८ केजीमा प्रदेश ३ की मिना ब्लोनले प्रदेश ५ की अनिता पुनलाई पाखा लगाउदै पहिलो भए।

 

तेक्वान्दो

ब्वाइज ४१ केजीमुनि प्रदेश ६ का सुशील बर्ला पहिलो भए। उनले फाइनलमा प्रदेश ४ का लेखनाथ कुर्मीको चुनौती समाप्त पारे। एकल पुम्सेमा प्रदेश ३ का विवेक श्रेष्ठले प्रदेश १ का सोहन कार्कीलाई पछि पार्दै स्वर्ण जिते।

गल्र्सको ३३ केजीमुनि प्रदेश ३ की निमा खत्रीले प्रदेश १ की ममता माझी तथा ३७ केजीमुनि प्रदेश ७ की प्रकृति पालीले प्रदेश ३ की लक्ष्मी सुनाखरी मगरलाई निराश पार्दै शीर्ष स्थान कब्जा गरे। लक्ष्मी पुम्सेमा भने स्वर्ण जित्न सफल भइन्। लक्ष्मीले प्रदेश ५ की आशा विकलाई हराइन्।

 

उसु

छाङ छ्वानको ब्वाइजमा प्रदेश ३ का अरुण तामाङ र गल्र्समा प्रदेश ३ की सारा तामाङ, नान् छ्वानको ब्वाइजमा प्रदेश १ का एलिस मरिक र गल्र्समा प्रदेश ७ दीक्षा साउद तथा थाइची छ्वानको ब्वाइजमा प्रदेश ३ का विवेक मण्डल र गल्र्समा प्रदेश ३ कै मारिया राई पहिलो बने।

 

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गरे। चारै खेलको प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद प्राप्त गरे।

दुईदिने प्रतियोगितामा ७ प्रदेशबाट ४६ का दरले ३ सय २२ खेलाडी सहभागी थिए। ब्वाइज-गल्र्सतर्फ एथलेटिक्समा ५/५, कराते र तेक्वान्दोमा ४/४ तथा उसुमा ३/३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

एथलेटिक्स र तेक्वान्दो लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, तेक्वान्दो सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell